Comments Add Comment

कोभिड-१९ लाई लिएर वीरगञ्ज कारागारमा उच्च सतर्कता

Photo Credit : फोटो सौजन्य : कारागार कार्यालय, वीरगञ्ज

५ चैत, वीरगञ्ज । कोरोना भाइरस (कोभिड-१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वीरगञ्ज कारागारमा उच्च सतर्कता अपनाइएको छ । बढी भिडभाड हुने कारागारमा कैदीबन्दी भेटघाटमा उच्च सतर्कता अपनाइएको हो ।

तीन दिनदेखि कारागारमा कैदीबन्दी भेट्न आउने आफन्त साथीभाइको स्वास्थ्य जाँच गर्ने गरिएको छ । भेटअघि इन्फ्रारेड थर्मोमिटर मार्फत ज्वरो नाप्ने र साबुन पानीले अनिवार्य धुनुपर्ने र भेटघाटका क्रममा दुवैले मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको छ ।

भारतसँगको सिमानाकाबाट डेढ किलोमिटर दुरीमा रहेको कारागार संक्रमणको उच्च जोखिम छ । एक हजार कैदी बन्दी अट्ने क्षमताको भएपनि कारागारमा त्यो भन्दा बढी नै राखिन्छ ।

कारागारमा कैदी बन्दी भेट्न आउनेको संख्या अत्याधिक हुने गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण एक दिनमा एक जना कैदी बन्दीलाई एक जनाले मात्रै भेट्न दिने गरिएको कारागार कार्यालयले जनाएको छ ।

कारागारमा बुधबार १ हजार ३ सय ५ जना कैदी बन्दी छन् । कारागारमा भारतीय कैदी बन्दी २ सय १५ जना छन् । भारतीय कैदी बन्दीलाई भेट्न आउने आफन्तबाट समेत कोरोना संक्रमणको उच्च जोखिम रहेकोले विशेष सतर्कता अपनाइएको कारागार प्रमुख श्रवण पोखरेल बताउँछन् ।

‘कारागारमा २ सय १५ जना भारतीय कैदी बन्दी छन् । भारतीय आफन्त भेटघाटका लागि आउनु स्वभाविक हो । ’ उनले भने ‘ भारतका विभिन्न राज्यमा कोरोना भाईरसको संक्रमण देखिएको छ । जोखिम उतैबाट बढी देखिएकोले सर्तकता अपनाएका छौं ।’

कैदीबन्दी भेट्न जाने व्यक्तिमा ज्वरो, रुघा खोकी लगायत कुनै किसिमको स्वास्थ्य समस्या नभएको एकिन भएपछिमात्रै कैदीबन्दी भेट्न अनुमति दिने गरेको उनले बताए ।

बजारमा मास्कको अभाव हुँदै गइरहेको छ । तर कारागारमा कैदीबन्दीहरुले मास्क बनाएर बिक्री वितरण समेत गरिरहेका छन् । मास्क नलिई आएका कैदी बन्दीका आफन्तले कारागारमै २० रुपैयाँमा कपडाको मास्क खरिद गर्न सक्छन् ।

बुधबार कैदी बन्दीले बनाएको ३० वटा मास्क कारागार परिसरमै रहेको समता स्कुलका ३० जना विद्यार्थीलाई वितरण गरिएको कारागार प्रमुख पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment