Comments Add Comment

स्वास्थ्यकर्मीलाई हौसला र उच्च मनोबल आवश्यक

कोरोना भाइरस अनियन्त्रित रुपमा विश्वभर फैलिइरहँदा सामाजिक सञ्जालमा एउटा सन्देशमुलक सामाग्री प्रेषित भएको छ । जसमा लेखिएको छ, ‘तबसम्म कोरोना तिम्रो घरमा प्रवेश गर्दैन, जबसम्म तिमी त्यसलाई लिनका लागि घर बाहिर जाँदैनौं ।’

यो सन्देश निकै सटिक, अर्थपूर्ण र मननिय छ । कोरोना भाइरस रोकथाम वा नियन्त्रणका लागि भरपर्दो विकल्प भनेको घरभित्रै वा एकान्तवास बस्नु नै हो । अर्थात सबैजना घरभित्र बस्ने, स्वास्थ्य र सरसफाईम ध्यान दिने, भिडभाडमा जनाने, जमघट नगर्ने हो भने कोरोनाको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्न सक्दैन । त्यसैले घरभित्रै सुरक्षित ढंगले बस्नु नै यसको लागि सबैभन्दा प्रभावकारी विधी हो ।

तर, यो छुट एवं चिकित्सा सेवामा रहेका वा स्वास्थ्यकर्मीहरुलाई छैन ।

स्वास्थ्यकर्मी घरबाहिर

यतिबेला स्वास्थ्यकर्मी पनि आफ्नो सुरक्षाको ख्याल गर्दै घरभित्र बस्ने हो भने संक्रमितको उपचार कसले गर्ने ? वास्तवमा दुनियाँ नै कोरोना भाइरससँग सुरक्षित रहन घरभित्रै बसिरहेको बेला स्वास्थ्यकर्मीहरु चाहि घरभित्र बस्न पाएका छैनन् ।

अर्थात स्वास्थ्यकर्मीहरु नै कोरोना बिरुद्ध खुला मैदानमा उत्रिनु परेको छ । लड्नु परेको छ । सामना गर्नुपरेको छ ।

सिर्जना जि.सी. खरेल

स्वास्थ्यकर्मीको लागि यो बाध्यकारी अवस्था मात्र होइन, चुनौती, अवसर, कर्तव्य र उत्तरदायित्व पनि हो । त्यसैले यसका लागि अरुले खटाएको भनेर नभई आफै स्वतस्र्फूत रुपमा आफ्नो जिम्मेवारी बहन गर्नु राम्रो हुन्छ ।

सुरक्षाको कुरा

एक हिसाबले स्वास्थ्यकर्मीसँग यतिबेला केही दवाब पनि छ । एकातिर आफ्नो पेशागत दबाव, अर्कोतिर घर परिवारको । एउटा स्वास्थ्यकर्मीसँग के जोखिम पनि रहन्छ भने आफु संक्रमित व्यक्तिको सम्पर्कमा पुगेमा त्यो संक्रमण आफ्नो घर–परिवारसम्म भित्रिन सक्छ । घरपरिवारले सकेसम्म घरभित्रै रहेको देख्न चाहन्छ भने पेशाले त्यो छुट दिदैन । यस्तो अवस्थामा केही मानसिक दबाव हुनु स्वभाविक हो ।

त्यसो त बजार पनि सुनसान हुँदै गएको बेला, धेरैजसो मानिस घरभित्रै सुरक्षित बसिरहेको बेला आफुहरु कार्यथलोमा खटिनुपर्ने अवस्थाले पनि केही खिन्नता पैदा गरेको हुनसक्छ । तर, अहिलेको अवस्थामा यी भावनात्मक कुराहरुलाई पन्छाएर यर्थाथसँग भिड्नुपर्नेछ । अहिलेको यर्थात भनेको अनियन्त्रित रुपमा फैलिएको कोरोना भाइरस नै हो ।

यसको संक्रमणलाई थप फैलन नदिन वा संक्रमितको उपचार गर्न नै हाम्रो पेशागत धर्म हो । यतिबेला हामीले ख्याल राख्नुपर्ने भनेको हामी आफ्नै सुरक्षाको पनि हो । हामी आफै पनि सुरक्षित रहेर स्वास्थ्य सेवामा खटिनुपर्नेछ । यसका लागि व्यक्तिगत सरसफाईदेखि सुरक्षात्मक विधीहरु पालना गर्नुपर्छ । चाहे त्यो कार्यलय र घर आउजाउ गर्ने क्रममा होस् वा कार्यथलोमा संभावित संक्रमितको रक्षार्थ काम गर्दा नै ।

आवश्यक छ हौसला र उच्च मनोबल

अहिले स्वास्थ्य सेवामा खटिएका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक आदिलाई हौसला दिनुपर्ने अवस्था छ । उनीहरुलाई बाध्यकारी ढंगले नभई सकारात्मक ढंगले काममा प्रेरित गर्नुपर्नेछ । साथसाथै उनीहरुको सुरक्षा, सुविधा आदिमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेछ ।

कतिपय स्वास्थ्यकर्मी घरबाट सार्वजनिक यातायात वा भिड छिचोल्दै कार्यथलो जानुपर्ने बाध्यतामा होलान् । कतिपय स्वास्थ्यकर्मीसँग सुरक्षा सामग्रीहरु उपलब्ध नहोला । कतिपयको आफ्नै शारीरिक बाध्यता पनि होला । उनीहरुको अवस्थालाई बुझेर न्यायोचित व्यवस्थापन गर्नु आवश्यक छ ।

त्यसो त स्वास्थ्यकर्मी आफैले पनि आफ्नो मनोबल उच्च बनाउनुपर्छ । किनभने हरेक समस्या वा चुनौतीहरुले आफुसँगै सुनौलो अवसर पनि लिएर आएको हुन्छ । यतिबेला समग्र स्वास्थ्यकर्मीहरुको लागि यो एउटा अवसर पनि हो ।

लेखक स्वास्थ्यकर्मी हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment