Comments Add Comment

धृतराष्ट्रले गरेका थिए यी छ पाप

धृतराष्ट्र आँखाले मात्रै होइन मन तथा बुद्धिले पनि अन्धा थिए । उनले आफ्नो जीवनमा थुप्रै पाप गरेका थिए, तर यहाँ उनले गरेका छ वटा मुख्य पापहरुको बारेमा चर्चा गरिंदैछ ।

१. गान्धारीसंग धोका

भीष्मले धृतराष्ट्रको विवाह गान्धारकी राजकुमारी गान्धारीसंग गरिदिएका थिए । गान्धारीलाई जब उनका श्रीमान् आँखा देख्न सक्दैनन् भन्ने कुराको जानकारी भयो, उनले पनि आफ्नो आँखामा पट्टी बाँधिन् । गान्धारीको विवाह धृतराष्ट्रसंग हुनुभन्दा अघि ज्योतिषिहरुले के सल्लाह दिए भने गान्धारीको पहिलो विवाहमा संकट छ, त्यसैले उनको पहिलो विवाह कोही अरुसंग गराएपछि मात्र धृतराष्ट्रसंग गरिनु पर्छ । त्यसका लागि ज्योतिषिहरुको भनाइ अनुसार गान्धारीको विवाह एउटा बाख्रासंग गराइएको थियो । पछि उक्त बाख्रालाई बलि दिइएको थियो ।

भनिन्छ, गान्धारीलाई कुनै पनि प्रकारको प्रकोपबाट मुक्त गराउनका लागि नै ज्योतिषिहरुले उक्त सुझाव दिएका थिए । यही कारणले गान्धारीलाई प्रतीकको रुपमा विधवा मानिएको थियो र पछि उनको विवाह धृतराष्ट्रसंग गरिएको थियो ।

गान्धारी एउटी विधवा थिइन् भन्ने कुरा महाराज धृतराष्ट्रले थाहा पाएपछि उनी निकै नै क्रोधित धएका थिए । उनले के सम्झिए भने गान्धारीको पहिला अरु नै कसैसंग विवाह भएको थियो र उनको कुनै कारणवस निधन भएको थियो । धृतराष्ट्रको मनमा यो कुरालाई लिएर दुःख समेत पैदा भयो र उनले त्यसको दोषी गान्धारीका बुवा राजा सुबाललाई मानेका थिए । धृतराष्ट्रले गान्धारीका बुवा राजा सुबाललाई पुरै परिवारसहित जेलमा हालिदिएका थिए ।

जेलमा उनीहरुलाई खानाका लागि केवल एक जना व्यक्तिलाई पुग्ने खाना दिने गरिन्थ्यो । केवल एक व्यक्तिको भोजनले सबैको पेट भरिंदैन थियो । त्यो पुरै परिवारलाई भोकै मार्ने षडयन्त्र थियो । राजा सुबलले के निर्णय लिए भने उक्त भोवन केवल उनका सबैभन्दा साना छोरालाई मात्र दिइयोस्, ताकि उनको परिवारबाट कोही एक जना त जीवित रहन सकून् । उनी थिए शकुनि । भनिन्छ, विवाहको समयमा गान्धारीसंग उनका भाइ शकुनि तथा उमेरमा ठूली उनकी एउटी साथी पनि हस्तिनापुर आएकी थिइन् र दुबै त्यहीं बस्न थालेका थिए ।

२.दासीसंग सहवास

गान्धारीका छोराहरुलाई कौरव भनिन्थ्यो, तर उनीहरुमध्ये एक जना पनि कौरववंशी थिएनन् । धृतराष्ट्र र गान्धारीका ९९ जना छोराहरु थिए र एउटी छोरी थिइन्, जसलाई कौरव भनिन्थ्यो । गान्धारीले वेदव्याससंग पुत्रवती हुने वरदान प्रँप्त गरेकी थिइन् । उक्त वरदानका कारण नै गान्धारीलाई ९९ छोरा तथा एक छोरी प्राप्त भएको थियो ।

ती सबै सन्तानहरुको उत्पत्ति २ दुई वर्षपछि कुण्डहरुबाट भएको थियो । गान्धारीकी छोरीका नाम दुस्शला थियो । गान्धारी जब गर्भवती थिइन्, तब धृतराष्ट्रले एउटी दासीसंग सहवास गरेका थिए, जसका कारण युयुत्सु नामक छोरा जन्मिएका थिए । त्यसपछि मात्र कौरवहरु सय जना भएका थिए ।

३. छोराको मोहमा गराइएको युद्ध

छोराहरुको मोहमा परेर धृतराष्ट्रले पाण्डवहरुसंग अन्याय गरिरहेका थिए, तर राजा र राज सिंहासनप्रतिको निष्ठाका कारण भीष्म उनकै पक्षमा रहे । धृतराष्ट्रले आफ्नो छोराप्रतिको मोहमा सम्पूर्ण वंश तथा देशलाई नै सर्वनाश गरिदिए । धृतराष्ट्रले चाहेको भए उनले आफ्ना छोराहरुको जिद्दीपना तथा अपराधमा नियन्त्रण गर्न सक्दथे ।

तर, उनले त्यस्तो केही पनि गरेनन् र दुर्योधनलाई गल्तिमाथि गल्ति गर्न अप्रत्यक्ष रुपले छुट दिइरहे । पाण्डवहरुमाथि भएको अति अन्यायका कारण नै महाभारतको युद्ध भएको थियो । राज सिंहासनमा बसेका धृतराष्ट्र यदि न्यायकर्ता हुन्थे भने युद्धलाई रोक्न सक्ने । विदुरले धेरै पटक धृतराष्ट्रलाई नीति तथा अनीतिका बारेमा बताएका थिए, तर धृतराष्ट्रले जानी-जानी विदुरका कुराहरुलाई वेवास्ता गरे ।

४. चीरहरणको बेला धृतराष्ट्र चुप बस्नु 

द्रौपदीको चीर हरणको समयमा भीष्म तथा धृतराष्ट्र चुप लागेर बसे । जसका कारण भगवान कृष्णले महाभारत युद्धमा कौरवहरुको विरुद्ध उभिने निर्णय गर्नु परेको थियो । चीर हरण महाभारतको त्यस्तो घटना थियो, जसका कारण पाण्डवहरुको मनमा कौरवहरुप्रति घृणाको भावना जागृत हुन पुग्यो । त्यो एउटा त्यस्तो घटना थियो, जसका कारण प्रतिशोधको आगोमा सबै जना जलिरहेका थिए ।

५. पूर्व जन्मको पाप

भनिन्छ, पूर्व जन्ममा गरिएको पापको कारण नै धृतराष्ट्र जन्मदेखि नै आँखा नदेख्ने भएका थिए र उनका सबै छोराहरु मारिएका थिए । वास्तवमा, आफ्नो पूर्व जन्ममा धृतराष्ट्र निकै नै निर्दयी तथा क्रूर राजा थिए । एक दिन जब उनी आफ्ना सैनिकहरुसंग राज्यको भ्रमणमा निस्किएका थिए, उनको नजर एउटा तलाउमा आफ्ना बच्चाहरुसंग आराम गरिरहेको हाँसमाथि पर्‍यो । उनले सैनिकहरुलाई तुरुन्तै आदेश दिएर उक्त हाँसको आँखा निकाल्न अह्राए ।

सैनिकहरुले राजाको उक्त आज्ञाको पालना गरे । पीडा तथा दुखाईले असह्य उक्त हाँसको आँखाहरु निकालेर राजा आफ्ना सैनिकहरुसंग अघि बढे । उक्त हाँसको असहनीय पीडाकै कारण मृत्य भयो । उक्त घटनालाई देखेका हाँसका बच्चाहरुको समेत निधन भयो । मर्ने बेलामा हाँसले राजालाई श्राप दिँदै तिम्रो अवस्था पनि मेरो जस्तै होस् भन्यो । उक्त श्रापको कारण नै दोस्रो जन्ममा धृतराष्ट्र अन्धो नै जन्मिएका थिए तथा उनका छोराहरुको पनि त्यसैगरी निधन भएको थियो, जसरी हाँसको निधन भएको थियो ।

६. परिचय

सत्यवतीका चित्रांगद तथा विचित्रवीर्य नामका दुई छोराहरु जन्मिए । चित्रांगदको गन्धर्वहरुसंग युद्ध गर्ने क्रममा निधन भयो । विचित्रवीर्यका दुई श्रीमतीहरु थिए अम्बिका र अम्बालिका । विचित्रवीर्यका कुनै पनि सन्तान भएनन् र उनी क्षयरोगले पीडित भएर बितेका थिए ।

सत्यवतीको आग्रहमा वेदव्यासले अम्बिकासंग सम्बन्ध राखे, तर त्यो बेला अम्बिकाले आँखा चिम्लिएकी थिइन्,  त्यसका कारण उनले अन्धो छोरा जन्माइन्, जसको नाम धृतराष्ट्र राखियो । त्इसपछि वेदव्यासलाई कान्छी रानी अम्बालिकासंग पठाइयो । अम्बालिका वेदव्यासलाई देखेपछि अति नै डराएर पहेंलो रंगकी भइन्, जसका कारण पाण्डु रोगले ग्रसित छोरा जन्मियो ।

त्यो देखेर सत्यवतीले एक पटक पुनः अम्बिकालाई वेद व्यास भएको ठाउँमा पठाइन् । अम्बिका आफैं नगएर आफ्नी दासीलाई वेद व्यास भएको ठाउँमा पठाइन् । दासीले आनन्दपूर्वक वेद व्याससंग रमाइलो गरिन्, जसका कारण दासीको गर्भबाट धर्मात्मा विदुरको जन्म भयो । तीनै जनाको पालन-पोषण भीष्मले राजकुमार झैं गरे । धृतराष्ट्र अन्धा भएकाले पाण्डुलाई उत्तराधिकारी बनाइयो । एउटा श्रापका कारण पाण्डु आफ्ना श्रीमती कुन्ती तथा माद्रीसंग जंगल गए भने धृतराष्ट्रलाई सिंहासनमा बसाइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment