Comments Add Comment

सरकारी कम्पनीले बेच्दैछ इन्डक्सन, ग्यास नपाएपछि उपभोक्ताको चासो

१४ चैत, काठमाडौं । पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आकर्षण बढेको छ। सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर बनेको कम्पनी)ले पछिल्लो दिनमा मात्रै ३ हजार बढी विद्युतीय चुल्हो बिक्री गरेको छ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नागरिकमा पनि खाना पकाउने ग्यास नपाउने भन्ने सन्त्रास बढेका कारण विद्युतीय चुल्होमा आकर्षित भएका हुन्। कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालका अनुसार कोरोनाको सन्त्रास फैलिएपछि कम्पनीका विभिन्न बिक्री केन्द्रमार्फत विद्युतीय चुल्हो बिक्री भएको हो।

गोरखा भूकम्पको समयमा चीनले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको विद्युतीय चुल्होप्रति आमनागरिकले चासो राखेका थिएनन्। पछिल्ला दिनमा कोरोनाको त्रास बढेपछि खाना पकाउने वैकल्पिक उपायका रुपमा विद्युतीय चुल्हो खरिद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो।

कम्पनीलाई सरकारले कूल सात हजार ३४० थान विद्युतीय चुल्हो उपलब्ध गराएको थियो। त्यसमध्ये झण्डै ५० प्रतिशत चुल्हो बिक्री भएको खनालको भनाइ छ। पछिल्लो पटक सरकारले साताव्यापी लकडाउन घोषणा गरेको अवस्थामा पनि सरकारको निर्देशन प्राप्त भए मोबाइल भ्यानमार्फत पनि चुल्हो बिक्री गर्न सकिने उनको भनाइ थियो।

लकडाउनपछि आमसर्वसाधारण चुल्हो खरिद गर्न नआएपछि सरकारी कर्मचारी तथा सरकारले पास उपलब्ध गराएकाहरु कम्पनीको बिक्री केन्द्रमा पुगेर चुल्हो खरिद गरिरहेका छन्। ‘लकडाउनभन्दा पहिलेको जस्तो चुल्होको चासो राख्ने त कम छन्, तर पास भएकाहरु भने अहिले पनि खरिद गर्न आइरहेका छन्’, नायब महाप्रबन्धक खनालले भने।

नेपाल आयल निगमले सहज रुपमा खाना पकाउने एलपी ग्यास उपलब्ध गराउने बताइरहेको भए पनि नागरिकले विद्युतीय चुल्होमा नै चासो राखेको र कोही कसैले चुल्हो खरिद गर्न चाहे सुरक्षात्मक उपाय अवलम्बन गरेर भए पनि बिक्री गर्न सकिने खनालको भनाइ छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि विद्युतीय चुल्हो बिक्रीका लागि सरकारले सहजीकरण गरिरहेको जानकारी दिएका छन्। उनले विद्युत् महसुलसमेत छुट भएको अवस्थामा नागरिकले एलपी ग्यासको विकल्पमा उक्त चुल्हो नै प्रयोग गर्न सक्ने बताए।

यस्तै सरकारले विद्युतीय चुल्हो ल्याउने व्यापारीलाई भन्सार छुटसमेत दिने निर्णय गरेको छ। त्यसबाट विद्युत् खपत बढाउन र आत्मनिर्भरतातर्फ अगाडि बढाउनसमेत मद्दत पुग्नेछ। नेपाल विद्युत् प्राधिकरकणले हाल विद्युत् खपत घटेको, उद्योग तथा कलकारखानासमेत बन्द भएको अवस्थालाई मध्यनजर गरेर विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने बताएको छ।

४ हजारमा इन्डक्सनसँगै एउटा हाईटेक कराई पनि दिइन्छ । यी इन्डक्सन चुलो कम्पनीको केन्द्रीय कार्यालय, थापाथली, सिहंदबारको मूलगेट, भद्रकाली, नख्खु, सूर्यविनायकको विकी कक्षहरुबाट किन्न सकिनेछ ।

विद्युत् महसुलमा २० प्रतिशत छुट
सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्होबाट खाना पकाउँदा विद्युत् महसुलमा छुट दिने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले इन्डक्सनबाट खाना पकाउने ग्राहकलाई १५० युनिटसम्म विद्युत् महसुलमा छुट दिने व्यवस्था मिलाउन प्राधिकरणलाई निर्देशन दिएको छ। ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिनुभएको छ। इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन निर्देशन दिइएको मन्त्री पुनको सचिवालयले जनाएको छ।

मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए। ‘ग्यास बाहिरबाट आयात गर्नुपर्छ। विद्युत् हाम्रो आफ्नै उत्पादन हो’, मन्त्री पुनले भने, ‘यसो गर्दा ग्यास किन्न बाहिरिने पैसा देशभित्रै बस्छ, व्यापार घाटा पनि कम हुन्छ।’

विद्युतको आन्तरिक खपत बढाउन पनि मन्त्रालयले यस्तो निर्णय गरेको उनको भनाइ छ। यो निर्णय तत्काल कार्यान्वयनमा आउने पनि मन्त्री पुनले स्पष्ट गरे। मुलुक नै लकडाउन भएपछि विद्युत् खपतमा कमी आएको छ। बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकामा हाल सो घटेर ९४५ मेगावाटमा सीमित भएको छ।

बुधबार बसेको नोभेल कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो। यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो।

घट्यो विद्युतको माग
बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युतको माग ह्वात्तै घटेको हो। विद्युत् लोडमा मुख्य रुपमा कलकारखाना, होटललगायतको योगदान रहेको छ। घरायसी प्रयोजनका लागि मात्रै विद्युतको प्रयोग भइरहेकाले अहिले विद्युतको लोड घटेको हो।

लकडाउन शुरु हुनुभन्दा पहिले मुलुकभरको विद्युतको अधिकतम माग एक हजार २०० मेगावाटको हाराहारीमा रहेकामा मङ्गलबारदेखि नै घटेर ९४५ मेगावाटमा सीमित भएको छ। विद्युत् बढी माग हुने साँझ ७ बजे उक्त रेकर्ड गरिएको हो।

विद्युत् बढी खपत हुने काठमाडौँ उपत्यकाको विद्युतको माग पनि ह्वातै घटेको छ। लकडाउनभन्दा पहिले विद्युतको अधिकतम माग ३५० मेगावाटको हाराहारीमा रहेकामा हाल घटेर ९४५ मेगावाट हुँदा काठमाडौँ उपत्यकाको २९० मेगावाटमा सीमित भएको छ। यसबाट पनि विद्युतीय चुल्हो प्रयोग गर्न झनै सहज भएको छ।

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग उच्च घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। विद्युतको माग घटेसँगै भारतबाट आयात हुने विद्युतको परिणाम पनि घटेको छ भने कुलेखानी पनि चलाइएको छैन। घिसिङका अनुसार, अहिले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट मात्रै पिक समयमा करिब ५० मेगावाट मात्रै ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment