Comments Add Comment

कोरोनाले थला पार्‍यो प्रधानमन्त्रीको पनि सेयर रहेको आयोजना

२९ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वभर महामारी घोषणा गरेको कोरोना भाइरसका कारण जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम नराम्ररी प्रभावित भएको छ ।

नयाँ वर्ष मनाउन माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोरोना भाइरसका कारण र्फकन नसक्दा र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको  निर्माण अहिले ठप्प प्राय छ ।

चिनियाँ कामदारहरु फर्कन नसक्दा एक महिनादेखि मुख्य सुरुङ निर्माण ठप्प छ । यसले गर्दा  २९ फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी धमाधम काम भइरहेको आयोजनाको निर्माण तालिका धकेलिने निश्चित भएको छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी ) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ । ठेकेदार कम्पनीले १९ माघमा ‘काबूबहिरको परिस्थिति’ उत्पन्न भएको सूचना आयोजनालाई दिइसकेको छ ।

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, ऊर्जामन्त्री वर्षमान पुन लगायतको २०/२० कित्ता सेयर छ । कम्पनीले सर्वसाधारणका ३७ लाख ५ हजार कित्ता सेयर निश्कासन गर्दा प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलगायतले पनि खरिद गरेका थिए ।

नयाँ वर्ष मनाउन जानुभन्दा पहिले आयोजनामा ८६ जना चिनियाँ कार्यरत थिए । त्यसमध्ये ५४ जना नयाँ वर्ष मनाउन चीन गएमा सात जना मात्रै फर्किएकोले अहिले ३९ जना मात्रै चिनियाँ कार्यरत रहेको आयोजनाको प्रवर्द्धक कम्पनीका प्रवन्ध-संचालक मोहनप्रसाद गौतमले जानकारी दिए ।

‘ठेकेदार कम्पनीसँग छलफल गरी नेपाली कामदारबाट सुरुङ खन्ने कार्य जारी राख्न पहल गरिरहेका छौं, तथापि सुरुङ निर्माणको जटिल कार्य गर्न अनुभव तथा दक्षता हासिल गरेका नेपाली कामदार भेट्न सहज नरहेकाले हाम्रो प्रयासले सार्थकता पाउन सकिरहेको छैन’,गौतमले भने,’ चिनियाँ कार्यालय तथा चीनसँगका भन्सार नाकाहरु ठप्प रहेकाले ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको छैन ।’

उनले बजार र नाकाहरु खुल्नासाथ पाइप लाइनमा रहेका उपकरण तथा सामग्रीहरुको आपूर्ति गर्ने र तत्कालका लागि भारत वा अन्य देशबाट आवश्यक सामग्री आपूर्ति गरी कार्य सुचारु राख्न ठेकेदार कम्पनीसँग छलफल भइरहेको बताए ।

आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.७९१ किलोमिटर खनिएको छ । ठेकेदार कम्पनीले मुख्य सुरुङ ४ ठाउँबाट खनिरहेको थियो । अहिले आयोजनाको विद्युतगृहभन्दा माथि रहेको ठाडो भूमागको प्रोटेक्सन गर्ने काम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत आयोजनाको क्यास्केड भएकाले त्रिशूली ‘थ्री बी’ले बाँध, बालुवा थिग्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्ने छैन । ‘थ्री ए’को विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । ‘थ्री ए’को विद्युत गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन सुरु गरिएको गौतमले जानकारी दिए ।

आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

आयोजनाबाट सुख्खायाममा ( मंसिर १६ देखि जेष्ठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा ( जेष्ठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ ।

आयोजनाको विद्युत गृहबाट करिब ३ किलोमिटर प्रसारणलाइनमार्फत त्रिशूली थ्री बी हब सबस्टेसनमा विद्युत् जडान गरी राष्ट्रिय प्रसारण लाइनमा प्रवाह हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment