Comments Add Comment

दाङको बेलझुण्डीमा कोरोना विशेष अस्पताल तयार

१२ चैत, दाङ । कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि दाङको बेलझुण्डीमा तत्कालका लागि ३० शैयाको ‘कोरोना विशेष अस्पताल’ बुधबारबाट सञ्चालनमा आएको छ । बेलझुण्डीस्थित आयुर्वेद शिक्षालयको भवनमा कोरोना विशेष अस्पताल निर्माण गरिएको हो ।

तत्कालका लागि ३० शैयाको अस्पताल सञ्चालनमा आए पनि यसलाई बढाएर १ सय शैयाको बनाइने सञ्चालक समितिका अध्यक्ष एवम् प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले जानकारी दिए ।

मन्त्री केसीका अनुसार अस्पतालमा ६ जना चिकित्सक, २० जना स्टाफ नर्स, २० जना प्यारामेडिक्स र ६ जना कर्मचारीसहित कुल ५२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ । केही स्वास्थ्यकर्मीको टोली बुधबारबाटै अस्पतालमा खटाइएको छ । बाँकी जनशक्ति प्रादेशिक अस्पताल तुलसीपुर, तुलसीपुर उपमहानरपालिका, घोराही उपमहानगरपालिका, स्वास्थ्यचौकीबाट पालैपालो ड्यूटीमा खटाउने निर्णय भएको तुलसीपुर उपमहानरपालिकाका जनस्वास्थ्य अधिकृत विमल केसीले जानकारी दिए ।

‘प्रत्येक स्वास्थ्य चौकी र नगर स्वास्थ्य केन्द्रबाट नर्स, पारामेडिक्स, कार्यालय सहयोगी उपलब्ध गराउने भन्ने निर्णय भएको छ,’ केसीले भने, ‘सिफ्टअनुसार पालैपालो खटिनु पर्ने भएकाले सबै स्वास्थ्यकर्मीलाई अलर्ट भएर बस्न भनिएको छ ।’

अस्पतालमा प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा. सर्बेश शर्माको नेतृत्वमा जनशक्ति खटाइएको छ । डा. शर्मा कोरोना विषेश अस्पतालका पनि मेसु तथा कोरोना विशेष अस्पताल सञ्चालक समितिको सदस्यसचिव हुन् ।

अस्पतालका लागि नेपाल रेडक्रस सोसाइटी र तुलसीपुर उपमहानगरपालिकाले एक–एक वटा एम्बुलेन्स उपलब्ध गराएका छन् ।

कोरोना विशेष अस्पताल सञ्चालनको विषयमा छलफल गर्न बिहीबार दाङका १० वटै पालिकाका प्रमुखहरुको बैठक जिल्ला प्रशासन कार्यालय घोराहीमा बोलाइएको छ ।

फोटो  : कुलदीप न्यौपाने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment