Comments Add Comment
काठमाडौंका सीडीओको चेतावनी :

‘लकडाउन उल्लंघन गर्नेविरुद्ध निर्मम बन्छौं’

लकडाउनबारे आज समीक्षा हुन्छ र आवश्यक परे थप निर्णय हुन्छ : प्रजिअ दाहाल

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल । फाइल फोटो

१२ चैत, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनको अवज्ञा गर्दै विनाकारण घरबाहिर निस्किनेलाई ६ महिना जेल हाल्ने चेतावनी दिएका छन् ।

कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिए पनि कतिपयले हल्काफुल्का रूपमा लिएको भन्दै उनले अवज्ञा गर्नेहरुविरुद्ध प्रशासन निर्मम बन्ने चेतावनी दिए ।

पहिलोपटक मंगलबार लकडाउन गरिएकाले त्यसको समीक्षा गर्दै आजबाट यसलाई थप प्रभावकारी बनाउने उनले बताए ।

‘कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको लकडाउनमा घरबाहिर ननिस्कन सबैमा आग्रह गरेका छौं । यदि विनाकारण घरबाट निस्किएर कसैले यसको अवज्ञा गर्छ भने त्यस्ता मानिसलाई ६ महिना जेल हाल्छौं,’ प्रजिअ दाहालले अनलाइनखबरसँग कुरा गर्दै भने ।

यद्यपि, उनले लकडाउनको अवज्ञा फाट्टफुट्ट भए पनि अधिकांशले  घरभित्रै बसेर साथ दिइरहेको बताए ।

यो पनि पढ्नुहोस सावधान ! लकडाउन उल्लंघन गरे ६ महिना कैद हुनसक्छ

मूल सडकमा लकडाउनको पालना भए पनि काठमाडौंका भित्री क्षेत्रमा चहलपहल यथावत् छ नि भन्ने अनलाइनखबरको जिज्ञासामा उनले सुरक्षाकर्मी परिचालन गरेर भित्री क्षेत्रमा पनि आजबाट थप निगरानी बढाइएको जानकारी दिए ।

‘हामीले काठमाडौंका मूल सडकसँगै सबैजसो भागमा निगरानी गरिरहेका छौं । कसैले लकडाउनको अवज्ञा गर्छन् भने हामी छाड्दैनौं,’ प्रजिअ दाहालले भने । आज लकडाउनको समीक्षा गरेर थप निर्णयहरू लिने उनको भनाइ छ ।

प्रजिअ दाहालसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

लकडाउनको आज दोस्रो दिन । कस्तो छ राजधानीको अवस्था ?

मंगलबारको भन्दा आज काठमाडौंको अवस्था शान्त छ । अहिलेसम्म जबरजस्ती गर्नु परेको छैन । हाम्रो आग्रहलाई सबैजसोले साथ दिइरहनु भएको छ ।

मूल सडक र क्षेत्रहरूमा लकडाउनको पालना भए पनि भित्री क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको देखिन्छ नि ?

हामीले सबैतिर लकडाउन घोषणा गरेका हौं । जिल्लाका कतिपय भित्री क्षेत्रमा यसको पालना नभएको कुरा आएको छ । आजबाट हामीले निगरानी बढाएका छौं । यदि कसैले सरकारी निर्णयको अवज्ञा गर्छन् भने कारबाही गर्छौं ।

कस्तो कारबाही गर्नुहुन्छ ?

विश्वव्यापी रूप लिएको कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम कम गर्न हामीले यस्तो निर्णय लिएका हौं । आमनागरिकले आफ्नो स्वास्थ्यका लागि सरकारले लकडाउन गरेको अर्थमा बुझ्दै सहयोग गर्नुपर्छ । यदि कोही यसको अवज्ञा गरेर विनाकारण घरबाट बाहिर निस्कन्छन् भने ६ महिनासम्म जेल हाल्ने अधिकार छ ।

कतिपय जिल्लाहरूमा लकडाउनको अवज्ञा भएपछि कर्फ्यू लगाइएका छन् । काठमाडौंमा यस्तो सम्भावना छ कि छैन ?

लकडाउनको दोस्रो दिनमा हामी छौं । यसबारे आज समीक्षा हुन्छ र, आवश्यक परे थप निर्णय हुन्छ ।

अहिले ग्यास, इन्धन, मास्क लगायतको पनि अभाव देखिन्छ । यसलाई कसरी लिनु भएको छ ?

कालोबजारी भएको भन्ने गुनासा आएका छन् । यसलाई हामीले गम्भीर रुपमा लिएका छौं । जसले अनियमितता गर्छ, कालोबजारी गर्छ, त्यसलाई कानुनअनुसार सजायँ गरिन्छ । सरकारले आम उपभोक्तालाई सहज ढंगले अत्यावश्यक चिजहरु उपलब्ध गराउँछ । कोही पनि आत्तिनु पर्दैन । अहिले सबैलाई घरभित्रै बसेर सहयोग गरिदिन म अनुरोध गर्दछु ।

यो पनि पढ्नुहोस लकडाउनको दोस्रो दिन : उपत्यकाबाट बिहानै ३०२ सवारीसाधन नियन्त्रणमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment