
१४ चैत, लण्डन । नेपालले विदाका क्रममा नेपालमा बसेका गोर्खा सैनिकहरुको सुविधा कटौती नगर्न बेलायत सरकारसँग आग्रह गरेको छ ।
लण्डनस्थित नेपाली दूतावासले बेलायत सरकारलाई विदाका क्रममा नेपालमै रोकिएका गोर्खाको बारेमा ध्यानाकर्षण गराएको हो ।
यता बेलायतमा कोभिड १९ संक्रमणबाट दुईजना नेपालीका मृत्यु भएपछि लण्डनस्थित नेपाली दूतावासले विदाको दिनसहित चौविसै घण्टा नेपाली समुदायको सेवामा दूतवास खुला गरेको छ ।
दूतावासले पहिलो चरणमा कोरोना संक्रमणको जोखिमबाट बच्ने उपायसहित नेपाली समुदायलाई सचेत गराएको थियो । बेलायतमा धेरै नेपालीहरु अस्पतालमा कार्यरत रहेकाले उनीहरुमार्फत पनि संक्रमणबाट जोगिने उपायबारे भिडियो सन्देश जारी गरिएको छ ।
दूतावास नेपाली समुदायलाई पर्ने कुनै पनि समस्याको सम्बोधन गर्न जतिबेला पनि खुला रहेको र दूतावासका कर्मचारीको टेलिफोन नम्बरसमेत दिएर सबैलाई सम्पर्कमा रहन भनिएको नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए ।
दूतावासकै पहलमा बेलायत, आयरल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीलाई केही परेमा सहयोग समन्वय गर्न अलग अलग कमिटी बनाइएको उनले जाकारी दिए ।
दूतावास, एनआरएनलगायत प्रवासी नेपालीका विभिन्न संघ संस्थासँग नियमित सम्पर्कमा रहेको र बेलायती सरकारसँग पनि सघन सम्पर्कमा रहेर नेपालीका समस्या सम्बोधन गरिरहेको आरणले बताए ।
दूतावासले कुनै पनि नेपाली समुदायका समस्या सम्बोधन गर्न हरदम तयार रहेको भन्दै नेपाली समुदायलाई सुरक्षित रहन अपिल गरेको छ । यसैबीच कोरोना संक्रमण भई अस्पतालमा भर्ना भएकी नेपाली अभियन्ता भगवती रानाभाट भने स्वस्थ भई घर फर्किएकी छन् ।
प्रतिक्रिया 4