Comments Add Comment

कर्माछिरिङले आफ्नै नारा बिर्सिए

५ चैत, काठमाडौं । विश्व खेलकुदलाई प्रभावित पारेको नोवल कोरोना (कोभिड–१९) भाइरसबाट नेपाली खेलकुद पनि अछुतो छैन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको शहीद स्मारक बी डिभिजन लिग पनि मंगलबारदेखि रोकिएको छ ।

तर त्यही लिग सञ्चालन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) मा आन्तरिक विवाद चुलिएको छ । एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको ‘नोट अफ डिसेन्ट’मार्फत त्यो विवाद बाहिर आएको हो । कार्यसमितिको निर्णयमा ९ बुँदे फरक मत लेखेपछि विवाद सतहमा आएको हो ।

एन्फा कार्यसमितिको २६ माघको निर्णयमा नेम्वाङले असहमती जनाएका हुन । उनले चैत ४ मा नोट अफ डिसेन्ट दर्ता गरेका छन् । आफूले निर्णय पुस्तिका (माइन्यूट)मा फरक मत राख्न खोजेपनि अध्यक्ष र उपाध्यक्षले लिखित रुपमै असहमति पत्र दर्ता गर्न भनेकाले मंगलबार ‘नोट अफ डिसेन्ट’ दर्ता गरेको वरिष्ठ उपाध्यक्ष नेम्वाङले बताएका छन् ।

नेम्वाङले फागुन पहिलो साता सम्पन्न ए डिभिजन लिगका लागि कतार एअरवेज र एनटिभीसँग गरिएको सम्झौता, रौतहटमा निर्माण गरिएको महिला एकेडेमी, आर्थिक नियमावलीलगायतको विषयमा आफ्नो फरक मत राखेका छन् ।

रौतहटको चन्द्रनिगाहापुरमा निर्माणाधीन महिला फुटबल एकेडेमीको काम रोक्न माग गरेर सर्वोच्च अदालतमा दायर रिट विचाराधीन छ ।

‘मेरो नोट अफ डिसेन्ट एन्फाकै पक्षमा हो’ नेम्वाङले भनेका छन्, ‘विधिवत तरिकाले संस्था अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । यो कसैको विरुद्धमा वा विपक्षमा होइन । संस्थाको पक्षमा हो । व्यक्तिगत रुपमा कसैसँग मेरो केही छैन ।’

एन्फा प्रवक्ता किरण राईले पनि बैठकमा छलफल भएको विषयमा कार्यसमिति सदस्यहरूले राख्ने फरक मत नै नोट अफ डिसेन्ट भएको तर्क गरे ।

‘पंकजजीले आफ्नो फरक मत दर्ता गर्नुभएको छ’ राईले अनलाइनखबरसँग भने, ‘संस्थागत रुपमा जे निर्णय भएको छ, त्यो कार्यान्वयन हुन्छ ।’

वरिष्ठ उपाध्यक्ष नेम्वाङ बाहेक केन्द्रीय सदस्य दावा लामाले पनि नोट अफ डिसेन्ट लेखेका छन् । नेम्वाङकै जस्तो भएपनि दावाको फरक मत ८ बुँदामा छ ।

जब आफ्नैको चित्त दुखाए

जतिबेला एन्फामा गणेश थापाको बोलबाला थियो, त्यसबेला कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फा शुद्धिकरण अभियान चल्यो ।

२०७० सालमा सुरु भएको यो अभियानमा शेर्पाका दाहिने हात थिए, पंकज नेम्वाङ । तत्कालिन उपाध्यक्ष विजयनारायण मानन्धर, केन्द्रीय सदस्यद्वय नेम्वाङ र दीपक खातीले शेर्पाको अभियानलाई आँखा चिम्लेर साथ दिएका थिए ।

गणेश थापाले चारै जनालाई एन्फाबाट निश्काशन गरेका थिए । २०७५ वैशाखमा भएको एन्फाको निर्वाचनमा शेर्पा अध्यक्षमा चुनिँदा नेम्वाङ सर्वाधिक मत ल्याएर वरिष्ठ उपाध्यक्ष बने ।

नेम्वाङले एन्फाको मुख्यालय पुनर्निर्माण गर्दा प्रक्रियामा जानुपर्छ भन्ने आफूहरुको मत भएको तर फिफाको निर्देशन भन्दै हतारमा काम गरिएको दाबी गरे । विधि पालना नगर्दा अख्तियारबाट निर्देशनसमेत आएको बताए ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने राम्रो काम गर्न खोज्दा जहिल्यै गाह्रो हुने प्रतिक्रिया दिएका छन् ।

नयाँ सिसी, पुरानै रक्सी

झण्डै तीन दशक एन्फामा एकछत्र राज गरेका थापा समूहलाई प्रतिस्थापन गरेर आएका शेर्पाले हुने विरुवाको चिल्लो पात देखाउन सकेनन् । नेतृत्वमा आएको दुई वर्ष नपुग्दै शेर्पा र नेम्वाङबीच दुरी बढेको देखिएको छ । शेर्पालाई साथ दिँदै आएका एन्फा विदेश विभाग प्रमुख नवीन पाण्डेले पनि पदबाट राजीनामा दिइसकेका छन् । पाण्डेले पनि शेर्पासँगै असन्तुष्टि बढेपछि पद छाडेको बताइन्छ ।

पारदर्शिता र विकेन्द्रीकरणको नारा दिएर आएकाहरुले एजेण्डा बिर्सिएको नेम्वाङको आरोप छ । ‘सुरुको केही समय सर सल्लाह हुन्थ्यो तर त्यसपछि हुन छाड्यो । विधिअनुसार काम गर्ने कुरामा सल्लाह गर्ने थुप्रै प्रयास गरियो तर सफल भएनौं, उनले भने । त्यसैको निष्कर्ष फरक मत भएको समेत उनले बताए ।

अध्यक्ष बनेलगत्तै शेर्पाले एन्फालाई विधिविधानअनुसार चलाउने र त्यसको सुरुवात मूल नेतृत्वबाटै गर्ने प्रतिबद्धता जनाएका थिए । ‘त्यतिबेला आफ्नो जितलाई नयाँ इतिहास रच्ने अवसर र जिम्मेवारीको रुपमा व्याख्या गरेका शेर्पाको भनाई र गराईमा आकाश जमीनको अन्तर देखिन्छ’ एन्फाका एक सदस्य भन्छन्, ‘हामीले त्यतिबेला पनि पात्र होइन प्रवृत्तिको विरोध गरेका थियौं, अब पनि गलत प्रवृत्तिले साथ दिने कुरै आउँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment