Comments Add Comment

इटालीमा एक हजार प्रतिशत बढ्यो फेसबुक भिडियो कल

१२ चैत, काठमाडौं । इटालीमा लकडाउनको कारण सामाजिक सञ्जाल फेसबुकमा भिडियो कल गर्नेको संख्या अत्यधिक बढेको छ । फेसबुकले दिएको जानकारी अनुसार इटालीमा मानिसहरुलाई घर बाहिर आउन प्रतिबन्ध गरिएपछि भिडियो कल गर्नेको संख्या झण्डै एक हजार प्रतिशतले बढेको हो ।

फेसबुकका अनुसार भाइरसको प्रभाव सबैभन्दा धेरै देखिएका मुलुकमा समग्र म्यासेजमा पनि औसतमा ५० प्रतिशतले बढेको छ ।

तर, अत्यधिक मात्रामा फेसबुकको प्रयोग बढे पनि विज्ञापनमा भने कमी आएको छ । फेसबुकले भने धेरै मानिसहरु जोडिएका क्षेत्रमा आफ्नो सेवामा थप सुधार गरेको दाबी गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को कारण अहिलेसम्म इटालीमा ६ हजार आठ सय २० जनाको मृत्यु भइसकेको छ । मुलुकभर भाइरस संक्रमितको संख्या पनि ६९ हजार कटिसकेको छ । भिडियो कलका साथै फेसबुकमा बिताउने समय पनि बढेको छ ।

अहिले इटालीमा फेसबुकको स्वामित्वमा रहेका सामाजिक सञ्जालमा मानिसले बिताउने समय पनि ७० प्रतिशत बढेको छ ।
फेसबुकले आफ्नो सेवाको माग बढेसँगै आफ्नो क्षमता पनि बढाइरहेको छ ।

फेसबुकले आफ्नो सञ्जालमा हुने गरेका गतिविधिको पनि निगरानी गरिरहेको बताएको छ । फेसबुकले युरोपमा आफ्नो भिडियो क्वालिटी घटाएको छ ।

इन्टरनेट सेवा प्रदायकको माग कम गर्न उसले यस्तो निर्णय गरेको हो । अमेजन, एप्पल टीभी र नेटफ्लिक्सले पनि सोही नियमलाई पछ्याएका छन् ।

भिडियो क्वालिटी घटाउँदा कम डाटामा नै भिडियो चल्छ, जसले इन्टरनेट सेवा प्रदायकलाई कम भार पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment