Comments Add Comment

निर्भया हत्याकाण्डका दोषी चारै जनालाई भारतले दियो फाँसी

७ चैत, काठमाडौं । निर्भया सामूहिक बलात्कार र हत्याका दोषी चारैजनालाई अन्ततः भारतले फाँसी दिएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान करिब साढे पाँच बजे दोषीहरु अक्षय कुमार, मुकेश सिंह, पवन गुप्ता र विनय शर्मालाई नयाँदिल्लीस्थित तिहाड जेलमा फाँसी दिइएको हो ।

गएराति अबेर अदालते दोषीहरुको याचिका खारेज गरेपछि चारैजनालाई एकसाथ फाँसी दिइएको जेलर सन्दीप गोयलले बताएका छन् ।

उनीहरुले सन् २०१२ मा २३ वर्षीया छात्रा निर्भयालाई बसभित्रै सामूहिक बलात्कार गरी हत्या गरेका थिए । सात वर्ष, तीन महिना चार दिनपछि आफूहरुले न्याय पाएको भन्दै निर्भयाका परिवारले खुसी व्यक्त गरेका छन् । बलात्कारीलाई फाँसी दिइएकोमा भारतमा खुसीयाली छाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

निर्भयाकी आमा आशा देवीले भनेकी छन्, ‘आज हामीले न्याय पाएका छौं । मैले मेरी छोरीको फोटो छातीमा टाँसेर तिमीले न्याय पायौ भनेँ । छोरीलाई बचाउन नसकेकोमा मलाई दुःख छ तर आमाको धर्म पूरा गर्न पाएकोमा गर्व छ ।’

न्यायको यो लडाइँमा साथ दिएको भन्दै उनले सरकार, न्यायपालिका, पत्रकारलगायत सबैलाई धन्यवाद दिइन् ।

आजको दिन देशका छोरीहरुको दिन हो भन्दै उनले भनिन्, ‘मेरी छोरी ज्युँदै हुन्थी भने म डाक्टरकी आमा भनेर चिनिन्थें । आज निर्भयाकी आमा भनेर चिनिएकी छु । अब भारतका महिलाहरु अधिक सुरक्षित होउन् भनेर हामी हाम्रो संघर्ष जारी राख्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment