Comments Add Comment

छिन्नमस्तामा दर्शनार्थीलाई हात धुन र पूजारीलाई मास्क लगाउन अनिवार्य

८ चैत, सप्तरी । श्रद्धालु र दर्शनार्थीको भिडभाड हुने सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिरमा कोरोना भाइरस संक्रमण हुन नदिन विशेष सतर्कता अपनाइएको छ ।

विश्वभरि नै कोरोना भाइरसको त्रास रहेको बेला छिन्नमस्ता मन्दिरमा पूजापाठ तथा दर्शन गर्न आउनेहरुलाई साबुन पानीले हात धुन अनिवार्य गरिएको छ । यसका साथै सबैको स्वास्थ्य परीक्षण समेत शुरु गरिएको छ । स्वास्थ्य परीक्षणका निम्ति मन्दिर प्राङ्गणमै हेल्थ डेस्क स्थापना गरिएको छ ।

बिहीबारदेखि आउने श्रद्वालु एवं दर्शनाथीको स्वास्थ्य जाँच गर्दै साबुन पानीले हात धुन लगाउने काम शुरु गरिएको मन्दिरका पीठाधीश माकान्त ठाकुरले जानकारी दिए । नेपाल–भारतको विभिन्न स्थानहरुबाट श्रद्धालुभक्तजन आउने गरेकाले कोरोना भाइरसबाट जोगिन विशेष सतर्कता अपनाइएको उनको भनाइ छ ।

स्वास्थ्य चौकी सखडासँग समन्वय गरी यहाँ हेल्थ डेस्क स्थापना गरिएको छ । हेल्थ डेस्कमा पहिलो दिनमै सात सय पाँच जना भक्तजनको स्वास्थ्य परीक्षण गरिएको छ । हेल्थ डेस्कमा भक्तजनको रेकर्ड राख्नुका साथै खोकी, ज्वरो, घाँटी दुख्ने समस्या भए÷नभएकोबारे सोधपुछ गर्ने, शरीरको तापक्रम नाप्ने तथा कोरोना भाइरसको जोखिमबाट जोगिने उपायबारे जानकारी दिने गरिएको छ ।

मन्दिरभित्र प्रवेश गर्न एकद्वार प्रणाली लागु गरिएको छ । भक्तजनलाई कम्तिमा तीन फिटको दुरी बनाएर लाइनमा राख्ने गरिएको छ । यसलाई व्यवस्थापन गर्न स्वयम्सेवक तथा शक्तिपीठ संरक्षण सम्वद्र्धन समिति समेतलाई सक्रिय बनाइएको छ । पूजारीहरुलाई समेत मास्क लगाउन अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment