Comments Add Comment

बसिबियालो : तपाईं कस्तो मान्छे ?

कुनैपनि मान्छेको पहिचान कसरी हुन्छ ? हाम्रो तौर–तरिका यस्तो छ । अक्सर कुनैपनि मान्छेलाई पहिचान गर्नका लागि हामी सोध्छौं, कुन जातको ? कुन खानदानको ? कुन ठाउँको ?

त्यो भन्दा पनि आवरण हेरेर हामी मान्छेको मूल्यांकन गर्छौं । मूल्यांकन मात्र गर्दैनौं, सोही अनुरुपको व्यवहार पनि गर्छौं ।

जस्तो कुनै मान्छे चिल्लो–चाप्लो, मोटोघाटो, सुकिलो–मुकिलो छ भने हामी उनको सामुन्ने आदरपूर्वक व्यवहार गर्छौं । उनको त्यो आवरण देखेपछि हामीलाई लाग्छ, यो मान्छे गतिलै हुनुपर्छ ।

त्यस्तै ख्याउटे, सामान्य मान्छेको सामुन्ने हामी आफुलाई हुनेखाने, जान्नेबुझ्ने देखाउने चेष्टा गर्छौं ।

अर्कोतिर हामीकहाँ मान्छेको वर्गिकरण गर्ने अनेक तरिका छन् । कसैलाई जातको आधारमा, कसैलाई खानदानको आधारमा, कसैलाई उनले प्राप्त गरेको शैक्षिक योग्यताको आधारमा ठूलो–सानो, राम्रो–खराब भनेर छुट्याउने गरिन्छ ।

जबकी कुनैपनि मान्छेलाई चिन्ने, बुझ्ने, जान्ने एउटै आधार हो, गुण ।

मान्छेको बानी–व्यवहार, प्रवृत्ति, सोंच–चिन्तन सबै कुरा उनको गुण हो । अतः हाम्रा पौराणिक शास्त्रले गुणको आधारमा मान्छेको पहिचान गर्न सकिने उल्लेख गरेको छ । शास्त्रले मान्छेको तीन किसिमको गुणबारे चर्चा गर्छ ।

सत्वगुण, रजगुण र तमगुण ।

सत्वगुण

यस किसिमको गुण भएका मान्छेले जीवन र जगतलाई सही अनि सन्तुलित ढंगले बुझेका हुन्छन् । उनीहरुमा मानविय भाव र समाजिक चेत हुन्छ । यद्यपि उनीहरुमा कुनै दम्भ, अभिमान, घमण्ड हुँदैन ।

कुन काम सही र गलत भनेर छुट्याउन सक्छन् । अतः सही काम, सही ढंगले, सही समयमा गर्छन् ।

उनीहरुमा रिस, द्वेष, घृणा, भय, चिन्ता आदि विकार हुँदैन । यस किसिमका गुण भएका व्यक्ति अनावश्यक इच्छा राख्दैनन् । तडकभडक र देखासेखीमा विश्वास गर्दैनन् ।

उनीहरु श्रम, सीप, कला, कौशल, साधनामा विश्वास गर्छन् । आफ्नो कर्तव्य र दायित्वलाई पूर्णताका साथ निर्वाह गर्छन् । आफ्नो बोली, बचन र व्यवहारले कसैलाई हानी नहोस् भनेर सर्तक रहन्छन् । उनीहरु कर्ममा विश्वास गर्छन्, श्रद्धाभाव राख्छन् ।

सुपाच्य र सात्विक भोजन गर्छन् । शारीरिक रुपमा सक्रिय र सिर्जनशिल रहन्छन् । उनीहरु आफ्नो सतकर्मबाट सुख अनुभूत गर्छन् ।

रजगुण

यस किसिमको व्यक्तिले जे–जति जानेको हुन्छ, त्यसमा उनलाई अत्यान्तै घमण्ड पनि हुन्छ । उनीहरु स्वार्थी र पक्षपाती हुन्छन् । कतिपय कुरालाई उनीहरुले सही ढंगले बुझेका हुँदैनन् । के गर्नु हुन्छ, के गर्नु हुँदैन भन्ने कुराको पनि आफ्नो विवेकले निर्णय लिन सक्दैनन् ।

उनीहरुमा आशक्ति हुन्छ । उनीहरुले केही न केही अपेक्षा राखिरहेका हुन्छन् । उनीहरु आफुले गरेको कामबाट प्रतिष्ठा, पैसा, लाभ, मोजमस्ती प्राप्त होस् भन्ने चाहन्छ ।

अक्सर यस किसिमका व्यक्तिले आफ्नो लागि भन्दा अरुलाई देखाउनका लागि काम गर्छ । केही न केही स्वार्थ राखेर मात्र काम गर्छन् । उनीहरुले अरुलाई सहयोग गरेका छन् भने पनि त्यसबाट आफ्नो लाभ खोज्छन् । संघर्ष, मेहनत, साधना गर्न सक्दैनन् ।

उनीहरुलाई पिरो, अमिलो, गुलियो, तातो खानेकुरा मनपर्छ ।

तमगुण

यस किसिमका मान्छेहरु भ्रममा बाँच्छन् । के सही, के गलत भन्ने कुरा छुट्याउन सक्दैनन् । अक्सर हरेक काम गलत ढंगले गरिरहेका हुन्छन् । उनीहरु ढोंग, आडम्बरी र अन्धविश्वासी हुन्छन् ।

राम्रोलाई नराम्रो भन्ने सोच्छन् । उनीहरु कुनैपनि सही काम गर्दैनन् । आफ्नो मनोमानी गर्छन् । कामको नतिजा सोच्दैनन् । उनीहरु अविवेकी, धूर्त, मूर्ख र अरुको रिस गर्ने हुन्छन् । धेरैजसो समय मोजमस्तीमा विताउने सोच्छन् । काम गर्दैनन्, अल्छी गर्छन् ।

यस्ता व्यक्तिलाई आधा पाकेको, गन्हाउने, रस नभएको खानेकुरा मनपर्छ । मदिरा, मासु जस्ता खानेकुरामा उनीहरुको बढी आशक्ति हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment