Comments Add Comment

कर्मचारीको आधा तलब बेहोरिदिन होटल व्यवसायीको माग

६ चैत, काठमाडौं । होटल तथा पर्यटन व्यवसायीले कर्मचारीको आधा तलब सामाजिक सुरक्षा कोषबाट बेहोरिदिन सरकारसँग माग गरेका छन् । विश्वव्यापी रूप लिएको कोरोनाले व्यापार व्यवसाय घटेको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले यस्तो माग राखेका हुन् ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै कार्यरत कर्मचारीहरूको ५० प्रतिशत तलब सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराइदिन आग्रह गरेको छ । बाँकी आधा तलब भने आफूहरूले नै बेहोर्ने संघको भनाइ छ ।

‘होटल तथा पर्यटन व्यवसायमा कार्यरत कर्मचारीहरूले पाउने मासिक तलब सुविधामध्ये ५० प्रतिशत सम्बन्धित व्यवसायीले र बाँकी ५० प्रतिशत तलब सुविधा सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइदिनुहुन आग्रह गर्दछौं,’ होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, वागमगी प्रदेशले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

व्यवसायीहरूले बैंकसँग लिएको ऋण तिर्न समस्या भएकाले यसमा पनि सहुलियतको माग राखेका छन् । बैँकसँग लिएको ऋणको किस्तामा व्यवसायीले सहुलियत मागेका हुन् ।

घर बहालमा ५० प्रतिशत छुटसँगै होटल तथा पर्यटन व्यवसायमा सरकारका तर्फबाट लगाइएका सम्पती कर, व्यवसायकर, मूल्य अभिवृद्धि कर, विभिन्न प्रकारका राजस्वहरूमा छुटको व्यवस्था गरिदिन उनीहरुले माग गरेका छन् । साथै सरकारसँग पानी, विजुली लगायतका महशुलमा पनि ५० प्रतिशत छुट माग गरिएको छ ।

संघ बागमती प्रदेशका १३ वटै जिल्लाका ठूला, मझौला तथा साना होटल तथा पर्यटन व्यवसायीहरूको संगठन हो । यसमा २६ वटा संघहरु आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment