Comments Add Comment

महाराष्ट्रमा कसरी फैलियो कोरोना भाइरस ?

६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या छिमेकी मुलुक भारतमा पनि बढ्दो छ ।

संक्रमण देखिएसँगै भारत सरकारले पर्यटक भिसा दिन रोकेको भने संक्रमण फैलिन नदिने प्रयास गरिरहेको छ । तर अहिलेसम्म १७७ जनामा कोरोना संक्रमण देखिएको छ र उनीहरु मध्ये तीन जनाको मृत्यु पनि भइसकेको छ ।

भारतको २९ प्रान्तमध्ये १९ प्रान्तमा संक्रमण देखिएको छ । यसमध्ये सबैभन्दा प्रभावित प्रान्त हो– महाराष्ट्र ।

महाराष्ट्रमा अहिलेसम्म ४७ जनामा संक्रमण देखिएको छ । र, दैनिक रुपमा नयाँ संक्रमित थपिइरहेका छन् ।

महाराष्ट्रमा कसरी फैलियो त कोरोना भाइरसको प्रकोप ? बीबीसी मराठीका सम्पादक आशिष दीक्षितले दिएको जानकारी अनुसार केही तथ्यहरु यहाँ उल्लेख गरिएको छ :–

महाराष्ट्रमा भाइरसको संक्रमण फैलिनुका धेरै कारणहरु छन् । यसमध्ये एक हो, एक टुर ग्रुप ।

एउटा निजी कम्पनीले एक टूर ग्रूपमा ४० जनालाई दुबई भ्रमणमा लागेको थियो । भ्रमण दलका सदस्यमध्ये तीनजना कर्नाटकका थिए भने बाँकी ३७ जना महाराष्ट्रका थिए । उनीहरु फेब्रुअरी अन्तिम साता भारत फर्किएका थिए । उनीहरु भारत फर्किँदासम्म दुबईबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्ने नियम थिएन । त्यसैले उनीहरु सबै आफ्नो आफ्नो घर गए र नियमित काममा पनि गए ।

महाराष्ट्रमा पहिलो संक्रमित पुनेमा देखियो । उनी त्यही भ्रमण दलका सदस्य मध्ये एक थिए । भ्रमण दलमा कोको थिए, उनीहरु भारत आएपछि कहाँकहाँ गए, कोकोसँग फ्रन्ट लाइनमा सम्पर्क भयो भन्ने पत्ता लगाउन महाराष्ट्र सरकारलाई हम्मेहम्मे पर्‍यो ।

उनीहरुलाई पत्ता लगाएर क्वारेन्टाइन र आइसोलेसनमा राख्दासम्म महाराष्ट्रमा कोरोनाको संक्रमण फैलिसकेको थियो । महाराष्ट्रमा कोरोनाको संक्रमण सबैभन्दा बढी आउनुको कारण हो ।

अर्को कारण विदेशी पर्यटक हुन् । महाराष्ट्र, भारतमा दोस्रो सबैभन्दा बढी पर्यटक आउने दोस्रो प्रान्त हो । तामिलनाडूपछि सबैभन्दा धेरै विदेशी पर्यटक महाराष्ट्रमा आउँछन् । त्यसैले कोरोना भाइरस भित्र्याउन पर्यटकले पनि सहयोगी भूमिका खेलेको मानिन्छ ।

केही समयअघि भारतको नागपुरमा एकजनामा यो भाइरसको संक्रमण देखिएको थियो, उनी अमेरिकाबाट आएका थिए । फिलिपिन्सबाट आएका दुईजनामा पनि संक्रमण देखिएो छ । थाइल्याण्डबाट आउने मानिसमा पनि यो भाइरसको संक्रमण देखिएको थियो ।

भाइरस रोक्न के गर्दैछ महाराष्ट्र ?

कोरोना भाइरसको संक्रमण फैलिन नदिन महाराष्ट्रमा सबैभन्दा पहिला विद्यालयहरु बन्द गरिएको छ । सुरमा शहरको स्कुल मात्र बन्द गरिएको थियो, अब प्रदेशका सबै स्कुल बन्द भएका छन् । पर्यटन गन्तव्यहरुका साथै मठमन्दीहरु पनि बन्द गरिएको छ ।

मानिसको भीडभाड हुने बिहे, राजनीतिक कार्यक्रम जस्ता कुनै पनि कार्यक्रम नगर्न प्रेश सरकारले आह्वान गरेको छ । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन रोकेको छैन तर अत्यावश्यक काम पर्दा बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ ।

बाहिरबाट आउने केही रेल रोकिएको छ । तर लोकल ट्रेन, बस सबै रोकिएको छैन । यदि यो पनि बन्द गर्ने हो भने सबैभन्दा गरीब प्रभावित हुने भएकाले बन्द नगरिएको प्रदेश सरकारले बताएको छ । तर भीडभाड कम गर्न प्रयास गरिरहेको छ ।

त्यसका लागि मुम्बई शहरका निजी कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीलाई कार्यालयमा बोलाउन आग्रह गरेको छ । सरकारी कार्यालयमा पनि ५० प्रतिशत कर्मचारी मात्र राख्न सकिन्छ कि भनेर अध्ययन भइरहेको महाराष्ट्र सरकारले बताएको छ ।

महाराष्ट्र सरकारले मुम्बई लगायतका प्रमुख शहर बन्द गरेको छैन । दूध र सब्जी बाहेकका अरु पसल सकेसम्म नखोल्न आग्रह गरेको छ । त्यसैले पुनेमा आधा भन्दा बढी बजार व्यवसायी आफैंले बन्द गराएका छन् । सरकारले पनि ठूला शहर बन्द गर्नेबारे छलफल भइरहेको बताएको छ, यसले मानिसहरुमा केही त्रास उत्पन्न गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment