Comments Add Comment

कोरोना फैलिन नदिन आपतकालीन रणनीति बनाउन नागरिक अगुवाको सुझाव

१३ चैत, काठमाडौं । नागरिक अगुवाको एक समूहले कोरोना संक्रमण फैलिन नदिन आपतकालीन रणनीति बनाउन सरकारलाई सुझाव दिएको छ ।

डा. महेश मास्के, कनकमणि दीक्षित, सुशील प्याकुरेललगायत नागरिक अगुवाले बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटी संक्रमण फैलिन नदिन तत्काल प्रदेश र स्थानीय निकायसंग समन्वय गरी आपतकालीन रणनीति बनाउन सुझाव दिएका हुन् ।

कोरोना संक्रमण फैलिएका देशबाट धेरै संख्यामा नेपाल फर्किएका नागरिकलाई सुरुमै क्वारेन्टाइनमा नराख्नु र उनीहरुको टे«स पनि नहुनुले जोखिम बढाएको भन्दै उनीहरुले शंकास्पदहरुको तत्काल पहिचान गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था कडाइका साथ गर्न माग गरेका छन् ।

स्थानीय र प्रदेश सरकारसंग समन्वय गरी फ्लु आउटब्रेक भएको वा नभएकोबारे दैनिक जानकारी लिनुको साथै क्वारेन्टाइनमा बस्न भनिएका व्यक्तिको संख्या यकिन गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

जनस्वास्थ्यका लागि नागरिकले स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सामाग्रीको आपूर्ति तत्काल गर्न, तत्काल आपूर्ति गर्ने अवस्था नभए देशभित्रै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गर्ने काम सुरु गर्न, ल्याब/उपचारको प्रोटोकल तयार गरी कन्ट्याक्ट टे«सिंग सुरु गर्न, लक्षण नदेखिएका तर विरामीको सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेट गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले एकीकृत कमाण्ड सञ्चालन गर्न तथा स्थानीय र प्रदेशको गतिविधिसमेत समेटेर एकद्वारबाट दैनिक मिडिया ब्रिफिङ गर्न पनि सुझाव दिएका छन् ।

लकडाउनका कारण रोजगारी गुमाएका कमजोर वर्ग, दैनिक ज्यालादारी, नाङ्लो पसल आदि सञ्चालन गर्नेका लागि राहत कार्यक्रम ल्याउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment