Comments Add Comment

महिलाभन्दा पुरुषमा कोरोना भाइरसको जोखिम बढी !

१५ चैत, काठमाडौं । चीनको वुहानबाट निस्किएको कोरोना भाइरस (कोभिड–१९)को महामारी अहिले समग्र विश्वभर फैलिएको छ । यो भाइरसका कारण अहिलेसम्म २६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

सबैभन्दा पहिले कोरोना देखिएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले भने महिलाभन्दा पुरुषमा कोरोना भाइरसको जोखिम बढी रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदनअनुसार कोरोना भाइरसको जोखिम महिलाको तुलनामा पुरुषलाई निकै बढी हुनेगर्छ । भाइरसको संक्रमण सबैभन्दा बढी पुरुषमा देखिएको छ । मृत्यु हुनेको संख्या पनि महिलाको तुलनामा पुरुष नै धेरै छन् ।

वैज्ञानिकहरुले इटाली, चीन, फ्रान्स, जर्मनी, इरान र दक्षिण कोरियाका ८८ हजार संक्रमितमा अध्ययन गरेको थियो, जसमध्ये २ दशमलव ८ प्रतिशत पुरुष र १ दशमलव ७ प्रतिशत महिलाको ज्यान गएको थियो । बालबालिकामा भने मृत्युदर शून्य दशमलव २ प्रतिशत थियो ।

इटालीको नेशनल हेल्थ इन्स्टिच्युटकाअनुसार मुलुकमा समग्र संक्रमितमध्ये ६० प्रतिशत संक्रमित पुरुष छन् । संख्याको हिसाबमा मृत्यु हुनेमध्ये ७० प्रतिशतभन्दा बढी पुरुष छन् ।

दक्षिण कोरियामा पनि अवस्था भिन्न छैन । त्यहाँ कोरोना भाइरसका कारण मृत्यु हुनेमध्ये ५४ प्रतिशत पुरुष छन् । चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ६८ प्रतिशत पुरुष छन् । इरानमा पनि संक्रमित बिरामीमा ६४ प्रतिशत पुरुष छन् ।

महिलामा रोग प्रतिरोधात्मक क्षमता बढी – विशेषज्ञ

अमेरिकास्थित ह्वाइट हाउसको कोरोना भाइरस ‘रेस्पोन्स कोर्डिनेटर डाक्टर डेब्रोह ब्रिक्स यो भाइरसको संक्रमणको असर सबै लिंग र उमेर समूहका मानिसमा हुने बताउँछन् । तर, जुन मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

उनीहरुलाई बढी असर गर्ने गरेको देखिन्छ । महिला तथा बालबालिकाको तुलनामा पुरुष बढी धुम्रपान र मदिरा सेवन गर्ने भएकोले पनि यस्तो भएको हुनसक्ने उनी बताउँछन् । त्यही कारण उनीहरुको रोग प्रतिरोधात्मक क्षमतामा पनि कमी आउँछ ।

चीनको रोग नियन्त्रण केन्द्रका निर्देशक जर्ज एफ गाओले ५२ प्रतिशत पुरुष र केवल १२ प्रतिशत महिलाले धुम्रपान गर्ने गरेको उल्लेख गरे । धुम्रपानले फोक्सोमा असर पार्छ ।

यूनिभर्सिटी अफ इस्ट एंगलियाका प्राध्यापक पाउल हन्टर भने महिलामा आन्तरिक हिसाबमा पुरुषभन्दा फरक किसिमको प्रतिरक्षा प्रणाली हुने बताउँछन् । महिलामा अटो–इम्युन डिजिज (प्रतिरक्षा तन्त्र अति सक्रिय हुनाले देखिने रोग)को जोखिम बढी हुन्छ ।

वृद्ध मानिसलाई धेरै खतरा

चिनियाँ प्रतिवेदनअनुसार कोरोना भाइरसको सबैभन्दा धेरै खतरा वृद्ध मानिसमा देखिएको छ । विशेषगरी पहिलै मुटुको रोग र अत्यधिक रक्तचाप भएका मानिसमा यसको असर बढी हुने गरेको छ ।

फेब्रुअरीको मध्यसम्म देखिएका ४४ हजार ७०० संक्रमितमा ८० प्रतिशतभन्दा बढी ६० वर्ष कटेका मानिसहरु थिए । आधा मानिसको उमेर ७० वर्ष कटेको थियो । ८० वर्ष नाघेका १५ प्रतिशत बिरामीको कोरोना भाइरसको कारण ज्यान गएको थियो ।

इटालीमा ७० लाख मानिस धुम्रपान गर्छन्

चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रकाअनुसार चीनमा करिब ३६ करोड मानिस धुम्रपान गर्छन् । ५० प्रतिशतभन्दा बढी पुरुष कुनै न कुनै कुलतमा फसेका छन् । जबकी केवल तीन प्रतिशत महिला मात्र त्यस्तो कुलतमा फसेका छन् ।

इटालीको नेशनल हेल्थ इन्स्टिच्युटकाअनुसार इटालीमा करिब ७० लाख पुरुष धुम्रपान गर्छन् भने महिलाको संख्या करिब ४० लाख छ । इन्स्टिच्युटकाअनुसार अस्पतालमा भर्ना भएका संक्रमितमध्ये एकतिहाईले धुम्रपान गर्छन् र उनीहरुको अवस्था अपेक्षा गरिएभन्दा गम्भीर छ । उनीहरुको उपचारमा धेरै भेन्टिलेटरको आवश्यकता पर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment