१५ चैत, युएई । यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा दुई जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसँगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ ।
यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि निको भएका थिए । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार दुई जना नेपालीसहित हालसम्म ५५ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य लाभ हुनेमा भारत र पाकिस्तानका एक-एक जना पनि छन् ।
शुक्रबार फेला परेका नयाँ संक्रमितहरुमा नेपाल सहित श्रीलंका, जोर्डन, प्यालेष्टाइन, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्भिया, ग्रीस, उरुग्वे, रोमानिया, स्विडेन, दक्षिण अफ्रिका, इराक, यमन, इथोपिया, इमराती, बेलायत, पाकिस्तान, लेबनान, भारत र बंगलादेशका नागरिक रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको छ । मन्त्रालयका अनुसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
लकडाउनको घोषणा
यूएई सरकारले आम नागरिकको सुरक्षा सतर्कतालाई ध्यान दिँदै तीन दिनका लागि लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रिय सरसफाई तथा निर्मलीकरण अभियान सञ्चालन गरिने हुँदा लकडाउन गरिएको होे ।
मार्च २७ गते राति ८ बजेदेखि मार्च २९ गते बिहान ६ बजेसम्म लकडाउन गरिएको छ । खासगरी दिउँसो केही सार्वजनिक बस र ट्याक्सी सञ्चालनमा छन् भने राति ८ बजेदेखि बिहान ६ बजेको समयमा कुनैपनि सार्वजनिक यातायातका साधन चल्ने छैनन् । यो अवधिमा घरमै बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।
स्वास्थ्य र खाद्य क्षेत्रका डेलिभरी सेवा, बैंक र विमानस्थल क्षेत्रका व्यक्तिलाई भने खुल्ला गरिएको छ । सरकारले जारी गरेको नीति उल्लंघन गरी अनावश्यक घर बाहिर निस्किए जरिवाना सहित कडा सजाय हुने जनाउँदै सबैलाई सचेत गराइएको छ ।
सरसफाई र सरकारको नीतिलाई पालना गर्न दूतावासको आग्रह
युएई सरकारले जारी गरेको नीतिलाई ध्यान दिँदै लकडाउनको समयमा जथाभावी घर बाहिर ननिस्कन नेपाली दूूतावासले नेपाली कामदारहरुलाई आग्रह गरेको छ । जीवित तथा मृत जनावरबाट टाढा रहन, रुघाखोकी र ज्वरो आएका व्यक्तिको सम्पर्कमा नरहन, अस्वस्थ भएको अवस्थामा यात्रामा ननिस्कन, समय–समयमा साबुन पानीले हात धुन, स्यानिटाइजर र मास्कको प्रयोग गर्न सचेत गराएको छ ।
साथै, आफू र आफ्ना साथीहरुमा कोरोना संक्रमणको शंका लागेमा युएई सरकारले तोकेको स्वास्थ्य जाँच केन्द्रहरुमा गएर परीक्षण गराउन दूतावासले आग्रह गरेको छ । कामदारलाई कुनै पनि समस्यामा परे दूतावासमा सम्पर्क गर्न राजदूत कृष्णप्रसाद ढकालले आग्रह गरेका छन् ।
अनलाइनखबरसँगको कुराकानीमा राजदूत ढकालले भने, ‘युएई सरकारले कोरोना संक्रमणका कारण कुनै पनि देशका नागरिकलाई समस्यामा पर्न नदिने र समस्यामा भए सम्बन्धित देशको दूतावासमार्फत सम्पर्कमा आउन आग्रह गरेको छ । समस्यामा भएका हाम्रा कामदारको समस्या समाधानमा हामी समन्वय गर्न तयार छौँ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4