Comments Add Comment

कोरोनाविरुद्धको लडाइँमा राजनीतिक दलको तयारी कस्तो छ ?

६ चैत, काठमाडौं । कोरोना भाइरस, यसले पारेको प्रभाव र यसबाट जोगिन बढाइएको सतर्कतामाथि दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् । खासगरी सरकारको उच्चस्तरीय समन्वय समितिले कोरोनाभित्रिन नदिन बुधबार गरेको निर्णय आजका सबै दैनिक अखबारहरूको पहिलो प्राथमिकतामा परेको छ ।

‘हाई अलर्ट’ शीर्षक दिएर नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न सरकारले शुक्रबारदेखि अधिकांश अन्तर्राष्ट्रिय उडान रद्ददेखि २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, विद्यालयदेखि विश्वविद्यालय बन्द गर्नेलगायत निर्णय लिएको समाचारमा उल्लेख छ ।

कोरोनाविरुद्धको राजनीतिक दलको तयारीबारे पनि नयाँ पत्रिकाले चर्चा गरेको छ । नयाँ पत्रिकाका अनुसार, नेकपाले जागरण अभियान सञ्चालन गरेको छ । पार्टी जिल्ला कमिटीले कोरोना भाइरसबाट जोगिने उपायबारे जानकारीमूलक पर्चा तयार गरी प्रत्येक घर तथा व्यक्तिसमक्ष पुर्याएको जनाएको छ । यद्यपि, यो सबै जिल्लामा अझै चलेको छैन । पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान गरेको नेकपाले बागलुङमा पर्चा बाँड्दै गरेको फोटो नयाँ पत्रिकामा छ ।

कांग्रेसले पनि टोलसम्मका पार्टी कमिटीमा सर्कुलर गरेर सचेतना अभियान थालेको जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ‘सहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म सतर्कता अभियान अघि बढाइएको बताएका छन् ।

राजपा र समाजवादीले पनि नेकपा र कांग्रेसले जस्तै सचेतना अभियान चलाएका छन् । समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो ट्विटरमा नाम परिवर्तन गरेर ‘नियमित हात धोऔं’ राखेका छन् ।

उच्चस्तरीय समन्वय समितिले बुधबार गरेको निर्णयबारे मुख्य समाचार बनाएको कान्तिपुरले रोगबाट जोगिने टिप्स पनि दिएको छ ।

तनहुँमा चितुवा आतंक नरोकिएको समाचार नागरिकमा छ भने अन्नपूर्णले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षबीच मनमुटाव बढेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment