Comments Add Comment

हिमालसहित काठमाडौंका साप्ताहिक पत्रपत्रिका बन्द

८ चैत, काठमाडौं । कोरोनाको जोखिमको असर नेपालका मिडिया उद्योगहरुमा पनि पर्न थालेको छ ।

महामारीको जोखिमका कारण हिमाल खबरपत्रिका आगामी आइतबारदेखि बन्द हुने भएको छ । आइतबारको अंक प्रकाशित भएपछि हिमाल खबरपत्रिकाको आगामी अंक देशको स्थिति सामान्य नहुञ्जेलका लागि बन्द गरिएको हिमाल मिडियाले जनाएको छ ।

पत्रिकाका तर्फबाट निकालिएको सूचनामा भनिएको छ, ‘हिमाल मिडिया प्रालिले साप्ताहिक ‘हिमाल खबरपत्रिका’ को ९ चैत आइतबारको अंकपछि आˆनो छापा संस्करणलाई अवस्था सामान्य नहुञ्जेलसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।’

त्यसैगरी हिमाल मिडियाबाटै प्रकाशित हुँदै आएको अंग्रेजी पत्रिका नेपालीटाइम्स पनि बन्द भएको छ ।

अब हिमाल खबर अनलाइनमा हेर्न सकिने जारी सूचनामा उल्लेख छ ।

अन्य साप्ताहिक पत्रिका बन्द

यसैवीच, छापाहरुको राष्ट्रिय सञ्जालको शुक्रबार बसेको बैठकले काठमाडौंबाट प्रकाशित हुँदै आएका साप्ताहिक पत्रिपत्रिका पनि यो सातादेखि बन्द गर्ने निर्णय गरेको छ ।

वर्गीकरणको सुविधाका लागि पत्रपत्रिकाहरु तोकिएको अंकमा नियमित प्रकाशन हुनुपर्ने प्रावधान रहेता पनि भूकम्प र नाकाबन्दीका बेलामा जस्तै अहिले बन्द भएका पत्रिकाका सम्बन्धमा प्रेस काउन्सिलले विचार गर्ने काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए ।

काठमाडौं बाहिरका पत्रपत्रिकाहरु पनि कोरोनाको जोखिमका कारण प्रकाशित हुने नसकेमा काउन्सिलले उनीहरुको वर्गीकरणमा पनि पछि विचार गर्ने उनले बताए ।

काठमाडौंबाट प्रकाशित हुँदै आएका राष्ट्रिय दैनिक पत्रिका र रेडियो टेलिभिजनहरुले भने कुनै निर्णय गरिसकेका छैनन् ।

यसैवीच, सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै भोलि लकडाउन वा अझ कठोर अवस्था आउँदा पनि निर्वाधरुपमा सञ्चार माध्यमको सञ्चालन गर्नुपर्ने दायित्व रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मिडिया हाउस र पत्रकारले विषयवस्तुको प्रवाह र कार्यस्थलमा अझ बढी संवेदनशीलता देखाउन जरुरी छ । भोलि लकडाउन वा अझ कठोर अवस्था आउँदा पनि निर्वाधरुपमा सञ्चारमाध्यमको सञ्चालन गर्नुपर्ने दायित्वलाई ध्यानमा राखी कार्यस्थल र सञ्चारकर्मी तथा समग्र मिडिया कर्मचारीको स्वास्थ्यलाई दृष्टिगत गरी आवश्यक तयारी पनि गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment