Comments Add Comment

महामारी साहित्य : कामुको ‘द प्लेग’

विश्व साहित्यमा महामारीका विषयमा लेखिएका विश्वविख्यात कृतिहरु अनेक छन् । ती सबैको चर्चा एउटा सानो समयानुकूल सान्दर्भिक लेखमा सम्भव छैन । तर, विश्व साहित्यका महान साहित्यकार अल्वेयर कामुको ‘द प्लेग’ को चर्चा गर्नु सान्दर्भिक ठान्दछु ।

सन् १३४६ देखि १३५३ सम्म युरोपमा फैलिएको प्लेगले झण्डै १० करोड मानिसको ज्यान लिएको थियो । पछि यसलाई लिएर फ्रान्सेली अस्तित्ववादी साहित्यकार अल्वेयर कामुले ‘द प्लेग’ नामक उपन्यास लेखे ।

कामुले यो उपन्यासको पृष्ठभूमि अल्जेरियाको शहर ओरानलाई बनाएका थिए । तर, ओरानमा प्लेगले पहिलादेखि नै सताउन थालेको थियो । सन् १९२१ मा १८५, सन् १९३१ मा ७६ तथा सन् १९४४ मा ९५ प्लेगका घटना घटित भैसकेका थिए ।

कामुको यो उपन्यास सन् १९४७ मा फ्रान्सेली भाषामा प्रकाशित भएको थियो । अङग्रेजी अनुवाद भने एक वर्षपछि अर्थात् सन् १९४८ मा प्रकाशित भएको थियो । यो उपन्यास कामूको लेखनको एउटा कोषेढुङ्गा मात्र नभएर विश्वसाहित्यकै एउटा अमूल्य निधिको रुपमा स्थपित हुन पुग्यो ।

यसमा ६ वटा मुख्य पात्र छन् डा.वर्नार्ड रेक्स, जाँ तारो, रेमोण्ड राम्वार्ट, जोसेफ ग्राण्ड,कोट्टार्ड तथा फादर पानेलक्स ।

३५ वर्षीय डा.वर्नार्ड की श्रीमती विरामी हुन्छिन् । उनी एक वर्षदेखि स्यानिटोरियममा हुन्छिन् । डा. वनार्ड प्लेगको उपचार गर्ने प्रथम डाक्टर हुन्छन् र रोगलाई प्लेगको नाम दिएर वर्णन गर्ने पहिलो ब्यक्ति हुन्छन् । यो रोगलाई गम्भीरतापूर्वक लिइएन भने शहरको आधा आवादीलाई समाप्त पार्न सक्छ भनि चेतावनी दिन्छन् । उनले यो उपचार मात्र डाक्टर भएको नाताले गरेका हुन्छन्, यसका पछाडि धार्मिक वा अन्य कुनै लुकेको उद्देश्य हुँदैन ।

जाँ तारो भने ओरान शहरमा प्लेग फैलिनु केही हप्ताअघि आइपुगेका हुनछन् । प्लेग फैलिनुअघि उनी स्पेनिश नृत्यकार र संगीतकारसँग आवद्ध भएका हुन्छन् । उनी ओरानमा आफ्नो बसाई र गतिविधिहरूलाई दैनिकीमा नियमित उतारिरहेका हुन्छन् । जब ओरानमा प्लेग फैलिन्छ, उनी स्वयमं सेवकको समूह बनाएर प्लेगका विरुद्ध खटिन्छन् ।

मृत्युदण्डलाई राज्यको सहयोगमा गरिने हत्या मानेर त्यसको विरुद्ध लाग्न १८ वर्षको उमेरमा गृहत्याग गरेका तारो ओरानमा प्लेग सकिने बेलामा आफैं त्यसको शिकार हुन्छन् । बहादुरीपूर्वक प्लेगसँग लड्दा लड्दै उनी अन्तिम शिकार हुन्छन् ।

रेमोण्ड राम्वार्ट एक पत्रकार हुन् र ओरानमा बसोवास गरिरहेका अरबीहरुको जीवनावस्थाको अनुसन्धानका लागि आएका हुन्छन् । तर, जब प्लेग फैलिन्छ, उनलाई लाग्छ, योसँग उनको केही लिनुदिनु छैन । उनलाई पेरिसमा भएकी श्रीमतीको नियाश्रो लाग्छ । अनि त्यो शहर छाड्न अनेक जुक्ति लाउँछन् । दस हजार फ्रैङ्क तिरेर स्मगलरको माधयमबाट समेत उम्किन खोज्छन् । तर, पछि उनको मन परिवर्तन हुन्छ । ओरान शहर आˆनैजस्तो लाग्छ । अनि उनी पनि प्लेग विरुद्धको लडाईंमा सामेल हुन्छन् ।

५५ वषिर्य जोसेफ ग्राण्ड सरकारी कर्मचारी हुन् । उनी पुस्तक लेख्न चाहन्छन् । तर, पहिलो वाक्यपछि लेख्न उपयुक्त शब्द नै पाउन्नन् । उनले युवावस्थामै विवाह गरेका थिए र चरम गरिवीका कारणले श्रीमतीले उनलाई छाडेकी थिइन् ।

गोविन्द गिरी

श्रीमतीले छाडेपछि उनलाई एउटा चिठ्ठी लेख्न चाहेर पनि कहिल्यै सकेनन् । जब प्लेगको महामारी फैलियो, जोसेफ स्वयम् सेवकको समूहमा सामेल भए । तर, प्लेगले उनलाई छोयो र निराशिएर आफ्नो पुस्तकको पाण्डुलिपि जलाउन आग्रह गरेका थिए । तर, प्लेगले उनलाई लान सकेन । उनी अनपेक्षित रुपले निको भए । छाडेर गएकी श्रीमतीलाई चिठ्ठी लेख्न पनि सफल भए र पुस्तक पनि पुनः शुरु गर्न सक्षम भए ।

कोट्टार्ड अनौठा पात्र छन् । कोठामा झुण्डिएर आत्महत्या गर्न प्रयास गर्छन्  । प्रहरीको गिरफ्तारीमा पर्ने डरले भयभीत हुन्छन् । कहिले साथी बनाउन डराउँछन्, कहिले कमसल रक्सी र चुरोट बेचेर पैसा बनाउँछन् । उनको मानसिक सन्तुलन बिग्रन्छ । कहिले आफैंलाई गोली प्रहार गर्छन् त कहिले जसलाई पायो, त्यसलाई जथाभावी गोली प्रहार गर्छन्, फलत केही मान्छे घाइते हुन्छन् र एउटा कुकुर मर्छ र गिरफ्तार हुन्छ ।

फादर पानेलक्स सम्मान्य पादरी हुन् । उनी पूरै कट्टरवादी धर्मभीरु हुन्छन् । प्लेग फैलिँदा उनी भगवान विरोधीहरुलाई भगवानले दण्डित गर्न पठाएको अर्थ लगाएर प्रवचन दिन्छन् । उनी स्वयमं सेवकको समूहमा पनि सामेल हुन्छन् । उनी एउटा बच्चाको मृत्युलाई लिएर यो भगवानकै ईच्छाअनुसार भएको हो भन्छन् । डाक्टरलाई बोलाउने र उपचार गर्नेमा उनको विश्वास हुँदैन । उनको विश्वास केवल ईश्वरमा हुन्छ ।

पाँच अध्यायको यो उपन्यासले विश्व समुदायमा प्लेगको महामारीको दस्तावेज प्रस्तुत गर्दछ ।

कामुले  सन् १९५७ मा साहित्यतर्फको नोवेल पुरस्कार पाएका थिए । त्यसको ३ वर्षपछि सन् १९६० जनवरी ४ का दिन उनको मृत्यु कार दुर्घटनामा भयो ।

त्यसो त सन् १९८२ मा साहित्यतर्फको नोवेल पुरस्कार पाउने गाब्रियल गार्सिया मार्खेजले पनि ‘लभ इन द टाइम अफ कलेरा’ अर्थात् ‘हैजाको समयमा प्रेम’ जस्तो विख्यात कृति पनि लेखेका छन् ।


यसबाहेक चीनको अनिकाल र बङ्गालको अनिकालको पृष्ठभूमिमा पनि साहित्यिक कृतिहरु लेखिएका छन् ।

कोरोना साहित्य जन्मने संकेत

ढिलो चाँडो यो कोरोनाको कहरको पनि साहित्य लेखिनेछ, अवश्य पनि ।

चीनको वुहानमा पहिलोपल्ट पहिचान गरिएको नोवेल कोरोना भाइरस, जसलाई कोभिड १९ र सहज रुपमा जनबोलीमा भनिने कोरोना भाइरस वा कोरोनाले अहिले सम्पूर्ण विश्व आक्रान्त छ ।

हालसम्म ५ हजार बढीको ज्यान जाने गरी फैलिएको यो भाइरस चीनमा नियन्त्रणमा आइसकेको दाबीका समाचार आइरहँदा युरोप पूरै आक्रान्त भएको छ ।

अमेरिकाले बेलायत बाहेक युरोपसँगको सम्पूर्ण हवाई सम्पर्क एक महिनाका लागि बन्द गर्ने निर्णय गरेसँगै अमेरिकाले पनि यसलाई गम्भीर थ्रेटका रुपमा लिएको सहजै बुझ्न सकिन्छ ।

यसमाथि विश्व स्वास्थ्य संगठनले महामारीकै संज्ञा दिएपछि यसले विश्वमै नयाँ तरंग ल्याइदिएको छ ।

निसन्देह यो सम्पूर्ण प्रकणलाई साहित्यकारहरुले नियालेर बसेका छन् र यसको पृष्ठभूमिमा साहित्यको रचना अवश्यमेव हुनेछ । संसारमा विगतमा भएका महामारीहरु-जस्तै प्लेग, अनिकाल, विश्वयुद्ध, शीतयुद्ध लगायतका पृष्ठभूमिका साहित्य रचिएका छन् । र, ती साहित्यले एउटा अलिखित इतिहासको दस्तावेजको काम गरेका छन् ।

नेपाली साहित्यको सन्दर्भमा पनि निकट विगतमा भएको विनाशकारी भूकम्पको साहित्य लेखियो र अहिले नेपाली साहित्यका बेलायती अध्येता तथा अनुवादक डा.माइकल हटले भूकम्प साहित्यको अध्ययन अनुसन्धान गरिरहेका छन् ।

कोरोनाको विषयमा पनि फाट्टफूट्ट मुक्तक र गीतमार्फत अभिव्यक्तिहरु तथा हाईकुहरु फेसबुकमा देखा पर्न थालिसकेका छन् । चीनको बुहानवाट उद्धार गरेर ल्याइएका १७५ नेपालीहरु तथा विमानका चाल कदलका सदस्यहरुको अनुभव निसन्देह नौलो, रोचक र रोमाञ्चकारी र केही हदमा भयाक्रान्त समेत भयो ।

यसरी क्वारेण्टाइनमा बस्नुको अनुभव र अनुभूति पक्कै पनि नितान्त नौलो हो । त्यसका अनुभूतिहरु पनि ती क्वारेण्टाइनमा बस्नेहरुबाट आउन थालेका छन् । त्यसले पनि साहित्यको रुप लिन सक्ने प्रवल अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment