Comments Add Comment

धनगढीमा मोवाइलबाटै विकास निर्माणको जानकारी

२९ फागुन, कैलाली । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा भइरहेका विकास निर्माणका गतिविधि मोवाइलबाटै जानकारी दिन थालेको छ ।

उपमहानगरपालिकाले सुशासन कायम गराउने उद्देश्यले पूर्वाधार व्यवस्थापन प्रणाली लागू गरेको हो । पूर्वाधार विकास प्रणाली अन्तर्गत नागरिकहरुले आफ्नो मोवाइलबाटै विकास निर्माणको जानकारी लिइरहेका छन् ।

७५३ वटा स्थानीय तहमध्ये धनगढी उपमहानगरपालिकामा पहिलो पटक यो प्रणाली सुरु गरिएको ग्राम विकास तथा अनुसन्धान केन्ऽ सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करिया प्रधानले बताए ।

उनले भने, ‘७५३ वटा स्थानीय तहमध्ये हामीले धनगढीमा यो प्रणालीलाई प्रयोगमा ल्याएका छौं । अब घरमै बसेर वा कार्यालयमै बसेर पनि विकास निमार्णको गतिविधि अवलोकन गर्न सकिने छ ।’

विकास निर्माणमा हुने ठूलो आर्थिक चलखेल र न्यून गुणस्तरीय कामको अन्त्य गर्न यो प्रणाली सुरु गरिएको उनको भनाइ छ ।

नगर क्षेत्रमा भइरहेका कामहरुको लागत, ठेक्का मिति, अन्तिम समय, लागतको अवस्था इन्टरनेटको माध्यमबाट अहिले सर्वसाधरणले जानकारी लिइरहेका छन् ।

नगरपालिका भित्रमा रहेका सबै वडामा पूर्वाधार व्यवस्थापन प्रणालीको मोबाइल एपमार्फत योजनाका बारेमा गुनासो पनि राख्न सकिने व्यवस्था गरिएको छ ।

उप-महानगरपालिकाका भौतिक पूर्वाधार सम्बन्धीका गतिविधि इन्टरनेटबाट हेर्न सकिने उप-महानगरपालिकाले जनाएको छ । विकास निर्माणमा भएका कमजोरी र प्रगतिका विषयमा सर्वसाधरणले पनि सुझाव दिन मिल्ने व्यवस्था गरिएको छ ।

अहिलेसम्म १५० ओटा सुझाव र गुनासो आइसकेको धनगढी उपमहानगरपालीकाका सूचना प्रविधि अधिकृत सुयश चन्दले बताए । ‘नागरिकका गुनासो मध्ये ६० वटा गुनासो सम्बोधन भइसकेको छ,’ उनले भने ।

पूर्वाधार व्यवस्थापन प्रणाली लागू भएपछि पारदर्शिता र गुणस्तरीय काम भइरहेको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडको दाबी छ ।

‘बिगतका दिनहरुमा कागजमै काम सम्पन्न गरेर भुक्तानी बुझ्नेहरुलाई सबैभन्दा ठूलो झड्का लागेको छ,’ उनले भने, ‘जनताको निगरानीमा काम हुने भएपछि ढिलासुस्ती, गुणस्तरहीन र लापबाही गर्ने अवस्था छैन ।’

विकासको पहिलो चरणदेखि अन्तिम अवस्थासम्मका गतिविधिहरु इन्टरनेटको माध्यमबाट आम नागरिकले सजिलै हेर्न पाउँने भएकाले पारदर्शी र चुस्त काम हुने उपप्रमुख सुशीला मिश्र भट्टको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment