Comments Add Comment

जिवेश र रियाशा आरोप-प्रत्यारोपमा, गल्ति कसको ?

यूट्यूवमा छोटा कमेडी भिडियो अपलोड गरेर चर्चामा आएको जोडी हो जिवेशसि‌ंह गुरुङ-रियाशा दाहाल । ‘कलेज नेपाल’मार्फत उत्पादित सर्ट भिडियो सिरिज ‘आजकालको लभ’ मा यो जोडीलाई धेरैले मन पराएका थिए । तर, तीन महिनाअघि उनीहरु अनायास अलग भए ।

‘लभ आजकाल’ को १०४ एपिसोडपछि रियाशा र जिवेशको जोडी टुटेको थियो । जिवेशका यो सिरिजका निर्देशक, लेखक र प्रमुख कलाकार हुन् भने रियाशाले उनको जोडी भएर अभिनय गरिरहेकी थिइन् । धेरैले यो जोडीलाई ‘रियल कपल’का रुपमा पनि चर्चा गर्न थालेका थिए । तर, एकाएक अलग भएपछि उनीहरुका शुभचिन्तक निराश बने ।

यद्यपि, यी दुईको भित्री झगडा बाहिर आएको थिएन । दुवैले सामाजिक सञ्जालमा वा मिडियामा एक-अर्काका विषयमा केही पनि बोलेनन् । जिवेशसँग अलग भएर रियाशाले कलेज नेपालमार्फत नै ‘सोल्टिनी’ नाममा छुट्टै कमेडी सिरिज निर्माण गर्न थालिन् ।

हालै ‘आजकालको लभ’लाई थप दुई महिला पात्रले पनि बाइबाइ गरेका छन् । कोमलिकाको भूमिकामा देखिँदै आएकी कञ्चन र झ्याम्पुतली बज्यैको भूमिकामा अभिनय गर्ने युगज्योती क्रियाशीलले जिवेशको साथ छोडेका हुन् । छाडेर गएपछि यी दुईले जिवेशमाथि थुप्रै आरोप लगाएका छन् । र, उनीहरुसँगै रियाशाले पनि पहिलोपटक जिवेशविरुद्ध मुख खोलेकी छन् ।

एक यूट्यूव च्यानललाई दिएको सामूहिक अन्तरवार्तामा रियाशाले जिवेशबाट आफू प्रताडित भएको बताएकी हुन् । कञ्चन र यूगज्योतिले पनि जिवेशको व्यवहार असैह्य भएपछि उक्त सिरियल छोड्नुपरेको दाबी गरेका छन् । यता, जिवेशले काउन्टर अन्तरवार्ता दिँदै यी तीनमाथि विभिन्न प्रत्यारोप लगाएका छन् ।

रियाशा भन्छिन् : हात हाल्न तम्सिए

‘आजकालको लभ’ यूट्यूवमा लोकप्रिय हुँदै जाँदा आर्थिक रुपमा पनि बलियो भइरहेको थियो । तर, यसबीचमा जिवेश र रियाशा र जिवेशबीच पैसाको विवाद उब्जियो । रियाशाले मुनाफाको ४० प्रतिशत सेयर मागेपछि झगडा भएको हो ।

आजकालको लभको आम्दानी स्रोत भनेको यूट्यूव भ्यूज र स्पोन्सरहरु हुन् । रियाशाका अनुसार कुल आम्दानीबाट प्रोडक्सन खर्च कटाएर त्यसको आधा रकम कलेज नेपालले लिन्छ । बाँकी आधा रकम जिवेशले आफ्नो टिममा बाँडफाँड गर्छन् । यो रकमको ४० प्रतिशत सेयर रियाशाले माग गरेकी थिइन् ।

रियाशाका अनुसार व्यवस्थापनको पहलमा यो विवाद साम्य भइसकेको थियो । तर रियाशालाई ४० प्रतिशत सेयर दिने विषयमा व्यवस्थापनले गरेको सहमतिमा जिवेश सन्तुष्ट भएनन् । यही रिसमा जिवेशले सिरिजमा रियाशाको रोल घटाउँदै लगेका थिए । यही विषयमा असन्तुष्टि पोख्दा झगडा भएको रियाशाले बताएकी छन् ।

झगडाका क्रममा जिवेशले आफूलाई हात हाल्न खोजेको उनको दाबी छ । फेसबुकमा उनले लेखेकी छन्, ‘त्यतिबेला प्रोड्यूसर सरहरुले नरोकेको भए तपाईंले मलाई लुछ्ने/कोपर्ने वा चिर्थोर्नु हुनेथियो ।’

एक सय ४ एपिसोडपछि जिवेशले रियाशालाई हटाएर उनीजस्तै देखिने युवती सुनिशा बजगाईंलाई भित्र्याए । आजकालको लभबाट निकालिए पनि रियाशालाई कलेज नेपालले नै अर्को अवसर दियो । उनी आफैंले निर्देशक बनेर नयाँ टिमसँग ‘सोल्टिनी’ नामको नयाँ सिरिज बनाउन थालेकी छन् । यो सिरिज बिस्तारै लोकप्रियताको उकालो चढिरहेको छ ।

अहिले रियाशा नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मेरी बास्सै’ मा पनि अभिनय गरिरहेका छन् । साथै मिडिया हबले निर्माण गरिरहेको ‘अति भो’ सिरियलमा रियाशा, कञ्चन र यूगज्योतीको पुनर्मिलन भएको छ । दुई वर्ष अगाडि नै सुटिङ भएको यो टेलिश्रृंखलामा जिवेश पनि थिए । तर त्यतिबेला सुटिङ भएको एपीसोड लामो समय प्रसारण भएन ।

हालै यसको प्रसारण सुरु भएको छ । तर जिवेश यसबाट अलग्गिएका छन् ।

कञ्चन खड्का

‘सुटिङस्पटमै उठबस गराइयो’

यूगज्योतीले सुटिङस्पटमा आफूमाथि दुर्व्यवहार गरेको, बाहिरको प्रोजेक्टमा काम गर्न रोकेको र क

रिअर सिध्याइदिने धम्की दिएको लगायत आरोप जिवेशमाथि लगाएकी छन् । सुटिङमा हाँसखेल गर्दा आफूलाई सबैका अगाडि उठबस गराइएको उनको दाबी छ ।

‘जिवेश भाइले मलाई बेइज्यतिपूर्ण तरिकाले सुटिङस्पटमै उठबस गर्न लगाउनुभयो । सबैका अगाडि थर्काउनुभयो,’ यूगज्योतीले भनेकी छन्, ‘अरु प्रोजेक्टमा काम गरे मुद्दा हाल्ने धम्कीसमेत दिनुभएको छ ।’

कञ्चनको चाहिँ बेग्लै गुनासो छ । जिवेशले आफूसँग प्रेम र विवाह गर्न लगातार दवाव दिएको उनले बताएकी छन् ।

कञ्चन भन्छिन्, ‘एकपटक मेरो ब्वाइफ्रेन्डसँग ठाकठुक पर्दा मैले उहाँसँग सेयर गरेकी थिएँ । तर, फेरि मेरो प्याचअप भएको सुनेपछि उहाँ आक्रोशित भएर खाटमा मुड्की बजार्नुभयो । मसित झोक्किनुभयो ।’

उनी थप्छिन्, ‘मलाई जतिबेला पनि ब्वाइफ्रेन्डलाई छोडेर मसित बिहे गर, पैसा प्रशस्त छ, सुखले पाल्छु भनेर लोभ देखाउनुहुन्थ्यो ।’

उनले पनि बाहिरको प्रोजेक्टमा काम गर्न नदिएको आरोप लगाएकी छन् ।

जिवेशका प्रत्यारोप : कञ्चनले चिमोट्थिन्

रियाशा, कञ्चन र यूगज्योतीको अन्तरवार्ता आएलगत्तै यूट्यूवमा सनसनी बन्यो । कमेन्टमा जिवेशमाथि गालीगलौज सुरु भयो । त्यसपछि जिवेशले पनि आफ्नो टिमसित बसेर अन्तरवार्ता दिएका छन् । अन्तरवार्तामा उनले आफूमाथि लागेका आरोपहरु खण्डन गर्दै विभिन्न प्रत्यारोप लगाएका छन् ।

‘मिडियामा आएर आँसु झार्नु नै महिलाहरुको सबैभन्दा ठूलो हतियार हुँदो रहेछ । उहाँहरुले लगाएका आरोप सबै असत्य छन्,’ उनले भनेका छन् ।

रियाशालाई हटाएको प्रसंगमा जिवेशले भनेका छन्, ‘पैसाको कुरा नमिलेपछि उहाँले नै सय एपिसोडपछि छोड्छु भन्नुभएको थियो । त्यसपछि मैले उहाँको भूमिका कम गर्दै लगेँ र अर्को कलाकार पनि खोजेँ । तर, १०० एपिसोडपछि अब छोड्दिन भन्नुभयो । त्यसबेला मसित हटाउनुभन्दा अर्को विकल्प थिएन ।’

यूगज्योतीलाई सुटिङस्पटमा कान समातेर उठबस गर्न लगाएको चाहिँ जिवेशले स्वीकारेका छन् । तर, यूगज्योती मात्र नभएर अरु कलाकारलाई पनि उठबस गराएको उनको भनाइ छ  ।

‘सुटिङमा टिकटक बनाएर बसेपछि कान समातेर उठबस गर्न लगाएकै हुँ । तर, उहाँलाई मात्र होइन, सुनिसा (बजगाईं) र ललना (चिमरिया) लाई पनि हो,’ जिवेशले भनेका छन् ।

आफूसँग बिहेका लागि दबाब दिएको भन्ने कञ्चनको आरोपको जिवेशले खण्डन गरेका छन् । बरु कञ्चनले नै सुटिङमा आफूमाथि दुर्व्यवहार गरेको उनको दाबी छ ।

‘हामीले अंकमाल गर्ने सीनमा उनले बारम्बार मेरो पेटमा औंलाले चिमोट्ने, काउँकुति लगाउने गर्थिन् । योचाहिँ सेक्सुअल ह्यारेसमेन्ट हो कि होइन ?’ उनी प्रश्न गर्छन् ।

कञ्चनले आफूलाई ‘जिबु’ भनेर अपमान गर्ने गरेको जिवेशको भनाइ छ ।

‘मलाई जिबु भनेर कसैले बोलाउँदैन । तर उनले हेपेर जिबु भन्थिन् । अरु साथीहरुसँग कुरा गर्दा पनि जिवेश दाई वा जिवेश सर नभनि जिवेश मात्र भन्दिरहिछन्,’ उनले भनेका छन् ।

अन्तरवार्तामा जिवेशले रियाशा, कञ्चन र यूगज्योतीका एकदमै व्यक्तिगत र पारिवारिक कुराहरु पनि बाहिर ल्याइदिएका छन् । उनले कञ्चन र यूगज्योती फेरि फर्किन चाहे स्वागत गर्नेसमेत बताएका छन् ।

कार्यक्रम प्रोड्यूसर के भन्छन् ?

जिवेश र रियाशा बीचको विवादबारे ‘आजकालको लभ’ का प्रोड्यूसर सैलेन्द्र बस्नेतसँग जिज्ञासा राख्दा उनले यसबारे आन्तरिक छानबिन भइरहेको बताए ।

‘यो विषयलाई हामी आन्तरिकरुपमा नै सल्टाउने प्रयासमा छौं । दुईमध्ये को ठीक र को बेठीक भनेर अहिले म छुट्याउन सक्दिनँ,’ उनले भने ।

आन्तरिक कुरालाई मिडियामा छताछुल्ल बनाउनु राम्रो नभएको भन्दै बस्नेतले यसबारे कम्पनीले ‘एक्सन’ लिनसक्ने चेतावनी दिए ।

उनले भने, ‘उहाँहरु दुवैजनाले कलेज नेपालसँग करार सम्झौतामा काम गरिरहनु भएको छ । उहाँहरुको यस्तो व्यवहारले कलेज नेपाललाई असर गर्न सक्छ । त्यसैले यसमा हामीले एक्सन लिनुपर्ने हुन सक्छ ।’

उनले जिवेश र रियाशाबीच सेयरको विषयमा उत्पन्न विवादलाई लिएर केही प्रतिक्रिया जनाउन चाहेनन् । यो आन्तरिक विषय भएकाले बाहिर ल्याउने पक्षमा आफूहरु नरहेको उनको भनाइ छ ।

हिलो छ्यापाछ्याले दुवैलाई घाटा

जिवेश र रियाशा दुवै आशालाग्दा प्रतिभा हुन् । लेखन र निर्देशनमा जिवेश अब्बल छन् भने अभिनयमा रियाशा निपूर्ण छिन् । यी दुईको संयुक्त प्रयासमा नै ‘आजकालको लभ’ ले लोकप्रियता हासिल गरेको थियो । । यही लोकप्रियताको बलमा अहिले कलेज नेपालका १० लाख सब्सक्राइबर पुगेका छन् ।

बाहिरबाट हेर्दा यी दुवैको केमेष्ट्रि खुब जमेको थियो र लामो समय टिकाउ हुन सक्ने आँकलन गरिएको थियो । तर, सफलतासँगै दुवैमा घमण्ड र महत्वाकांक्षा पनि बढ्यो । अन्ततः उनीहरु छुट्टिए । छुट्टिएर पनि आ-आफ्नो ढंगले काम गरिरहेका थिए । तर, अहिले एकाएक हिलो छ्यापाछ्यापमा लागेका छन् । चरित्रहत्यो यो प्रतिस्पर्धाले घाटा दुवैलाई हुने छ ।

दर्शक अझै पनि यो टिम पुनःसंगठित भएको हेर्न चाहन्छन् । खासगरी जिवेश र रियाशाको जोडीलाई फेरि सँगै हेर्न चाहनेहरु धेरै छन् । तर, यतिबेला उनीहरुको सम्बन्ध एकदमै तिक्त बनेको छ । उनीहरुबीच सुलह र समझदारी गराउने काममा कलेज नेपाल व्यवस्थापन पनि चुकेको देखिन्छ । व्यवस्थापनले दुवैबीच असमझदारी हटाउन र विवाद मिलाउन सकेको भए आज यो विवाद सडकमा पोखिने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment