
२९ फागुन, काठमाडौं । चीनबाट सुरु भएको नोवेल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण एक लाख २७ हजार ७६९ जनामा देखिएको छ । तर उनीहरूमध्ये ५४ हजार ७२६ जनामा मात्रै कोरोना सक्रिय रहेको एजेन्सीहरूले जनाएका छन् ।
चीनमा कोरोना नियन्त्रणतर्फ गएको देखिन्छ भने चीन बाहिर यसको संक्रमण बढ्दै गएको देखिन्छ । चीनमा जम्मा १४ हजार ८१४ जना कोरोना सक्रिय छ ।
जबकी चीन बाहिर झण्डै ४० हजार जना कोरोना संक्रमित छन् । चीन बाहिर सबैभन्दा बढी इटलीमा १० हजार ५९०, दक्षिण कोरियामा ७ हजार ४७०, इरानमा ६ हजार ६६८, फ्रान्समा २ हजार २२१, स्पेनमा २ हजार ३९, जर्मनीमा एक हजार ९३८ र अमेरिका एक हजार २८३ जना कोरोना संक्रमित छन् ।
६८ हजार संक्रमित निको भए
डिसेम्बर ३१ मा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ प्रभावित ६८ हजार ३२७ जना निको भएर घर फर्किसकेका छन् । उनीहरू मध्ये सबैभन्दा बढी चीनका ६२ हजार ८२३ जना छन् ।
पछिल्लो २४ घण्टामा चीनमा जम्मा १८ जना नयाँ संक्रमित देखिएको छ । जबकी इरानमा एकै दिन एक हजार ७५ नयाँ संक्रमित भेटिएको छ ।
कोरोनाका कारण ४ हजार ७१६ जनाले ज्यान गुमाएका छन् । चीन बाहिर ज्यान गुमाएको संख्या एक हजार ५४७ छ ।
प्रतिक्रिया 4