Comments Add Comment

लकडाउनले इन्टरनेटको खपत ५० प्रतिशतले बढ्यो, माग अझै उकालो ग्राफमा

१२ चैत, काठमाडौं । मुलक लकडाउन भएपछि इन्टरनेटको खपत सामान्य अवस्थाको भन्दा ५० प्रतिशतले वृद्धि भएको छ । सबै नागरिक घरभित्रै बसेपछि इन्टरनेटको प्रयोगमा उच्चतम् वृद्धि भएको इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघ (इस्पान)ले जनाएको छ ।

यसैकारण इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सकेसम्म कम इन्टरनेटको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड १९)को जोखिम बढेसँगै सरकारले लकडाउन घोषणा गरेपछि धेरैले समय कटाउन इन्टरनेटको सहारा लिइरहेका छन् ।

यसका कारण ‘ब्यान्ड विथ’को माग धान्न हम्मे-हम्मे परेको इन्टरनेट सेवा प्रदायकहरु बताउँछन् ।

इन्टरनेट सेवा प्रदायक संघ इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्ट खपतको दर बढ्दो रहेको बताउँछन् । उनले यही दरमा खपत बढ्दै गए माग धान्न नै समस्या हुने उनको भनाइ छ । अहिले कार्यालयहरु बन्द हुँदा सेवा प्रदाकयलाई माग अनुसार खपत व्यवस्थापन गर्न केही सहज भने भएको छ ।

‘हामीसँग दोब्बरसम्म माग र खपत धान्ने क्षमता छैन,’ उनी भन्छन्, ‘प्रयोगकर्ता बढेपछि इन्टरनेट स्लो हुने लगायतका समस्या देखिन्छ ।’

उनले जोखिमका कारण घर-घर गएर मर्मत गर्ने काम बन्द गरिएकाले घरभित्रको राउटर लगायतका इन्टरनेट डिभाइस चलाउँदा सचेत हुन आग्रह गरे । घर-घरमा पुगेर गरिने मर्मत रोकिए पनि फाइबरमा देखिएको समस्या समाधानका लागि टोली परिचालन गरिएको भट्टले बताए ।

इस्पानले सकेसम्म सूचनाका लागि मात्रै इन्टरनेट चलाइदिन आग्रह गरेको छ । सूचना लिनबाहेकको प्रयोजनमा भिडियो हेर्न, डाउनलोड र अनलाइन गेम खेल्ने लगायतमा इन्टरनेट प्रयोग नगर्न समेत इस्पानले आग्रह गरेको हो ।

‘भारतबाट तत्काल ब्यान्ड विथ बढाएर ल्याउन पनि गाह्रो छ, इन्टरनेटको ब्यान्डविथको खपत भारतमै बढेको छ,’ इस्पानका अध्यक्ष भट्टले भने, ‘हाम्रो कारण पनि जति माग भयो त्यति धान्न सक्ने अवस्थामा छैनन्, थप उपकरण राख्न अहिले सामान ल्याइहाल्ने अवस्था पनि छैन ।’

इन्टरनेट सेवा प्रदायकले अहिले संक्रमणको जोखिमले घर-घर गएर इन्टरनेट मर्मतको काम गर्न सकिने अवस्था नरहेको पनि बताएको छ । तर अनलाइनमार्फत मर्मतका लागि गर्न कन्जुस्याइँ नहुने अध्यक्ष भट्टले बताए ।

उपभोक्ताहरुलाई बिल भुक्तानीका लागि अनलाइन पेमेन्टका सुविधा प्रयोग गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment