Comments Add Comment

बसिबियालो : तपाईंको दैनिकी पट्यारलाग्दो कि रचनात्मक ?

अचानक हाम्रो दिनचर्या बद्लिएको छ । हिजो धपेडी थियो, आज फुर्सद । कामधन्दा गरिहेका कतिपयलाई लाग्न सक्छ, दिनभर के गर्दै बस्ने हो ? कतिदिन बस्ने हो ? कसरी समय कटाउने हो ?

भनिन्छ नि, खाली दिमाग सैतानको घर । तपाईंको हकमा यस्तो नहोस् ।

उद्यम–व्यवसाय गरिरहने व्यक्तिहरुमा एक किसिमको कामको लय पनि हुन्छ । यसरी फुर्सदमा बस्नुपर्दा उनीहरुलाई आफ्नो. लय छुटेको झै लाग्नसक्छ । कतिपयलाई कुनै काम नगरी बस्दा एक किसिमको छटपटी पनि हुनेगर्छ ।

केही क्षण फेसबुकमा एकोहोरिनुभयो होला, जहाँ कोरोनाभन्दा केही देख्नुभएन । एकछिन पुस्तक पढ्नुभयो होला । एकछिन टिभी हेर्नुभयो होला । एकोहोरो एउटै कुरा हेरिरहँदा दिक्क लाग्यो होला । हाई काड्दै ओछ्यानमा लम्पसार पर्नुभयो होला । निद्रा लागे पो ! छटपटी भएको हुनसक्छ ।

तर, हामीसँग यस्ता विकल्प छन् जसले पट्यारलाग्दो दिनलाई रचनात्मक बनाउन सकिन्छ । रहरलाग्दो बनाउन सकिन्छ ।

नयाँ–नयाँ परिकार बनाउने कि ?

तपाईं खानेकुराको सौखिन हुनुहुन्छ भने यो विकल्प तपाईंको लागि काइदा हुन्छ । फुर्सदको यो क्षणमा तपाईंले आफ्नो समय भान्सामा बिनाउनु उपयोगी हुन्छ ।

भान्सामा के कस्तो सामाग्री उपलब्ध छन्, त्यही अनुसार परिकारको योजना बनाउन सकिन्छ । अहिले युट्युबमा पनि खानेकुराको रेसेपी सजिलै पाउन सकिन्छ । युट्युबबाट वा आफ्नै ढंगले पनि तपाईं नयाँ नयाँ परिकार बनाएर परिवारलाई चखाउन सक्नुहुनेछ । खानेकुरासँग खुसी पनि मिसिएको हुन्छ । परिवारलाई खुसी तुल्याउने एउटा काइदा पनि त हो यो ।

त्यसो त तपाईं परिवारसहित मःम वा यस्तै संयुक्त रुपमा बनाउन सकिने खानेकुरा बनाउन पनि सहभागी हुन सक्नुहुनेछ । खानेकुरा खाएर त्यसको स्वाद लिनु आफ्नो ठाउँमा छ, खानेकुरा बनाउनु पनि सानोतिनो उत्सव नै हो । के तपाईंलाई यस्तो काममा जाँगर चल्छ ?

घर–कोठालाई नयाँ सजावट दिनुहोस्

तपाईंले यो फुर्सदलाई केही श्रम र सीपमा रुपान्तरण गर्न सक्नुहुनेछ । साथसाथै सिर्जनामा पनि । अहिले तपाईंको घरको आन्तरिक सज्जा जुन अवस्थामा छ, त्यो महिनौंदेखि वा बर्षौंदेखि उस्तै हुनसक्छ । सोफा, टिभी, दराज, पलंग, फोटो, फूल, भास सबै यथास्थानमा रहेको महिनौं भएको हुनसक्छ ।

अब तपाईं यसलाई केही परिवर्तन गर्नुहोस् । सोफा, पलंग, फूल, गमला, फोटोको ठाउँलाई फेरबदल गर्नुहोस् । यसले घरलाई केही नयाँपन दिलाउनेछ । अनि परिवारलई खुसी पनि ।

बगैंचा वा फूलबारी बनाउनुहोस्

कतिपयलाई घरभित्र खासगरी भान्साको काम त्यती रुचीकर लाग्दैन । त्यसो हो भने बगैंचाको स्यहारसुसारमा लग्नुहोस् । बगैंचामा रोपिएका बोट बिरुवा स्यहार्ने, काटछाँट गर्ने, मलजल गर्ने गरौं । फूलहरु रोप्ने, स्यहार्ने गरौं । अर्को गजबको काइदा के भने घरमा भएका प्लाष्टिक वा थोत्रो प्लाष्टिकको भाँडा, बाल्टिन आदिमा माटो भरेर धनियाँ, सागसब्जी रोप्न सक्नुहुनेछ । आफ्नै हातले रोपेको, उत्पादन गरेको खानु कम स्वाद हुन्छ ?

लुगाफाटो सिलाउने, मिलाउने

भलै तपाईंसँग लुगाफाटो पुगिसरी हुनसक्छ । तर, कतिपय लुगा फाटेको वा च्यातिएको होला । कतिपय लगाउन नमिल्ने भएको होला । दिनभर त्यसै बस्नुभन्दा लुगाफाटो सिलाउने, मिलाउने काम गर्न उचित हुन्छ । आफुसँग भएको लुगाफाटोलाई पुनःप्रयोग गर्ने वा जतन गर्ने काइदा पनि हो यो ।

त्यसो त नयाँ लुगालाई पनि तपाईंले मोडिफाई गर्न सक्नुहुनेछ । यसका लागि सियो–धागो र कैचीमा तपाईंको हात अभ्यस्त हुन जरुरी छ ।

खोज्दै र सोच्दै जाने हो भने यस्ता अनेकन काम हुन्छ, जसले तपाईंको दिनलाई रचनात्मक र सक्रिय बनाउँछ । यी कामहरु गरिरहँदा तपाईंले आफ्ना बालबच्चालाई सहभागी गराउनु अरु उपयोगी र प्रभावकारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment