
९ चैत, काठमाडौं । सरकारले भारतीय सीमाबाट नेपाल भित्रिएका नेपाली नागरिकलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।
साथै होम क्वारेन्टाइनमा बसे नबसेको हेर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
रोजगारी तथा अध्ययनका लागि भारत गएका नेपालीहरु पछिल्लो समय घर फर्किने क्रम बढ्दो छ ।
सीमा नाकाहरुमा चेकजाँच गरेर कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण देखिएकालाई अस्पताल लगिने गरिएको छ भने अन्य आ-आफ्नो घर जाने गरेका छन् ।
तर सबैको कुन जिल्ला, कुन स्थानीय तह र वडामा जाने हो, त्यसको विवरण राख्न भनिएको छ । यो विवरण सम्बन्धित जिल्ला वा स्थानीय तहलाई जानकारी गराइने छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा भन्छन्, ‘त्यसआधारमा क्वारेन्टाइनमा बसे, नबसेको हेर्न निर्देशन दिएका छौं ।’
मन्त्रालयले विदेशबाट आएको व्यक्ति होम क्वारेन्टाइनमा नबसेको पाइए खबर गर्न समेत आग्रह गरेको छ ।
सीमा अनुगमन बढाइयो
गृह मन्त्रालयले सीमा क्षेत्रमा अनुगमनलाई तीब्र बनाएको छ । महामारीको मौका छोपेर हुनसक्ने कालोबजारी नियन्त्रण र अनुगमनलाई पनि तीब्र बनाइएको जनाइएको छ ।
जिल्लाका कर्मचारीलाई पनि कोभिड–१९ रोकथाम तथा नियन्त्रण लागि बनाइएको ‘एक्सन प्लान’ मा केन्द्रीत गरिएको गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए ।
‘सीमाको प्रभावकारी अनुगमन र हेल्प डेस्कलाई प्रभावकारी बनाउने हामीले कर्मचारीलाई पनि परिचालन गरेका हौं’, अधिकारीले अनलाइनखबरसँग भने । सामाजिक सञ्जालमा कारोना सम्बन्धी अफवाह फैलाउनेविरुद्ध पनि निगरानी बढाइएको उनले जनाए ।
प्रतिक्रिया 4