Comments Add Comment

भारतबाट आएका २७ जना रानी नाकामा अलपत्र

महानगरले बाँड्यो चिउरा

११ चैत, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानीमा भारतबाट फर्किएका २७ जना नेपाली अलपत्र परेका छन् ।

मंगलबार बिहानैदेखि नाकामा बसिरहेका उनीहरुलाई स्थानीय प्रशासनले नेपाल आउन दिएको छैन् । ‘ कटिहारबाट सफारीमा नाकासम्म आयौं,’ विराटनगरका ब्रम्हदेव साहले भने, ‘ नेपाल जानै पाइएन् ।’ उनीसँगै २७ जना नाकामै रोकिएका छन् । रोकिएका मध्ये १९ जना गुजरातबाट नेपाल आएका हुन् । मंगलबार बिहान झिसमिसेमै नाकामा आएका उनीहरु खाना नपाएर अलपत्र अवस्थामा छन् । तीन दिन यात्रा गर्दै नेपाल आएका उनीहरुले घर आउन पाउनुपर्ने बताए ।

नाकामै रोकिएकाहरुलाई विराटनगर महानगरपालिकाबाट स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीले चिउरा र भुजिया दिएका छन् । भोकै बसेका उनीहरु नेपाल आउने आशामा छन् ।

नाकामा बिरामी लिएर आएकाहरु पनि रोकिएका छन् । मोरङ उर्लाबारीकी होमा राई बुबालाई दिल्लीमा उपचार गरी फर्किएकी हुन् । तर उनी पनि नाकामै राकिएकी छन् । ‘तीन दिनबाटोमा थियौं केही जानकारी भएन्,’ उनले भनिन्, ‘राज्यले यसरी अलपत्र छोड्न मिल्दैन् ।’

उनी मात्र होइन मंगलबार बिहान झिसमिसेमै रानी आइपुगेका अन्य २५ जना नेपाल प्रवेश गर्ने गेटमा बसिरहेका छन् । उनीहरुलाई भारतीय पक्षले छोडेको छ । नेपाल पक्षले रोकेका कारण दशगजामा बसिरहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार बिहानबाट २७ जना नाकामा राकिएका हुन् ।

प्रजिअ प्रदेश देखाउने, प्रदेश गृहको मुख ताक्ने

नाकामा अलपत्र रहेका नेपालीलाई के गर्ने भन्ने प्रश्नमा मोरङका प्रमुख मदन भुजेल प्रदेश सरकारले जवाफ दिने बताउँछन् । ‘मलाई भन्दा पनि एक पटक सामाजिक विकास मन्त्री र आन्तरिक मामिला मन्त्रालयमा बुझौं न,’ मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने, ‘मैले त कसरी बोलौं ।’

यता प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव हरिप्रसाद मैनाली नाकाको विषय गृहमन्त्रालयले हेर्ने भएका कारण प्रमुख जिल्ला अधिकारी नै जवाफदेही हुने बताउँछन् । ‘सीमा नाका प्रदेशले हेर्दैन्,’ उनले भने, ‘गृहमन्त्रालयले हेर्छ । एक पटक प्रजिअलाई बुझौं न ।’

प्रदेश र संघीय सरकारका प्रतिनिधि जवाफदेही हुनबाट पन्छिरहँदा नाकामा अलपत्र हुने नेपालीमा आक्रोश बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment