Comments Add Comment

नियात्रा : भगवानको मान्छे

प्यूँउल्वीन बर्माको ठूला सहरमध्येको एउटा सहर, जहाँ गोरखालीहरूको संख्या ठूलो छ । नेपालको पहाडी भेकको हावापानीसँग मेल खाने यो इलाकामा एउटा ठूलो सैनिक व्यारेक भएर नै सम्भवतः गोरखालीको भीड बाक्लो भएको हो ।

वर्माको राजधानी रंगुनबाट म प्यूँउल्वीन जाँदै थिएँ । एकजना गोरखाली भाइमार्फत मैले फोनबाटै बसको टिकट लिएँ । उनी आफैं टिकट पुर्याउन शंकरजीको घरमा आए । (शंकरजीको सहयोगमा नै म वर्मा पुगेको थिएँ ।)

शंकरजी र ती गोरखाली भाइको पहिल्यै चिनजान रहेछ । बिहानको खाना शंकरजीको घरमा नै खाने र साँझ परेपछि त्यतैबाट रात्री बसमा प्यूँउल्वीन जाने मनसुवा लिई म होटेलबाट हिँडे । तर, म आउन ढिला भएकाले टिकट पुर्याउन आएका गोरखाली भाइसँग भेट हुन सकेन ।

शंकरजीको घरमा आइसकेपछि पो थाहा भयो– ती भाइले शंकरजीलाई टिकट थमाएर पैसा लिएर गएछन् ।

रंगुन सहरको त्यो अग्लो भवन, जहाँ शंकरजीको निवास नवौं तलामा थियो । तर मलाई थाहा थिएन त्यो भवनमा कति तला छन्, कस्ताकस्ता मान्छेको बास हुन्छ । तर मलाई यति मात्र थाहा भयो मान्छेहरू लिफ्ट चढेर तल–माथि गरिरहेका थिए, ओहोरदोहोर गरिरहे । केही विशेषले शंकरजी पनि बाहिर निस्किएनुभयो अनि हतारिएको देखापन भयो र हतारिएकै परिवेशमा मलाई झोला मिलाउने जानकारी गराउनुभयो । मलाई अचम्म लाग्यो र सोधिहाले–

‘किन यति हतार ! बस छुट्ने समय ८ बजे हो । अहिले पाँच बजेको पनि छैन । बसपार्क पुग्न ३ घण्टा लाग्छ र ?’

‘ट्राफिक जाम हुनसक्छ, बरु चाँडै भएछ भने बसपार्कमा नै बस्नुहोला ।’

मैले हतार–हतारमा नै झोला मिलाएँ र तत्कालै हामीहरू दुवैजना तल सडकसम्म आयौँ । रंगुनमा ट्याक्सी पाउन त्यति गाह्रो छैन । ट्याक्स बाक्लै हिँडिरहेका हुन्छन् । तर ट्याक्सीको मूल्य भने ड्राइभरको मुख नै हो । त्यहाँका ट्याक्सीमा मिटर छैनन् । यात्रीले गन्तव्य ठाउँको नाम भनेअनुसार नै ड्राइभरले आफ्नो मूल्य बताउँछन् । यात्री र ट्याक्सी ड्राइभरको समझदारी नै ट्याक्सीको मिटर भएकोले खासै बहस चल्दैन, जान मन लाग्नेहरू जान्छन्, नलाग्ने अर्को ट्याक्सीको खोजी गर्दछन् ।

हामीहरू झोला लिएर सडकको किनारमा उभिएका मात्र थियौँ । एउटा ट्याक्सी आएर टक्क रोकियो । ट्याक्सीलाई शंकरजीले सोधिहाल्नु भयो ।

‘आउँमिंगला, बसपार्क जाने ?’

‘जाने !’

‘कति भाडा ?’

‘एयर–कण्डिसनर चलाए ९ हजार च्याट, नचलाए ८ हजार ।’

यो भनाइले मलाई केही अनौठो लाग्नु स्वाभाविक नै हो । यस्तो भनाइ मैले पहिला कहिल्यै नसुनेको थिएँ । तर त्यहाँको त चलन नै रहेछ । त्यस्तो आगोको रापजस्तो गर्मीमा एयरकण्डिसन नचलाई नजाने कुरै भएन । म ९ हजार च्याटमा बसपार्क जाने भएँ । शंकरजीले मलाई ट्याक्सी चढाएर घरतिर लाग्नुभयो ।

ट्याक्सी रंगुन सहरको उत्तर हानियो । शुरुमा यसले राम्रै गति लिए पनि रोकिने क्रम बढ्न थाल्यो । रोकिन क्रम यति बढ्यो कि यो सडकमा गुड्न सकेन । पोखरीमा पानी जम्मा भएको जस्तो न दायाँतिरका गाडी गुडेका छन् । वाँया दुबैतिर ठप्प । त्यतिबेला मैले झट्ट काठमाडौँको कोटेश्वरलाई सम्झिएँ । कहिलेकाहीँ १०–१५ मिनेट गाडी रोकिएको बेला ट्याँट्याँ ! टुँटुँ ! हर्न बजाउने मोटरसाइकल र ट्याक्सीहरू रंगुन आए भने के गर्दा हुन् ? दैनिक सडक विभागलाई सडक साघुरो भन्दै गाली गर्न पैदल यात्रीहरू रंगुनको सडक हिंड्न आए भने के सोच्लान् ! ट्राफिक जाम संसारको कुन सहरमा छैन ? कुन सहरमा घुइँचो छैन ?

बल्ल ट्याक्सी बसपार्कभित्र छिर्यो । मैले नै बसपार्क भित्र पस्ने शुल्क ५ सय च्याट तिरें । तर, ट्याक्सी ड्राइभरलाई पनि प्यूँउल्वीन जाने बस ठयाक्क कहाँनेर लाग्छ भन्ने थाहा रहनेछ । थाहा पनि कसरी होस् – त्यो विशाल बसपार्क, अनि थरीथरीका सहायक ढोका, अनि ट्याक्सी र बसको ओहोर–दोहोर । सोध्दै–खोज्दै मुस्किलले उनले प्यूंउल्वीन जाने बसको नजिकै ट्याक्सी रोकिदिए । शुरुको कबोल अनुसार ट्याक्सी ड्राइभरलाई मैले ९ हजार च्याट दिनपर्ने हो तर १० हजार च्याटको एउटा नोट हातमा राखिदिए ।

शुरुमा एक–दुई जनाले शीर झुकाउँदा र निहुरिँदासमेत मैले केही अचम्म मानेको थिइनँ । आफ्नो चिनजान होलान् भन्ने ठानेको थिएँ । तर, जति पनि मान्छेहरू उनको अगाडिबाट कटेका थिए । सबैले शीर झुकाएका थिए

उसले न्याउरो अनुहार बनाउँदै आफ्नो गोजीमा राख्यो, अनि मतिर पुलुक्क हेर्यो । मलाई फिर्ता गर्नपर्ने १ हजारको नोट खोजेकोजस्तो आफ्नो गोजीमा छामछुम गर्यो । तर उसको मप्रतिको हेराइ र गोजीमा छामछुम गरेको पाराले थाहा पाइसकेको थिए कि त्यो १ हजार मलाई दिन नपरोस् । मैले नै उसको अप्ठ्यारो फुत्काइदिएँ ।

‘भो ! पर्दैन ! तपाईंले एक हजार फिर्ता गर्न पर्दैन ।’

ऊ खुशी भएर गयो ।

शुरुमा मलाई थाहै भएन, बसपार्कको ठीक अगाडि नै त्यत्रो आरामदायी बस प्रतीक्षालय पो रहेछ । त्यहाँभित्र पसेपछि पो थाहा पाएँ– सुविधायुक्त शौचालय, लहरै कुर्चीहरू, अनि आपैmंले पैसा खसाएर सामान किन्ने पसल ! म एउटा कुर्चीमा बसेँ ।

थरिथरिका मान्छे, रङ्ग–विरङ्गको भेषभुषा ! बस प्रतीक्षालयमा सामान्य हल्ला थियो । खासखुस गफ थियो । तर, म उनीहरूको भाषा बुझ्दिनँ, गफ जान्दिनँ । केवल बुझ्थेँ आफ्नै भाषा, आफ्नै शून्यता । तैपनि म हुलमा पृथक हुन सकिनँ । उनीहरूले मलाई विदेशीजस्तो देखेनन् । विदेशीजस्तो व्यवहार गरेनन् । केवल देखे– स्वजन– भाइबन्धु । बेलाबेलामा बर्मेली भाषामा नै विभिन्न प्रश्नहरू सोधे । बोल्न खोजे । तर मैले उत्तर दिन सकिनँ । किनकि म बर्मेली भाषा बुझ्थिनँ, भाषा नबुझेपछि खिस्स हाँस्नु नै मेरो उत्तर ।

त्यहीबेला एकजना बौद्ध भिक्षु (भन्ते/फौजी) मेरो सामुन्नेको कुर्चीमा बसे । पहेलो पछ्यौरा घम्ल्याङग ओढेका, अनि पहेँलै लुंगी । मैले मनमनै सोचँे– यस्ता भिक्षुहरू स्वयम्भू वरिपरि थुप्रै देखेको थिएँ । काठमाडौँको बौद्धमा माने घुमाइरहेको पनि भेटेको छु । त्यतिबेला उनीहरूसँग त्यति बोल्ने र कुरा गर्ने विषय नै हुन्थेन ।

तर, अहिले वर्मामा उनीसँग बोलौँबोलौँ लाग्यो । गफ गरौँगरौँ जस्तो लाग्यो । भित्रभित्र धेरैबेर नै छटपटिरहे । तर, आँट आएन । किनकि केही दिन अगाडि रंगुनमा यस्तै भिक्षुसँग भेट भएको थियो । र उनीसँग कुरा निकाल्दै थिए । तर, उनलाई बर्मेली भाषाभन्दा अर्कै केही पनि आउँदो रहेन छ । त्यसैले अहिले मैले हिम्मत निकाल्न सकिनँ । म रोकिएँ ।

बरु त्यतिबेला मेरो नजरमा अचम्मको दृश्य पर्न गयो– जति पनि मान्छेहरू ती भिक्षुको अगाडिबाट गएका छन् सबैले उनको अगाडि निहुरिएर गएका थिए । शीर झुकाएर अगाडि बढेका थिए । शुरुमा एक–दुई जनाले शीर झुकाउँदा र निहुरिँदासमेत मैले केही अचम्म मानेको थिइनँ । आफ्नो चिनजान होलान् भन्ने ठानेको थिएँ । तर, जति पनि मान्छेहरू उनको अगाडिबाट कटेका थिए । सबैले शीर झुकाएका थिए । शीर निहुराएका थिए । किन यसो गरेका होलान् ? मेरा न भिक्षुसँग सोध्ने आँट आयो न शीर झुकाउनेसँग नै । मलाई लाग्यो यो भिक्षुलाई गरिने सामान्य आदर–सत्कार । मेरो जिज्ञासा त्यसै हरायो ।

मेरो बस चढ्ने समय अझै भएको थिएन । एउटै कुर्चीमा कति बस्नु ! म बाहिर जान ठिङ्ग उभिएँ । तर, मलाई मेरो सामुन्नेका भिक्षु नै तगारो बने । उनलाई शीर झुकाएर अगाडि बढौँ वा ठाडठाडै ! सम्मानले सबैले शीर झुकाएका छन् भने म किन आडम्बरी बन्नु ! किन विद्रोही बन्नु ! नेपालमा हुँदा यो संस्कार नजाने पनि, भिक्षुको अगाडि शीर नुझकाए पनि मलाई बर्माको भिक्षुप्रति आदरभाव जाग्यो, सम्मान पैदा भयो, मैले उनको अगाडि शीर झुकाएर बाहिर निस्किएँ । तर, बाहिर पनि धेरैबेर उभिने वातावरण थिएन । उही तातो हावा, यात्रीको खैलाबैला बेलाको ओहोर–दोहोर । म फेरिभित्र गएँ । त्यो बेलासम्म ती भिक्षु त्यही कुर्चीमा नै थिए । मैले फेरि उनको अगाडि शीर झुकाएर अगाडि बढें र पहिल्यैको कुर्चीमा बसेँ । तर यसपटक उनीसँग गफ गर्ने आँट बढ्यो र बोलिहालेँ ।

‘नमस्कार !’

उनले पनि नमस्कार फर्काए – ‘नमस्कार ।’

उनको ‘नमस्कार’मा नेपाली ध्वनी आएजस्तो लाग्यो । तर, ‘तपाईं नेपाली बोल्नुहुन्छ’ भन्ने प्रश्न सोध्ने आँट आएन । किनभने धेरैजसो बर्मेली भाषामा संस्कृत मिसिएको बर्मेली र नेपाली एउटै स्वर आउँछ । अझ त्यति बेलासम्म मैले वर्मामा एउटा मेरो आफ्नै संस्कारको प्रार्दुभाव गरिसकेको थिएँ । मेरो आफ्नै शैली थियो । जोसुकै बर्मेलीसँग बोल्नुभन्दा पहिला सोधिने प्रश्न सिकिसकेको थिए

‘खिंम्चा इङ्गलै सगा नालेदला ?’ (तपाई अंग्रेजी कुरा बुझ्नुहुन्छ ?)

सबैजसोको उत्तर आउँथ्यो – ‘ना मलेवू’ (बुझ्दिनँ) । तर, ती भिक्षु पृथक देखिए । केही हँसिलो हुँदै बोले– ‘अंग्रेजी बुझ्दिनँ । तर, हिन्दी ! अलिकति हिन्दी ।’

भारतको बोधगयामा ६ महिना जति बसेको आधार नै उनको हिन्दी भाषा रहेछ । त्यो ६ महिनामा कति नै भाषा सिके होलान् र नै ! तर, त्यो नै मेरो लागि पर्याप्त भयो । उनीसँग मेरो कुराको थाल्नी भयो । मैले सोधें– ‘तपाई कहाँ पुग्ने ?’

‘माण्डले’ (बर्माको रंगुनपछिको दोस्रो ठूलो सहर) उनले उत्तर दिए । उत्तरको साथमा मलाई प्रश्न पनि गरे– ‘अनि तपाईं ?’

‘म प्यूँउल्वीन’

‘तपाईं कहाँबाट आउनुभएको ?’

‘नेपालबाट ।’

‘अहो ! नेपालबाट !’ उनको जिउ तनक्क तन्कियो । अनि बोल्दै गए– ‘तपाईं विदेशीजस्तो त लागेको थियो । तर, नेपालीजस्तो लागेन ! तपाई त ! गौतम बुद्धको देशको मान्छे ! हामीहरू त्यहाँ जाने कुरो चल्दै थियो । बोधगया गयौं । अहो ! मलाई नेपाल जाने खुब रहर छ ।’

उनले धेरै कुराहरू गर्दै थिए, त्यहीबेला बसको कण्डक्टर मेरो नजिकै आयो र सुस्तरी बोल्यो–

‘सर ! बस जाने बेला भयो ।’

कण्डक्टरको बोली सुन्नासाथ म जुरुक्क उठेर झोला समाएँ । अनि पहिलाजस्तै फेरि भिक्षुको अगाडि शीर निहुरिएर जान मात्र लागेको थिएँ, भिक्षुले मेरो पाखुरा समातेर फेरि मलाई कुर्सीमा बस्न इशारा गरे अनि हतार–हतार गर्दै बोले–

‘तपाईं भगवानको मान्छे, बौद्ध सभ्यताको मान्छे । गौतम बुद्ध जन्मेको जग्गाको व्यक्ति सबै भगवान् नै हुन् । तपाईंले मलाई शीर झुकाउन पर्दैन । तपाई मभन्दा धेरैमाथि हुनुहुन्छ । तपाईं आपंैm आदरणीय हुनुहुन्छ । तपाईंको देशमा नगई हामीहरू पवित्र हुँदैनौ ।’

उनी बोल्दै थिए, तर म हतारमा थिएँ । म जुरुक्क उठें, उनी पनि उठे र हँसिलो भएर मेरा अगाडि शीर झुकाउँदै बोले–

‘बरु ! मैले तपाईंको आदर गर्नुपर्छ ।’

तर मलाई साह्रै ग्लानी भयो । असजिलो लाग्यो । म नतमस्तक हुँदै बसभित्र पसेँ ।

०००

‘प्यूँउल्वीन तपाईंको स्वागत गर्छ’ लेखिएको लामो अक्षर देखेपछि मैले बसको अगाडिपट्टि घडीमा हेरे । बिहानको ठीक ६ बजेको थियो । केहीबेरपछि बसका कण्डक्टर मेरो नजिकै आएर बोले–

‘सर ! तपाईंको झर्ने ठाउँ यही हो ।’

म झोला तानेर उठ्न मात्र लागेको थिएँ । उनैले मेरो झोला सडकसम्म झारिदिए । बस अगाडि बढ्यो म सडकको किनारमा ठिङ्ग उभिएँ र चारैतिर हेरेँ । अब मेरो गन्तव्य थियो– मणिराम पौडेलजीको होटेल– रोयल आङ्ग दव्ये होटेल ।

त्यहीबेला एक हुल भिक्षुणी (महिला भिक्षु) सडकमा देखा परे । उनीहरू म उभिएतिरबाट अगाडि बढे । फेरि मेरो मन एकपल्ट गजक्क भएर फुल्यो, मलाई गौरव लाग्यो । हिजो साँझ भेटिएका भिक्षुको आवाज सम्झिए– ‘तपाईंहरू भगवानको देशको मान्छे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment