Comments Add Comment

प्रवासी नेपालीलाई स्वदेश फर्कन रोक लगाउने निर्णय अव्यवहारिक : कुमार पन्त

एक हप्ताभित्र एनआएरनएले कोरोनाविरुद्ध कार्ययोजना ल्याउने

७ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन सरकारले लगाएको अल्पकालीन रोकबारे आपत्ति जनाएको छ । कोरोनाको जोखिमलाई देखाउँदै सरकारले लगाएको रोक अव्यवहारिक भएको संघको ठहर छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बिहीबार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा उनले सरकारी निर्णयको आलोचना गरे । अध्यक्ष पन्तले पन्तले महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल फर्कन लगाएको रोक व्यवहारिक नभएको जनाए ।

अध्यक्ष पन्तले कोरोना संक्रमणले विदेशमा रहेका विद्यार्थी तथा वैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाइ भोग्नुपर्ने अवस्था आउन लागेको बताए ।

विश्वव्यापी प्रकोप बनेको कोरोना भाइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न एनआरएनएले उच्चस्तरीय समिति गठन गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित उच्चस्तरीय समितिको बैठकमा अध्यक्ष पन्तले कोरोना भाइरसको संक्रमणपछि संघको तर्फबाट भएका कामहरुको जानकारी दिएका थिए । बैठकमा कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रभाव र विदेशमा रहेका नेपाली समुदायमा पर्ने असरका बारेमा छलफल भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए ।

उच्चस्तरीय समितिको बैठकले एक हप्ताभित्र कोरोना भाइरसबिरुद्ध रणनीतिक कार्यपत्र तयार गरेर नेपाल सरकारसमक्ष पेस गर्ने निर्णय गरेको शर्माले जानकारी दिएका छन् ।

कार्यपत्र तयार गर्न डा. पुरु श्रेष्ठ, डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. हेमराज शर्मा र डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन गरिएको छ । कार्यदलले तयार गरेको कार्यपत्र (सुझाव) नेपाल सरकारसमक्ष पेश गरिने संघले जनाएको छ ।

बैठकलाई सम्वोधन गर्दै पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले संघका विश्वभर छरिएका शाखाहरुलाई विदेशमा कोरोना भाइरसबाट कति नेपालीहरु प्रभावित भएका छन्, तिनको तथ्यांक संकलन गर्न सुझाव दिए । थापा उच्चस्तरीय समितिका सल्लाहकार हुन् ।

त्यसैगरी बैठकमा उच्चस्तरीय समितिका सदस्य डा. श्रवण मिश्रले नेपालमा कोरोना भाइरसको प्रभावबारे आफ्नो भनाइ राखेका थिए । मिश्रले नेपालमा भइरहेको कोरोना भाइरस टेष्ट (परीक्षण) विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप भएको बताउँदै सबैलाई सो परीक्षणप्रति आस्वस्थ हुन भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment