+
+
Shares

‘कमेडी च्याम्पियन’को फाइनल: कतै खुशी, कतै विरोध

दिप्सन लुइटेल दिप्सन लुइटेल
२०७६ चैत २ गते १३:१९

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनल शनिबार आयोजना गरियो । यो शोको विजेता बनेका छन्, हिमेश पन्त । फाइनलमा पुगेका सुमन कोइराला र खड्ग बहादुर पुन मगरलाई पछि पार्दै हिमेश विजेता बनेका हुन् ।

शनिबारको साँझ च्यासलमा रहेको च्याम्पियनको हल भरिदै थियो । आएका दर्शक फरक–फरक प्रतियोगीलाई समर्थन गर्दै सेटमा उपस्थित थिए । सबैमा एउटै चासो थियो, ‘आखिर को बन्छ त कमेडी च्याम्पियन ?’

‘कमेडी च्याम्पियन’की संचालिका रीमा विश्वकर्माले बेला–बेला सोधिरहन्थिन्, ‘को बन्ला त कमेडी च्याम्पियन ?’ दर्शकहरुले आफ्नो मनपर्ने प्रतियोगीको नाम लिइरहेका थिए । कार्यक्रमको सुरुवातमा बाहिरिएका केही प्रतियोगीहरुले प्रस्तुपत दिए । टप ३ को पालो अन्तिममा नै थियो ।

घडीको सुई बेलुकाको ८ नजिक पुगिसकेको थियो । बल्ल बेला भयो, पहिलो कमेडी च्याम्पियनको नाम सार्वजनिक गर्ने ।

होस्ट रीमाले निर्माता केकी अधिकारीलाई विजेताको नाम लिएर स्टेज आउन आग्रह गरिन । विजेताको घोषणा गर्ने जिम्मा मह जोडीले पाए । हरिवंशले विजेताको नाम खोले र बोले, ‘बधाई छ सुमन, बधाई छ खबपु र अझै बधाई छ हिमेशलाई । हिमेश बन्नुभयो पहिलो कमेडी च्याम्पियन ।’

नाम घोषणा गर्नुपूर्व सुमन, हिमेश र खबपु एक–अर्काको मुटुको चाल नापिरहेका थिए । उनीहरुको उत्साह हेर्नलायक थियो । विजेता घोषणा भइसकेपछि पनि उनीहरु निराश देखिएनन् । हिमेशलाई अंकमाल गरे, बधाई दिए । हिमेशको खुसी उनको मुहारमा प्रष्ट देखिन्थ्यो ।

यता दर्शकदीर्घामा रहेका दर्शकले हिमेशको लागि हुटिङ गरिरहेका थिए । उनीहरुको खुसी र उत्साहले हिमेशलाई थप खुसी दिएको थियो । आफ्ना समर्थक तर्फ हेरेर धन्यवादको शब्द बोलिरहेका थिए, हिमेश ।

हिमेश विजेता भएसँगै हिमेशको परिवार अबिर रंग बोकेर स्टेजमा नै पुगे । आफ्ना समर्थकहरुलाई टिका लगाइदिए र सबैलाई धन्यवादको शब्द सहित भन्दै थिए, ’हामीले जित्यौं ।’

स्टेजमा नै पुगेका केही समर्थकहरु सेल्फी खिच्न व्यस्त थिए । कोही सुमन कोइरालालाई तानिरहेका थिए त कोही खबपुसँग सेल्फी खिच्न आत्तुर थिए । हिमेशलाई त युट्युबरको क्यामेराले छेकिसकेको थियो ।

सेट भित्रको रौनक सकियो । दर्शकहरु फटाफट बाहिर निस्किदै थिए । बाहिर भने विरोधको आवाज सुनियो ।

खड्ग बहादुरका समर्थकहरु कमेडी च्याम्पियन–मुर्दावाद भन्दै नारा लगाइरहेका थिए । उनीहरुले भोटमा पारदर्शिता नभएको आरोप लगाएका थिए । एक महिला आक्रोशित मुद्रामा भनिन्–‘हामीलाई १२ बजेसम्म भोट गर्न पाउने भनिएको थियो । तर, यहाँ ४ बजेसम्म भोट खुल्ला गरिएछ । यो सरासर धाधली भयो ।’

केही विरोधकर्ताहरुले खबपुले कती भोट पाए, हेर्न पाउनुपर्ने माग राखिरहेका थिए । ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी अलमलमा थिए । गएर उनीहरुलाई जवाफ दिने वा चुप बस्ने उनी दोधारमा थिए । जज मनोज गजुरेलले विशाललाई रोके र बाहिर निस्किए । गजुरेलले त्यहाँको भिडबाट खबपुको नेतृत्व गर्ने एक व्यक्तिलाई विशालसम्म ल्याए ।

त्यहाँ विशालसँग ती व्यक्तिले रिस पोख्दै थिए, ‘लुटको खेती नगर्नुस् न । कसको कती भोट आयो भन्ने अरु रियालिटी शोमा देखाइएको हुन्छ । यहाँ त तपाईहरुले नदेखाई बन्द गरिदिनुभयो । यसरी पनि हुन्छ ?’

विशालले ती व्यक्ति लाई अनेक तरहले बुझाउन खोजे । तर, ती व्यक्ति मान्ने पक्षमा थिएनन् । अन्तिममा केही सिप नलागेपछि विशालले मोवाइल खोले र भोट देखाइदिए ।

भोटमा खबपुलाई हिमेशले राम्रै भोटान्तरले उछिनेका थिए । त्यो देखेपछि ती व्यक्ति बाहिरिए र त्यहाँको नारालाई शान्त पारे । निर्देशक भण्डारी यस्तो विरोध हुनु भनेको शोले सफलता पाएको ठान्छन् । उनी भन्दै थिए, ‘यस्तो विरोध हुनु पनि सफलता नै हो के । हाम्रो शो र प्रतियोगीहरुलाई लिएर दर्शक कतिको सिरियस छन् भन्ने यसले प्रष्ट्याउछ ।’

पहिलो सिजनमा शोले राम्रो चर्चा पायो । रियालिटी शो सफल भएकोमा निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र सम्पूर्ण टिम खुसी छन् । अब उनीहरुलाई अर्को सिजनमा झन् राम्रो गर्नै पर्ने चुनौती थपिएको छ ।

तस्वीरः आर्यन विमली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?