Comments Add Comment

चीनबाट मेडिकल सामग्री लिन वाइडबडी शनिबार ग्वाङझाओ पठाउने तयारी

१४ चैत, काठमाडौं । कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने तयारी गरिएको छ ।

विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान तयारी गरिएको छ ।

औषधिजन्य सामाग्री लिनका लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जाने स्रोतले अनलाइनखबरलाई बतायो ।

वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउन लागेको छ ।

यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो ।

नेपाल एयरलाइन्सले ग्वान्झाओ जान भारत, बंगलादेश, म्यानमार र चीनको उडान अनुमति कुरिरहेको बताएको छ ।

‘अहिलेसम्म कुनै पनि मुलुकबाट उडान अनुमति आइसकेको छैन, नेपाल एयरलाइन्सले आफ्नो तर्फबाट सबै तयारी गरिसकेको छ,’नेपाल एयरलाइन्सका अपरेशन बिभाग प्रमुख दिपु ज्वार्चनले भने । ४ पाइलट र दुई अन्य क्रु मेम्बर जाने तयारी छ । कार्गो उडान भएका कारण क्रु मेम्बर कम हुनेछन् ।

‘भोलि नै उड्नका लागि आज चार ओटै मुलुकबाट उडान अनुमति पाउनु पर्छ । आशा गरौंपाइएला, यो हाम्रो मात्र प्रयासले हुँदैन, परराष्ट्रसहित अन्य कुटनीतिक च्यानलबाट पनि पहल हुनुपर्छ,’ज्वार्चनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment