Comments Add Comment

कोरोनाको महामारी : गाउँघरका आमाबुबालाई सन्तान भेट्ने मेलो !

तनहुँका सुदेश श्रेष्ठ घर नजिकै भएपनि गाउँ नगएको दुई वर्ष भएको थियो । घरमा आमा र बुबासँग कुराकानी त हुन्थ्यो । २५ वर्षीय उनी लोकसेवा आयोगको तयारीको लागि भन्दै घर नगएको धेरै भएको थियो । तर, उनलाई लोकसेवामा नाम निकालेपछि मात्रै घर जाने योजना कोरोना भाइरसले तुहाइदियो । गत आइतबार उनी दुई वर्षपछि घर पुगे ।

उनी जस्तै तीन/चार जना थिए उनका साथीहरु । सरकारले सोमबारदेखि लामो दुरीको सवारी नचल्ने भनेर घोषणा गरेसँगै त्रिविको कीर्तिपुरमा रहेको छात्राबासले आइतबारसम्म सबै कोठाहरु खाली गर्न भनेपछि धेरै घर फर्किन थाले ।

अहिले विद्यार्थीहरु मात्रै नभएर विभिन्न सेवामा कार्यरतहरुसम्मलाई पनि अहिले घर जाने बाहाना जुरेको छ । यतिबेला घर जान मन नलाग्नेहरुलाई समेत कोरोनाको त्रासका कारण घर जानै पर्ने अवस्था आएको छ । यसले घरमा बाबुआमाहरुले छोराछोरी भेट्ने मौका पाएका छन् । एक्लै बस्ने बाबुआमाहरुले केही दिनको लागि भएपनि साहारा पाएका छन् ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पको समयमा वर्गीय रुपमा तलमाथि रहेकाहरुबीचको दुरी धेरै हदसम्म कम भएको थियो । पैसालाई नै भावनासँग दाँज्नेहरुको लागि त्यो एउटा मीठो पाठ बनेको थियो । लगभग त्यस्तै स्थिति यतिबेला आएको छ । भूकम्पको जस्तो सबैलाई सडकमा ल्याउने अवस्था नभएपनि अहिले समेत धेरैलाई भावनात्मक चेत भर्ने एउटा परिघटनाको विकास भएको छ ।

कोरोना भाइरसका कारण विश्वभरीको जनजीवन प्रभावित भएको छ । नेपालमा शहरी भेगबाट ज्यान जोगाउनकै लागि गाउँ जानेहरुको संख्या धेरै हुँदा शहर सुनसान छ । मुख्य पर्वहरुमा समेत घर जान नमान्नेहरु कोरोना भाइरसको महामारीको समयमा घर फर्किँदैछन् । यसले एउटा आत्मीयता र गाउँघरप्रतिको माया भने बढाएको छ । यतिबेला गाउँमा रहेका आमा बुबाहरु एक्लै हुन छाडेका छन् ।

भूकम्पको समयमा जसरी मुलुक भित्रका धनी र गरिबहरुको समेत एउटै ठाउँ सडकमा बास भएको थियो । त्यसरी नै यो महामारीको समयमा धनी मुलुकहरु र गरिबमुलुकहरुको बीचमा समेत समान भाव देखिन थालेको छ । यसको प्रभाव धनीदेखि गरिबदेशका मानिसहरुसम्मलाई परेको छ । यही कोरोनाका कारण नै विश्व शक्तिराष्ट्रको रुपमा रहेको अमेरिका समेत यो भाइरसको कारण आक्रान्त बनेको छ ।

गाउँ घरका आमाबाबुहरुलाई छोरा छोरी भेट्ने यस्तो अवसर नेपालमा मात्रै होइन । छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरसका कारण पारिवारिक सद्भावमा बृद्धि भएको भारतीय सञ्चारमाध्यमहरु बताउँछन् । भारतमा समेत पछिल्लो केही सातादेखि तीब्र रुपमा कोरोनाबाट प्रभावित छ ।

यही कारणले त्यहाँ समेत कार्यालय र स्कूलहरु बन्द भएका छन् । जसले गर्दा शहरमा बसेका मानिसहरु समेत गाउँ फर्किन थालेका छन् । यसरी गाउँमा एक्लै भएका आमाबाबुहरु समेत यतिबेला एक्लै हुन छाडेका छन् ।

यतिबेला जसरी नेपालमा कोरोनाले पारिवारिक मिलन गराउने काम गरेको छ । यही अवस्था अमेरिकामा समेत रहेको सिएनएनले जनाएको छ । अमेरिकीहरु समेत यतिबेला कोरोनालाई पारिवारिक मिलनको अवसरको रुपमा लिन थालेका छन् ।

व्यस्त जीवनशैलीका कारण स्वायत्त रुपमा परिवारबाट भिन्न हुनेहरु यतिबेला परिवारको साथमा घुम्न थालेका छन् । सिएनएनले हार्डवर्ड, याले जस्ता विभिन्न विश्व विद्यालयका विद्यार्थीहरुको जीवनशैलीलाई समेटेर तयार पारेको विवरण अनुसार अमेरिकीहरुलाई कोरोनाले सामान्य जीवनशैलीमा फर्किनको लागि सचेत गराएको बताउने गरेका छन् ।

उनीहरु पढाइलाई केही समयको लागि बिश्राम गरेरै भएपनि सामान्य जीवनशैली र परिवारसँगको मिलनलाई प्राथमिकता दिएको बताएका थिए । अमेरिका पनि यतिबेला कोरोनाको कारण आक्रान्त बनेको छ । स्थानीय सरकार र राज्य सरकारहरुले भीडभाड कम गर्नको लागि स्कूल क्याम्पसहरु बन्द गरिसकेको छ ।

यही जनवरीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएपछि अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितहरुको संख्या १७०० नाघिसकेको छ । बढी संक्रमितहरु रहेको तीन राज्य बाहेक सबै राज्यहरुमा कम्तिमा एउटा भने संक्रमण देखिएको छ । जर्जिया लगायतका राज्यहरुमा भने कोरोना संक्रमितहरुको मृत्यु भयो ।

कन्सास शहरमा नजिकै एक ७० वर्षीय व्यक्तिको ज्यान गयो । अमेरिकामा बितेका दिनहरुमा रोगको फैलावटका कारण व्यवसायीहरुले कर्मचारीलाई घरबाट नै काम गर्नको लागि समय दिएका छन् भने प्रमुख खेलका कार्यक्रमहरु रद्द गरिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment