Comments Add Comment

भारतसँग जोडिएका दाङका २६ वटै सीमा नाका बन्द

दाङको कोइलाबास नाका ।

९ चैत दाङ । कोरोना भाइरस संक्रमण रोकथामको प्रयासमा भारतसँग जोडिएका दाङका २६ वटै सीमानाका अनिश्चितकालका लागि बन्द गरिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भारतका अधिकारीहरुसँग छलफल गरी साना–ठूला गरी सबै २६ वटै नाका स्थिति सामान्य नहुन्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिए ।

शनिबारदेखि नै नाकाबाट आवतजावत बन्द गरी सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको टोलीलाई निगरानीका लागि खटाइएको उनले बताए ।

भारतसँग जोडिएको दाङको प्रमुख नाका कोइलाबास हो । तर गढवा र राजपुर गाउँपालिकामा साना–ठूला गरी २६ वटा नाका छन् ।

यसअघि प्रमुख नाका कोइलाबासमा हेल्थडेस्क स्थापना गरी स्वास्थ्य परीक्षण गरेर मात्र आवत–जावत गर्न दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले पनि भारतसँग जोडिएको नेपालगञ्जको जमुनाहा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यहाँ कार्यरत नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् । दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेपछि सरकारलाई भारतसँग जोडिएका सीमानाका पूर्ण रुपमा बन्द गराउने दबाब छ ।

यद्यपि गृह मन्त्रालयले नेपाल भित्रिने हरेक व्यक्तिको लगत राख्न र उनीहरु क्वारेन्टाइनमा बसे–नबसेको निगरानी गर्न निर्देशन दिँदै स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment