Comments Add Comment

सिटौलाको सन्देश : सभापतिसँग मिलेको छैन, गगन-प्रदीप मसँगै छन्

३ चैत, काठमाडौं । १७ फागुनमा कांग्रेस सभापति शेरबहादुर देउवाले १३ वटा विभागका प्रमुखहरु तोक्दा कृष्णप्रसाद सिटौला निकट मानिएका शिवप्रसाद हुमागाइँले श्रमिक तथा ट्रेड युनियन विभागको प्रमुखको जिम्मेवारी पाए भने ५ जना आमन्त्रित सदस्यमा सुधिरकुमार शिवाकोटी पनि अटाए । त्यसको केही दिनपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौला समूहका नेताहरु गगन थापा र प्रदीप पौडेल आफूहरुसँग भएको अभिव्यक्ति दिए ।

केही नेतालाई देउवाले जिम्मेवारी दिनु र केही आफूहरुसँग रहेको भनेर पौडेलले बोल्नुले कांग्रेसको तेस्रो धार भनिएको सिटौला समूह संस्थापन र पौडेल समूहतिर विभाजित भएको सन्देश गयो । तर सोमबार सिटौलाले आफ्नो समूहका नेताहरुलाई भेला गरेर आफूहरु एक भएको सन्देश दिने प्रयास गरेका छन् ।

बत्तिसपुतलीमा भएको भेलामा गगन थापा, प्रदीप पौडेलका साथै करिव २ सय नेता कार्यकर्ता उपस्थित थिए ।

हामी छुट्टै हो, एक छौं : नेताहरु

भेलालाई सम्बोधन गर्दै सिटौलासहित गगन र प्रदीपले आफूहरु छुट्टै वैचारिक समूह भएको बताए ।

१३औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका सिटौलाले आफूहरु सभापति वा वरिष्ठ नेता पौडेल दुबैको समूहमा नभएको बताएका छन् । कांग्रेसमा सुधारका लागि आफूहरु प्रयासरत रहेको र स्पष्ट रोडम्याप बनाएर अगाडि बढ्ने बताए । तोकिएको मिति (२०७७ फागुन ७-१०) मा महाधिपेशन गर्नुपर्ने भन्दै उनले भने, नभए सभापतिले जिम्मेवारी लिनुपर्छ ।’

भेलामा केन्द्रीय सदस्य गगन थापाले शक्ति बढाएर परिवर्तनको वातावरण बनाउने बताए । १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण गर्न सुरु भइसकेको बेला विधान विपरीत विभागहरु बनाएको तथा नवलपरासीमा जिल्ला सभापति मनोनित गरेको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरे । सभापतिले लचिललो भएर काम गर्नुपर्‍यो । महामन्त्रीले पनि आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्‍यो’ उनले भनेका छन् ।

अर्का नेता प्रदीप पौडेलले पार्टी नेतृत्वले नै महाधिवेशन नचाहको आरोप लगाए । महाधिवेशनको मिति तय भइसक्दा पनि समायोजनको बाँकी काम सक्न कसैले निर्देशन नभएको भन्दै उनले असन्तुष्टि जनाए । पौडेलले पनि आफूहरु छुट्टै समूह भएको र सबैले विधान स्वीकार गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

शक्ति सञ्चय गर्ने मुडमा सिटौला

सिटौलाले हुमागाइँ र शिवाकोटीको नाम पार्टी सभापति देउवालाई दिनुअघि आफ्नो समूहमा परामर्श गरेका थिएनन् ।

सोतकाअनुसार झापाका शिवकोटीको व्यवस्थापन सिटौलाका लागि टाउको दुखाइ बनेको थियो । त्यसैले सिटौलाले आमन्त्रित सदस्य मनोनित गराएको हुनसक्ने समूहका नेताहरुको बुझाइ छ । काभ्रेका हुमागाइँ भने सिटौला समूहमा पार्टी संस्थापक्ष पक्षमा उभिनुपर्छ भन्ने मत राख्ने नेता मध्ये एक हुन् ।

तर संस्थापन इतर समूहमा फुट आएको सन्देश दिने गरी भएको मनोायनप्रति गगन र प्रदीपहरु सन्तुष्ट थिएनन् । त्यो सूचना सिटौलासम्म पुग्यो र पारिवारिक कामले गृहजिल्ला पुगेका उनी काठमाडौं फर्किएलगतै नेताहरुसँग छलफल गरे ।

त्यही बेला उनले आफू सभापतितिर नलागेको सन्देश दिने संकेत गरेका थिए । एक नेताले भने, ‘उहाँ सभापतिसँग पनि असन्तुष्ट हुनुहुन्छ, वरिष्ठ नेताले पनि विश्वास जित्न नसकेको देखियो ।’ सिटौलाले महाधिवेशन अगाडिसम्म आफ्नो समूहलाई बचाइराख्ने र शक्ति संचय गर्ने मुडमा देखिएको उनले सुनाए ।

यद्यपि महाधिवेशनसम्मै छुट्टै समूह कायम हन्छ वा रहन्न अहिले नै भन्न गाह्रो रहेको नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment