Comments Add Comment

चीनमा खुले ८० प्रतिशत व्यापारिक केन्द्र, हवाई यात्रुमा ५० प्रतिशत वृद्धि

१५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट चीन बिस्तारै सामान्य अवस्थामा फर्किन थालेको छ । यो भाइरस निस्किएको वुहान शहरमा शनिबारदेखि सब–वे सेवा सुरु भएको छ । बजार खुलेका छन् भने मानिसहरु बाहिर निस्किन थालेका छन् । ९ सातापछि हुबेई प्रान्तले पूर्ण लकडाउन हटाएको छ र वुहानलाई कोरोना भाइरसको मिडियम रिक्स भएको क्षेत्र बनाइएको छ । यसअघि वुहान हाइरिक्स क्षेत्रमा थियो । यहाँ ५० प्रतिशत ठूला कम्पनीले आफ्नो काम सुरु गरिसकेका छन् । पूरा चीनमा ९० प्रतिशत ठूला कम्पनीले आफ्नो उत्पादन सुरु गरिसकेका छन् ।

अझै पनि साना तथा मझौला कम्पनी भने अझै आफ्नो काम सुरु गर्न संघर्ष गरिरहेका छन् । तर, मुलुकभरका ८० प्रतिशत व्यापारिक केन्द्र खुलिसकेका छन् । लक्जरी ब्राण्डको स्टोर बाहिर मानिसको भीड देखिन थालेको छ । रेष्टुरेन्ट, होटल, पार्क र जिमहरु सञ्चालनमा आएका छन् ।

शुक्रबार चीनको सांघाईमा २०० भन्दा धेरै सिनेमा हल खोल्ने अनुमति दिइएको थियो । तर, त्यसको केही समयमा नै चीनको नेशनल फिल्म ब्युरोले मुलुकभरको सिनेमाहल बन्द राख्न आदेश दिएको थियो । यसको कारण भने बताइएको छैन ।

त्यसैगरी, कोरोना भाइरस पुनः मुलुकमा फैलिनबाट रोक्न चीनले विदेशीको प्रवेशमा रोक लगाएको छ । पछिल्लो समय चीनमा देखिएका अधिकांश मानिसमा कोरोना भाइरसको संक्रमण देखिएसँगै चीनले यस्तो निर्णय गरेको हो ।

विद्यालयमा कोरोनाको शिक्षा

चीनमा कोरोना भाइरसको कारण बन्द रहेका विद्यालय पनि खुल्न थालेका छन् । सबैभन्दा पहिला क्विङहाई प्रान्तमा मार्च ९ देखि विद्यालय खुलेका थिए । अहिले अन्य प्रान्तहरुमा पनि विद्यालय खुल्ने क्रम जारी छ । विद्यालयमा विद्यार्थीहरुलाई सुरक्षाको ज्ञान दिइने गरिएको छ । केही विद्यालयमा बालबालिकालाई नियमित तापक्रम परीक्षण गरिन्छ ।

अन्तर्राष्ट्रिय उडान : प्रत्येक देशमा एक सातामा एउटा उडान

इन्टरनेशनल एयरट्रान्सपोर्ट एसोसिएसनका अनुसार गत जनवरी २३ मा चीनमा लकडाउन भएपछि सबैभन्दा ठूलो गिरावट हवाई उद्योगमा देखिएको थियो । मार्च मध्यसम्म पाँच लाख उडान रद्द भएको थियो । त्यसयता भने हवाई यात्रीमा ५० प्रतिशत वृद्धि भइसकेको छ । आइतबारदेखि चीनबाट कुनै एक मुलुकका लागि सातामा एकमात्र उडान हुनेछ ।

हेल्थ एप बिना प्रवेश निषेध

चीनमा हेल्थ एप बिना कोही पनि बाहिर निस्किन पाउँदैनन् । मल होस् वा अफिस जबसम्म एपमा क्युआर कोड स्क्यान हुँदैन, तबसम्म प्रवेश गर्न पाइँदैन । रेल, ट्याक्सी, बसमा पनि यो एप नभई यात्रा गर्न पाइँदैन । शरीरको तापक्रम बढ्यो भने एपमा चेतावनी आउँछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment