Comments Add Comment

प्रदेश २ मा तयार भयो १८५ बेडको आइसोलेसन

९ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९)को त्रासलाई मध्यनजर गर्दै प्रदेश २ मा १८५ बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । प्रदेशका मुख्य–मुख्य अस्पतालमा आइसोलेसन बेड तयार गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी धनुषाको रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालमा ६० बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । जानकी मेडिकलकै सिटी अस्पतालमा २० बेडको तयार गरिएको छ भने जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ५ बेडको आइसोलेसन तयार गरिएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

उनका अनुसार वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० बेडको, नारायणी उपक्षेत्रीय अस्पताल र सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा १० बेडको आइसोलेसन तयार भइसकेको छ ।

सप्तरीको रायपुरस्थित यूनिक अस्पतालमा १० बेडको, सिराहाको लहानस्थित सप्तऋषि अस्पतालमा ५ बेडको आइसोलेसन तयार भएको छ । बारा अस्पतालमा पनि १५ बेडको आइसोलेसन बेड तयार भएको झाले बताए ।

थर्मल गनको अभाव

प्रदेश २ को आठै जिल्लाका ३० भन्दा बढी ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ । यद्यपि केही हेल्थ डेस्कमा मात्रै थर्मल गनको व्यवस्था छ । वरिष्ठ अधिकृत झा हरेक हेल्थ डेस्कमा थर्मल गन हुनुपर्ने बताए ।

झाका अनुसार वीरगञ्ज महानगरपालिकाले दुई वटा थर्मल गन आफैं खरीद गरी प्रयोग गरिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले १० वटा, सिराहाले ६ वटा थर्मल गन खरीद गरेको जानकारी आफूले पाएको उनले बताए ।

यस्तै, धनुषाको जटही नाकामा एउटा र महोत्तरीको भिठामोड नाकामा दुई वटा थर्मल गन राखेर जाँच हुँदै आएको छ । धनुषाको खजुरी नाकामा एउटा आवश्यक भएको उनले बताए ।

क्वारेन्टाइनको थालियो तयारी

शंकास्पद व्यक्तिलाई पहिला क्वारेन्टाइनमा लगेर राख्ने गरिन्छ । रिपोर्ट पोजेटिभ आएमा आइसेलोसनमा लगेर उपचार गरिन्छ । प्रदेश २ मा आइसोलेशन तयार भएपनि क्वारेन्टाइन हालसम्म निर्माण गरिएको छैन् । यसका निम्ति तयारी भने गरिसकिएको छ ।

धनुषाको जनकपुरधामस्थित बन्द रहेको मणीपाल शिक्षण अस्पताललाई क्वारेन्टाइन बनाइने भएको छ । जनकधपुरधाम उप महानगरपालिकाका मेयर लालकिशोर साहले यो अस्पतालमा ५० बेडको क्वारेन्टाइन बनाइने जानकारी दिए । उनका अनुसार झ्याल नरहेको यो अस्पतालका भवनमा झ्याल बनाउने, सरसफाई गर्ने काम सुरु गरिसकिएको छ ।

सप्तरी सदरमुकाम राजविराजमा भने बन्द रहेको साइकृष्णा मेडिकल कलेजमा क्वारेन्टाइन बनाइने भएको छ । यसका निम्ति सरोकारवालाहरुले शनिबार साइकृष्णा मेडिकल कलेजको अनुगमन गरेका छन् । लामो समयदेखि बन्द रहेको यो अस्पतालमा सरसफाई गरेर ५० बेडको क्वारेन्टाइन सञ्चालनमा ल्याइनेछ ।

वीरगञ्जमा पनि क्वारेन्टाइन बनाउने तयारी थालिएको छ । वीरगञ्ज १६ स्थित नेपाल आयुर्वेद मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा ५० बेडको क्वारेन्टाइन बनाउन सरोकारबालाहरु तयार भएका छन् ।

‘हामी पूर्वपश्चिम राजमार्ग अन्तर्गत प्रदेशको कम्तीमा पाँच ठाउँमा पनि क्वारेन्टाइन स्थापना गर्ने मनसाय बनाएका छौं’ स्वास्थ्य निर्देशनालयका अधिकृत झाले भने, “यसका निम्ति दातृ निकायहरुसँग आग्रह गरेका छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment