Comments Add Comment

अष्ट्रेलिया प्रवेश गर्ने हरेकले क्वारेन्टाइन बस्नुपर्ने

२ चैत, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्टक मौरिशनले आफ्नो मुलुकमा आउने सबैलाई दुई साता क्वारेन्टाइनमा बस्न निर्देशन दिएका छन् । न्युजिल्याण्डले आफ्नो सीमामा विश्वकै सबैभन्दा ठूलो कडाइ गरेसँगै अष्ट्रेलियाले पनि भाइरस नियन्त्रणका लागि यस्तो कदम चालेको हो ।

कोरोना भाइरस कोभिड-१९ लाई नियन्त्रणका लागि चालिएको यो कदम महत्वपूर्ण रहेको मौरिशनले बताए ।

प्रधानमन्त्री मौरिशनको निर्देशनअनुसार आइतबार रातिदेखि अष्ट्रेलिया प्रवेश गर्ने हरेक व्यक्ति क्वारेन्टाइनमा बस्नुपर्नेछ । साथै अष्ट्रेलियामा ३० दिनसम्म विदेशी जहाजलाई प्रतिबन्ध लगाइएको छ । तर, विद्यालयहरु भने नियमितरुपमा सञ्चालन हुनेछन् ।

अहिलेसम्म अष्ट्रेलियामा यो भाइरसका २५० संक्रमित देखिएका छन्, जसमध्ये ३ जनाको ज्यान गएको छ ।

मौरिशनले बाहिरबाट आएका मानिसबाट यो रोग सर्ने सम्भावना प्रबल रहेकाले यस्तो योजना ल्याइएको बताए । यो भाइरसलाई पूर्णरुपमा रोक्न नसक्ने भए पनि सुस्त बनाउन सरकारले प्रयास गरिरहेको उनले बताए ।

बाहिर हिँड्दा पनि अरु मानिसभन्दा केही पर रहन र हात नमिलाउन पनि प्रधानमन्त्री मौरिशनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment