Comments Add Comment

भीआईपी रुख, जसको सुरक्षामा चौबिसै घण्टा खटिन्छन् सुरक्षाकर्मी

काठमाडौं । कुनै विशिष्ट व्यक्ति, सरकारी कार्यालय वा महत्वपूर्ण ठाउँहरुको सुरक्षामा सुरक्षाकर्मी खटिने गरेको त सामान्य नै हो । तर कुनै एउटा रुखको सुरक्षामा २४ सै घण्टा सुरक्षाकर्मी खटिन्छन् भन्ने सुन्नुभयो भने पत्याउन गाह्रो पर्ला ।

तर भारतको मध्यप्रदेशमा चाहिँ एउटा यस्तै रुख छ, जसको चौबीसै घण्टा सुरक्षाकर्मीले पहरा दिन्छन् । उक्त रुखको सुरक्षामा वार्षिक लाखौँ खर्च हुन्छ ।

मध्यप्रदेशको राजधानी भोपाल तथा विदिशाको बीचमा पर्ने सलामतपुरको पहाडी क्षेत्रमा एउटा यस्तो रुख छ, जसले भीआईपी नेता सरह सुरक्षा पाएको छ ।

सो रुखको सुरक्षामा चारदेखि पाँच जनासम्म सुरक्षाकर्मी दिनरात तैनाथ हुन्छन् । यो रुखको सिँचाइका लागि स्थानीय नगरपालिकाको तर्फबाटै अलग्गै पानी ट्यांकरको व्यवस्था गरिएको छ । त्यस्तै कृषि विभागका अधिकारीहरु पनि रुखको जाँचका लागि हरेक हप्ता अउँदछन् । यो रुखको सुरक्षा तथा संरक्षणमा वर्षेनी १५ लाख भारुसम्म खर्च हुने गरेको छ ।

यो भीआईपी रुख पिपलको रुख हो । यसलाई बोधीवृक्ष भनिन्छ । सन् २०१२ मा तत्कालीन श्रीलंकाली राष्ट्रपति महिन्दा राजपक्षेले गरेको भारत भ्रमणका क्रममा उक्त रुख रोपेका थिए । इशापूर्व ५३१ मा भगवान गौतम बुद्धलाई पिपलको रुखमुनि ध्यान गरिरहेको बेला नै बुद्धत्व प्राप्त भएको थियो । त्यसैले बौद्ध धर्माबलम्बीहरुले यसलाई निकै महत्व दिन्छन्।

गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको उक्त बोधीवृक्ष भारतको बिहारस्थित गया जिल्लामा थियो । उक्त रुखलाई कैयन् पटक नष्ट गर्ने प्रयास गरिएको थियो तर जतिपटक ढालेपनि नयाँ आँकुरा पलायो । यद्यपि सन् १८७६ मा प्राकृतिक प्रकोपका क्रममा उक्त पुरानो रुख नष्ट भएको थियो । सन् १८८० मा अंग्रेज शासक लर्ड कनिंघमले श्रीलंकाको अनुराधापुरमबाट बोधीवृक्षको विरुवा मगाएर त्यसलाई पुरानो रुख भएकै ठाउँमा रोपे । जुन अहिले पनि रहेको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment