Comments Add Comment

मास्कपछि प्रहरीको ध्यान स्यानिटाइजर कालोबजारीतिर

३ चैत, काठमाडौं । चर्को मूल्यमा बिक्री गर्न खोजिएको १० लाख ८ हजार वटा मास्क बरामद गरेपछि प्रहरीले स्यानिटाइजरतिर ध्यान दिन थालेको छ ।

विश्वभरि कोरोना (कोभिड-१९) भाइरसको संक्रमण फैलिरहेका बेला मास्कको कालोबजारी भइरहेको सूचनाको आधारमा प्रहरीले ठूलो परिणाममा मास्क बरामद गरेको थियो । मास्कपछि स्यानिटाइजर पनि चर्को मूल्यमा बेच्न खोजिएको आशंकामा प्रहरीले निगरानी बढाएको स्रोतको भनाइ छ ।

कोरोनाको माहामारीले विश्व आक्रान्त बनिरहेको मौका छोपोर चर्को मूल्यमा कुनै पनि सामान बिक्री गरेको पाइए प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ ।

‘यदी कसैले आवश्यकताबाट भन्दा बढी रकम लिइरहेको छ भने नजिकैको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० मा फोन गर्नुहुन अनुरोध छ’, काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले भने, ‘सूचना प्राप्त भएको ५ मिनेटभित्रमा प्रहरी आइपुग्छ ।’

३ रुपैयाँमा खरिद, ३१ मा बिक्री

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार शनिबार र आइतबार चलाइएको अपरेशनका क्रममा पक्राउ परेको गिरोहले ३ रुपैयाँ २५ पैसामा मास्क खरिद गरेर ३१ रुपैयाँमा बिक्री गर्न खोजेका थिए ।

‘यो होलसेल मूल्य रहेछ । बजारमा बिक्री हुने बेला छुट्टै कर र नाफा जोडिने रहेछ’, राठौरले भने, ‘कपनको मिलनचोकबाट १ लाख ६८ हजार थान मास्क बरामद गरेपछि सतुंगलमा भण्डारण गरी राखेको थप मास्क फेला परेको थियो ।’

राठौरका अनुसार बरामद सामग्री आरडीजी इन्टरनेश्नल नामक कम्पनीले काठमाडौं भित्र्याएको थियो । प्रारम्भिक सोधपुछमा उनीहरुले चीनबाट ती सामग्री भित्र्याएको भनेका छन् । यद्यपि, कहिले भित्र्याइएको हो भन्ने खुलिसकेको छैन ।

प्रहरी आरडीजीका सञ्चालक २४ वर्षीय सुरज गोयल र भारत राजस्थान घर भइ बागबजार बस्दै आएका सुवास महेश्वरीलाई पक्राउ गरेको छ । त्यस्तै, सहयोगी ओखलढुंगाका टेकराम श्रेष्ठ, बाराका सञ्जय रेग्मी र चितवनका अजिम बक्स मिया पनि समातिएका छन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बोगटी बताउँछन् । गोदामबाट मास्क ओसार्न प्रयोग भएको बा ७ च ७२६३ नम्बरको गाडी पनि बरामद भएको छ ।

पक्राउ परेका व्यक्तिहरुविरुद्ध कालोबजारी तथा सामाजिक हितविरुद्धको अपराध ऐन २०३२ अनुसार म्याद थप हुनेछ । जसअनुसार कृत्रिम अभाव सिर्जना गरेको अभियोग प्रमाणित भए एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनसक्ने व्यवस्था छ ।

बरामद मास्क बिक्रीमा पठाउने तयारी

प्रहरीले ठूलो परिणाममा मास्क बरामद गरे पनि कानुनी प्रक्रिया पूरा नभएसम्म बिक्री गर्न नपाइने व्यवस्था थियो । तर, प्रक्रिया हुञ्जेलसम्म पर्खिँदा सर्वसाधारणले मास्क उपभोग गर्न नपाउने भएकाले आलोचना भएको थियो ।

त्यसपछि प्रहरीले महान्यायाधीवक्ताको कार्यालयसँग राय मागेको थियो । जसअनुसार महान्यायधीवक्ता अग्नि खरेलले बरामद मास्क अविलम्ब बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई उनले मुद्दा हेर्ने अधिकारीको अनुमति लिएर बरामद मास्को मूल्य र नमूनासहित अभिलेख, फोटो र डिजिटल अभिलेख राखेर बजारमा पठाउन निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment