Comments Add Comment

क्वारेन्टाइन बनाउन मकवानपुरको ओम रिसोर्टले दियो २८ कोठा

१४ चैत, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकास्थित ओम अध्याय रिट्रिट रिसोर्टलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीहरुलाई राख्ने क्वारेन्टाइनको रुपमा प्रयोग गरिने भएको छ । क्वारेन्टाइन बनाउनका लागि रिसोर्ट सञ्चालकले २८ वटा कोठा थाहा नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका छन् ।

रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने सम्बन्धमा थाहा नगरपालिका र ओम अध्याय रिट्रिट रिसोर्टबीच बिहीबार सम्झौता भइसकेको छ । सम्झौता पत्रमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र रिसोर्ट सञ्चालक ललितसिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार क्वारेन्टाइनका लागि आवश्यक औषधिलगायतका स्वास्थ्य उपकरण, जनशक्ति, रिसोर्टमा रहनेहरुका लागि खाना, दैनिक सरसफाइ र सुरक्षा प्रवन्ध नगरपालिकाले नै व्यवस्था गर्ने छ ।

रिसोर्टले क्वारेन्टाइनका प्रत्येक कोठामा आवश्यकता अनुसार सिरक तथा ब्ल्यांकेटको व्यवस्था गरिदिने छ ।

कोरोना भाइरसको महामारीको बेला अट्याच बाथरुमसहितका २८ वटा कोटा निःशुल्क उपलब्ध गराउन पाउँदा आफूहरु खुसी रहेको रिसोर्ट सन्चालकले बताएका छन् ।

नगरपालिकाले क्वारेन्टाइन सन्चालनका लागि आवश्यक डाक्टर, स्टाफ नर्स, अनमी तथा अन्य कर्मचारीहरु व्यवस्था गरिसकेको जनाएको छ । अब दुई दिनभित्र क्वारेन्टाइन सन्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

विपद कोषमा एकैदिन १ लाख ८५ हजार संकलन

यसैबीच कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरले स्थापना गरेको विपद व्यवस्थापन कोषमा एकैदिन १ लाख ८५ हजार ५ सय ७५ रुपैयाँ संकलन भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति सचिवालयको बैठकमा रकम संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिए । १२ चैतमा थाहा नगरपालिकाले ४० लाख रुपैयाँ राखेर विपद व्यवस्थापन कोष खडा गरेको थियो । सो कोषमा नगरपालिकाका कर्मचारीहरुले एकमुष्ट १ लाख रुपैयाँ जम्मा गरेका छन् ।

त्यस्तै हिमालयन बोर्डिङ स्कूलले ५० हजार ५० रुपैयाँ, थाहा नगरपालिकाका अच्युतम प्रसाद ढकालले २५ हजार ५ सय २५ रुपैयाँ र आफ्नो जन्मदिनको अवसरमा थाहा–२ कै नवराज लामाले १० हजार रुपियाँ कोषका लागि दिएका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समिति सचिवालय थाहा नगरपालिकाको बैठकमै उपस्थित भएर उनीहरुले सहयोग रकम तथा चेक हस्तान्तरण गरेका छन् ।

बैठकले थाहा नगरपालिका क्षेत्र भित्रका मन्दिर, चर्च लगायतका क्षेत्रमा धार्मिक कार्यक्रम सन्चालन गर्न निषेध गर्ने र नियमित पूजापाठ गर्नैपर्ने भएमा पुजारी र पाष्टरबाट मात्रै गर्न सकिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment