Comments Add Comment

बसिबियालो : पाहुना ? निसंकोच ‘हुन्न’ भनौं

आफन्तकहाँ पाहुना लाग्नु र इष्टमित्रलाई घरमा निम्तो गर्नु दुबै स्वास्थ्यका लागि हानिकारक छ

आफ्नो पेशा, व्यवसाय, उद्यम, कामधन्दाबाट सबैले विश्रम पाएका छन्, कम्तीमा एक साताका लागि । हिँडडुल गर्न, घुमफिर गर्न, आउजाउ गर्न, जमघट गर्न अनुपयुक्त समय हो यो । त्यसैले साताभर घरमित्रै बस्नुपर्नेछ । मान्नुहोस्, यो एक व्यवसायिक विश्राम हो ।

तर, यसलाई हाँइसञ्चो नठानौं । दशैं–तिहार जस्ता उत्सव पनि नसोचौं । ‘अब फुर्सद भयो रमाइलो गर्नुप¥यो’ भन्ने मूर्खतापूर्ण निर्णय पनि नगरौं ।

किनभने यो कुनै उत्सव मनाउनका लागि दिइएको फुर्सद वा छुट होइन । संभवित जोखिमबाट बच्नका लागि अपनाइएको सर्तकता हो । घुमफिर गर्दा, हिँडडुल गर्दा, किनमेल गर्दा, जमघट गर्दा मात्र होइन, दैनिक कामकाज गर्दा समेत एकअर्कामा रोगको संक्रमण फैलन सक्छ भनेर अपनाइएको सावधानी हो ।

यसलाई हामीले स्वःविवेकले स्विकार्नुपर्छ । घरबाट निस्कनु, घुमफिर गर्नु, जमघट गर्नु भनेको नियमको उल्लंघन गर्नु मात्र होइन आफु र आफ्नो समुदायलाई जोखिममा पार्नु पनि हो । त्यसैले यतिबेला न्युनतम मानविय व्यवहारको खाँचो छ । न्युनतम सामाजिक उत्तरदायित्वको खाँचो छ ।

सरकारले आह्वान गरेको छ कि, ‘सबैजना घरभित्रै बसौं । अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कने नगरौं ।’ यो तपाईं÷हाम्रैै सुरक्षाका लागि तय गरिएको व्यवस्था हो । जबकी अहिले पनि कतिपयले अटेर गरिरहेका छन् । घरबाहिर हिँडडुल गरिरहेका छन् ।

कतिपयलाई लाग्दो हो, यही मौकामा आफन्त, इष्टमित्र, साथीभाईलाई निम्तो गरौं । यसो रमाइलो गर्दै मिठो–मसिनो खानुप¥यो, भलाकुसारी गर्नुप¥यो, रमाइलो गर्नुप¥यो ।

कतिपयलाई आफन्तले निम्तो गरेका पनि हुनसक्छ । पारिवारिक जमघटको योजना बनाएका पनि हुनसक्छ । तर, यो संवेदनशिल क्षणमा तपाईं हामीले कठोरताका साथ भन्नुपर्ने हुन्छ कि, ‘पाहुना जाने र आउने नगरौं ।’

आफन्तकहाँ पाहुना लाग्नु र इष्टमित्रलाई घरमा निम्तो गर्नु दुबै स्वास्थ्यका लागि हानिकारक छ ।

त्यसैपनि अहिले सबैकुरा ठप्प छ । यतिबेला खाद्यन्न लगायत जोहो गर्नुपर्ने हुन्छ । खाना पकाउने ग्याँस, दालचामल, सासगसब्जी, पानी आदि सुरक्षित गर्नुपर्ने बेला छ । भोलिका दिनमा संकट लम्बिन सक्छ । त्यसबेला हाम्रो घरमा महासंकट पनि आउन सक्छ । अर्कोकुरा आफुले मात्र भएभरको खानेकुरा वा आवश्यक कुराको थुप्रो लगाउनु सामाजिक व्यवहार होइन । मानविय व्यवहार होइन । यतिबेला एकअर्काको साथ र सहयोग पनि आवश्यक हुन्छ । सबैजना मिलिजुली संकटको सामना गर्नुपर्ने बेला हो ।

त्यसैले संयमित, मर्यादित र अनुशासित भएर जीवनयापन गरौं । मोजमस्ती गर्ने वा तडकभडक गर्ने  बेला होइन यो । खासगरी आफन्त, इष्टमित्र, साथीभाईलाई पाहुना बोलाउने नगरौं । आफु पनि अरुको घरमा पाहुना लाग्ने नगरौं । यति बाध्यत्मक अवस्था छ भने बेग्लै कुरा । तर, पाहुनापात लाग्दा एकातिर अनावश्यक खानेकुरा खपत हुन्छ । त्यो भन्दा बढी स्वास्थ्य जोखिम हुन्छ । घरबाहिर निस्केर हिँडडुल गर्दा त्यसैपनि कोरोना भाइरस सर्ने भय छ । त्यसमाथि पाहुना लाग्दा फलफूल वा कोसेली खरिद गर्नै प¥यो । त्यस क्रममा पनि भाइरस फैलने भय हुन्छ । त्यसैले यतिबेला पाहुना आउँदैछन् भने वा कसैले पाहुनाको रुपमा बोलाउँदैछ भने निसंकोच भन्नुहोस्, ‘अहिले त मरिगए हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment