Comments Add Comment

चीनको खोपले निको पार्ला त कोरोना भाइरसको संक्रमण ?

९ चैत, काठमाडौं । चीनको वुहानमा १०८ जना मानिसमा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित खोपको परीक्षण गरिएको छ ।

चीनमा पहिलोपटक परीक्षण गरिएको यो खोप लगाउनेहरुमा पखाला लाग्ने, ज्वरो आउनेजस्ता केही साइड इफेक्ट भने देखिनसक्ने बताइएको छ ।

बिहीबार यो खोपको परीक्षण शुरु गर्नुभन्दा तीन दिन पहिले चीन सरकारले यो खोप परीक्षणको लागि अनुमति दिएको थियो । चीनको औषधि निर्माता कम्पनी क्यानसिनो बायोलोजिक्सले चिनियाँ सेनासँगको सहकार्यमा यो खोप निर्माण गरेको हो ।

चीनको क्लिनिकल ट्रायल रजिष्ट्रीका अनुसार यो खोपको परीक्षण १८ देखि ६० वर्ष उमेर समूहका मानिसमा गरिएको छ । उक्त खोपको परीक्षण गरिएका सबै मानिसको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । उनीहरुलाई ३६ जनाको तीन समूहमा विभाजित गरिएको छ । उनीहरुलाई कम, मध्यम र उच्च डोज दिइएको छ ।

साइन्स डेल्लीको एक रिपोर्टअनुसार चाइनिज एकेडेमी अफ इन्जिनियरिङका सहायक वाङ जुन्झी पनि यो खोपको परीक्षण गर्नेमध्येका एक हुन् । उनले उक्त परीक्षणमा सहभागी सबैजना १४ दिनसम्म मेडिकल परीक्षणको लागि क्वारेन्टाइनमा बस्ने बताएका छन् । सहभागीमध्ये केहीले सामाजिक सञ्जालमा आफ्नो अनुभव पनि सुनाइरहेका छन् । कम डोजको औषधि दिइएका सियाओ मी उपनाम भएकी महिलाले आफूले विना कुनै डर यो खोप परीक्षणको लागि हस्ताक्षर गरेको बताएकी छिन् ।

चीनको सामाजिक सञ्जाल वेइबोमा पोस्ट गर्दै उनले आफूलाई यो खोप दिनुभन्दा एक दिनअघि मात्र यसबारे जानकारी गराइएको बताएकी छिन् । यो खोप लिएपछि दुईजनालाई १००.४ डिग्री ज्वरो आएको र केहीलाई पखाला लागेको बताएकी छिन् ।

उनले आफूमा देखिएको साइड इफेक्ट भने निको भइसकेको बताइन् । साथै आफूलाई के भइरहेको छ भन्दा पनि आफूले समाजको लागि केही गरिरहेको छु भन्नेमा खुसी मिलेको बताइन् ।

यो परीक्षणमा सेनाका अधिकारी पनि छन् ।

परीक्षणमा सहभागी एक व्यक्ति लि मिङ पनि हुन् । उनकी पत्नी वाङ फेङ भर्खरै कोरोना भाइरसको संक्रमित भएर निको भएकी थिइन् । वाङले आफूले काेराेना भाइरसको प्रभावको सामना गरेका कारण श्रीमानलाई खोप कत्तिको आवश्यक छ भन्ने कुरा राम्रोसँग थाहा भएको बताइन् ।

चीन र अमेरिका कोरोनाविरुद्धको खोप निर्माणमा जुटेका छन् । चीनको खोप निर्माणको लागि सेनाले ठूलो साथ दिएको छ । क्यानसिनोले खोप परीक्षणको अनुमति पाएकै दिन अमेरिकाको मासाचुएट्समा रहेको कम्पनी मोडेर्नाले आफ्नो खोपको परीक्षण शुरु गरेको थियो ।

चिनियाँ अधिकारीहरुले अहिले परीक्षण गरिएको खोपको निर्माण सही तवरबाट भएको बताएका छन् । चिनियाँ अनुसन्धान टोली यो खोपको परीक्षण अर्को महिनासम्ममा पूरा गर्ने लक्ष्यमा छन् । सफल भएमा त्यसको केही समयपछि नै उपचारमा प्रयोग गरिनेछ ।

क्वीन्सल्याण्ड युनिभर्सिटीका रोय हलले परीक्षण निकै छिटो सकियो भने पनि त्यसलाई व्यवसायिक रुपमा उत्पादन गर्न अझै समय लाग्ने बताउँछन् । परीक्षण शुरु भएपछि यो खोप बजारमा आइपुग्न छ देखि नौ महिनासम्म लाग्ने उनको भनाइ छ ।

त्यसैले सन् २०२० भित्रमा यो भाइरसको खोप बजारमा आए त्यसलाई ठूलो उपलब्धी मान्न सकिने उनी बताउँछन् ।

साउथ चाइना मर्निङ पोष्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment