Comments Add Comment

महावीर पुनले पीपीई बनाउन स्वीकृति पाए

तत्काल पाँच सयवटा सिलाइँदै

१३ चैत, काठमाडौं । कोरोना आशंकित बिरामीसँग स्वास्थ्यकर्मीले संसर्ग गर्दा अत्यावश्यक हुने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) नेपालमै उत्पादन गर्न सुरु भएको छ । अन्वेषक महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पीपीई उत्पादन गर्न सरकारले स्वीकृति दिएको हो ।

सुरुमा ५ सय थान पीपीईका लागि दुईवटा गार्मेन्टलाई अर्डर दिइएको पुनले अनलाइनखबरलाई बताए । चप्पल कारखाना र पेप्सीकोलामा रहेका ती गार्मेन्टले दुई–तीन दिनमा तयार गरिसक्ने बताएका छन् ।

पुनले बुधबार एउटा नमूना बनाएर मेडिकल काउन्सीलमा पेश गरेका थिए । त्यसलाई जाँचिसकेपछि काउन्सिलले उत्पादनका लागि स्वीकृति दिएको हो ।

‘हिजो डा. भगवान कोइरालासामु नमूना पेश गरियो । उहाँले स्वीकृत गर्नुभयो । आज हामीसँग भएको सामग्रीहरु गार्मेन्टलाई दिएका छौं । बढीमा पाँच सय वटा तयार हुनेछन्,’ उनले भने ।

एक साताअघि पोखरा पुगेका पुनलाई सम्पर्कक गरेर केही अस्पतालले पीपीई अभाव भएको भन्दै यसको उत्पादनका लागि आग्रह गरेका थिए । त्यसपछि पुनले यसका काठमाडौं फर्केर तत्काल सक्रियता देखाएका हुन् । उनले बजारमा पीपीईका लागि आवश्यक सामग्रीहरुको खोजी गरे । थोरै संख्यामा मात्रै पाउन सके ।

अहिले केन्द्रलाई देशभरीबाटै पीपीईका लागि माग आइरहेको छ । ४–५ हजार भए पनि नपुग्ने स्थिति रहेको उनी बताउँछन् । यसलाई कसरी वितरण गर्ने भन्ने निधो भएको छैन ।

‘यसलाई बिक्री गर्ने भन्दा पनि अत्यावश्यक रहेका अस्पतालहरु छनोट गरेर वितरण गर्ने हो । थप उत्पादनका लागि सामग्री खोजिरहेका छौं,’ उनले सुनाए ।

यस विषयमा पहल गर्न उनले उद्योग मन्त्रालयलाई पनि आग्रह गरेका छन् ।

उनले भने, ‘आज उद्योग मन्त्रालयमा तीनवटा नमूना पठाएका छौं । यस्तो सामग्री भएमा हामी जति पनि उत्पादन गर्न सकिन्छ भनेका छौं । अब उनीहरुले कस्तो रेस्पोन्स गर्छन् हेरौं ।’

केन्द्रले बनाएको पीपीई अन्तर्राष्ट्रिय मापदण्डको छ वा छैन भन्ने परिक्षण हुन बाँकी छ ।

‘आपत्कलिन रुपमा बनाएका हौं । तैपनि गुणस्तरमा ध्यान दिएका छौं । डा. कोइरालाले यतिसम्म भयो भने हुन्छ भन्नुभएको छ,’ पुनले भने ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको बिगबिगीसँगै धेरै देशहरुमा पीपीईको माग ह्वात्तै बढेको छ । विकसित देशहरुमा समेत अहिले पीपीईको अभाव सिर्जना भएको समाचारहरु आइरहेका छन् । नेपालका धेरै अस्पतालमा पीपीई नहुँदा स्वास्थ्यकर्मीहरुले असुरक्षितरुपमा काम गर्नुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment