Comments Add Comment

चितवनमा ७२ घण्टाभित्र ७० शैय्याको अस्पताल बनाइने

४ चैत, चितवन । चितवनमा कोरोनाको संक्रमण भएका र आशंका गरिएका बिरामीलाई राख्न ७० शैय्याको अलग्गै अस्पताल बनाइने भएको छ ।

उद्योग संघ चितवनको बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

अस्पताल बनाउन का लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए । भरतपुर कोरोना विशेष अस्पताल नाम दिइने यस्तो अस्पतालमा ५० शैय्या साधारण बेड, १० शैय्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू राखिने छ ।

विभिन्न अस्पताल तथा चेकपोष्टहरुमा आएका शंकास्पद बिरामी र संक्रमण पुष्टि भएका बिरामीलाई यही राखेर उपचार गरिने प्रजिअ भट्टराईले बताए । अस्पतालको बहिरंग सेवाको व्यवस्थापनको जिम्मा डा. भोजराज अधिकारी र डा. अनिलविक्रम कार्कीले लिनेछन् ।

जनरल वार्डको व्यवस्थापन क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्य, एचडीयूको व्यवस्थापन भरतपुर मेडिकल कलेज र निजी अस्पताल समन्वय समिति, आईसीयूको चितवन मेडिकल कलेज, जनशक्तिको व्यवस्थापनको जिम्मा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई दिइएको छ ।

यस्तै अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ, जिल्ला समन्वय समितिले गर्ने सहमति भएको छ । अस्पतालका लागि क्यान्सर अस्पतालले २० वटा आईसीयू बेड र ८ वटा भेन्टिलेटर उपलब्ध गराउने जनाइएको छ ।

आवासीय रुपमा नै चिकित्सक, नर्स, पारामेडिक्स र ल्याबका कर्मचारीलाई यहाँ राखिने डा. अनिलविक्रम कार्कीले जानकारी दिए । यहाँ आउने बिरामीलाई चार तहको स्वास्थ्य सेवा उपलब्ध गराइने डा. कार्कीको भनाइ छ ।

ल्याबको स्याम्पल काठमाडौं पठाउनुपर्ने अवस्था विद्यमान रहेकोले यही नै यस्तो ल्याब बनाउन आवश्यक पहल थालिएको डा. कार्कीले बताए ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा कोरोना रोकथाम तथा पूर्वतयारी समिति गठन गरिएको छ । यो समितिले जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि समन्वय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment