Comments Add Comment

अलपत्र पर्यटकको उद्दार थालियो, फ्रान्सबाट चार्टर्ड प्लेन आउँदै

१३ चैत, काठमाडौं । लकडाउनका कारण नेपालका विभिन्न स्थानमा फसेका पर्यटकको उद्दार शुरु गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार बिहीबार बिहानैबाट पर्यटकको उद्दार शुरु भएको हो ।

लुक्लाबाट बिहीबार चार्टर्ड विमान काठमाडौं ल्याइदै गरेको बोर्डका निर्देशक लिला बानियाँले बताए । यो विमानले लुक्लामा रहेका फ्रेन्च, जर्मन तथा अन्य यूरोपेली मुलुकका नागरिकलाई काठमाडौं ल्याउनेछ । पोखरा तथा विभिन्न स्थानबाट पनि उनीहरुलाई काठमाडौं ल्याउने तयारी छ ।

बानिँयाका अनुसार फ्रान्स सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई लैजान फ्रान्सबाट चार्टर्ड प्लेन नेपाल पठाउने तयारी गरेको छ । फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौं ल्याउन लागिएको हो ।

बिहीबार सडक मार्गबाट ६० जना पर्यटक पोखराबाट काठमाडौं आएका छन् । पोखरामा बिहीबार चार्टर्ड उडानको समेत तयारी गरिएको छ । आज मात्र करीव १ सय पर्यटक पोखराबाट काठमाडौं आइसक्नेछन् । उनीहरुलाई स्थानीय प्रशासनको पहलमा काठमाडौं ल्याउन लागिएको हो । लुक्ला र मनास्लु क्षेत्रमा रहेका पर्यटकलाई समेत काठमाडौं ल्याउने तयारी छ ।

सम्बन्धित मुलुकले आफ्नो व्यवस्था गरी स्वदेश नर्फकाएसम्म यसरी उद्दार गरिएका पर्यटक काठमाडौंका विभिन्न होटेलमा बस्नेछन् । केही पर्यटकलाई विमानस्थल नजिकका होटेल र केहीलाई ठमेलमा राख्ने व्यवस्था गरिएको छ । तर, लुक्ला र पोखरामा रहेका पर्यटक सम्बन्धित स्थानमै सुरक्षित रहेका कारण लकडाउन नखुलेसम्म त्यहीँ होटेलमा बस्न आग्रह गरिएको निर्देशक बानियाँले बताए ।

पहिलो चरणमा चार्टर्ड गरेर लैजाने मुलुकका नागरिकलाई काठमाडौंसम्म ल्याउन पहिल गरिने उनको भनाइ छ । लुक्लामा करीव ३ सय हाराहारी पर्यटक रहेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले जानकारी दिएको छ । पोखरामा करीव ५ सय पर्यटक छन् । मनास्लुमा आधा दर्जन पर्यटक रहेको बुिझएको छ । यद्यपि विस्तृत तथ्यांक भने आइसकेको छैन ।

नगरकोटमा समेत लकडाउनका कारण अड्किएका पर्यटकको विवरण संकलन थालिएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङका अनुसार कुन होटेलमा कति पर्यटक कुन मुलुकबाट आएका बसेका छन् भन्नेबारे विवरण संकलन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment