Comments Add Comment

प्रदेशसभा सदस्य गिरीले लिए शपथ

९ चैत, बुटवल । प्रदेशसभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधनपछि रिक्त पदमा निर्वाचित प्रदेशसभा सदस्य शंकर गिरीले आइतबार शपथ लिएका छन् ।

संसद सचिवालयमा प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले गिरीलाई शपथ खुवाएका हुन् । शपथ ग्रहणसँगै सभामुखले प्रदेशसभाको लोगोसहितको व्याच गिरीलाई लगाइदिएका छन् ।

शपथग्रहणपछि अब गिरीले प्रदेशसभा बैठकमा प्रवेश गर्न पाउनेछन् । शपथ ग्रहणमा आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी, सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी र संसदीय समितिका सभापतिहरुको उपस्थिति थियो ।

शपथग्रहणपछि बोल्दै सांसद गिरीले आफूले निष्ठाको राजनीति गरेको हुँदा पार्टीले न्याय गरेको बताए ।

गत माघ ५ गते ८२ वर्षको उमेरमा विपक्षी दलका नेतासमेत रहेका पोखरेलको फोक्सोको क्यान्सरबाट निधन भएपछि प्रदेशसभामा समानुपातिकतर्फ एक सदस्य पद रिक्त भएको थियो । सोही पदमा नेपाली कांग्रेसको सिफारिसमा निवार्चन आयोगको गत चैत २ गते बसेको बैठकले गिरी निर्वाचित भएको घोषणा गरेको थियोे ।

२०७४ सालको चुनावमा प्रदेशसभातर्फ समानुपातिक सूचीमा गिरीको नाम खस आर्यतर्फ दोस्रो नम्बरमा नाम रहेको थियो ।

तीन कार्यकाल नेपाली कांग्रेसको दाङ जिल्ला सचिवको रुपमा काम गरेका गिरी बाह्रौं महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए ।

पार्टीको नवौं महाधिवेशनदेखि निरन्तर महाधिवेशन प्रतिनिधि रहेका गिरीले १६ वर्षको उमेरमा २०२७ सालमा तुलसीपुरको राप्ती अञ्चलका अञ्चालाधीश कार्यालय परिसरमा कालो झण्डा गाडेर राजनीति सुरु गरेका थिए ।

२०३१ सालमा नेपाली कांग्रेसले हतियार उठाउँदा उनी पेस्तोलसहित गिरˆतार भएका थिए । २०३६ सालमा बहुदल प्रचार समिति दाङको सचिव रहेका गिरी ०४२ सालको सत्याग्रहमा जेल परेका थिए ।

शिक्षण पेशामा रहँदा १० वर्षसम्म सरकारी विद्यालयको प्रधानाध्यापक रहेका उनी राजीनामा दिएर २०७० सालमा संविधानसभा सदस्यमा समानुपातिकतर्फ उम्मेदवार बनेरका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment