Comments Add Comment

टोकियो ओलम्पिक २०२१ मा हुने, तर नाम परिवर्तन नहुने

१५ चैत, काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो खेल मेला ओलम्पिक गेम्सको २९ औं संस्करण यसै वर्ष जापानमा हुने तय थियो ।

आगामी जुलाई अगष्टका लागि तय भएको टोकियो ओलम्पिक २०२० स्थगित भइसकेको छ । विश्वभर महामारीको रुप लिएको कोरोना भाईरस कोभिड १९ को कारण टोकियो ओलम्पिक स्थगित भएको हो ।

नयाँ मिति नतोकिए पनि खेलकुदको यो कुम्भमेला एक वर्ष नै सर्ने लगभग पक्का छ । अर्को वर्ष हुने विभिन्न खेलकुद प्रतियोगिताहरुलाई मध्यनजर गर्दै नयाँ मिति तोकिने सम्भावना छ ।

अब ओलम्पिक २०२१ मै हुनेछ तर टोकियो ओलम्पिक २०२० को नाम भने परिवर्तन हुने छैन । अर्को वर्ष हुने खेल मेलाको नाम पनि टोकियो ओलम्पिक २०२० नै हुनेछ । तर मिति भने तोकिन बाँकी छ । आईओसीले विभिन्न देशका ओलम्पिक कमिटी अन्तर्राष्ट्रिय फेडेरेसनहरु र आयोजक कमिटीसँग छलफल गरेपछि मात्र नयाँ मिति तय गर्नेछ ।

ओलम्पिकको १२४ वर्षे इतिहासमा पहिलो पटक ओलम्पिक तोकिएको समय भन्दा पछि सरेको हो । यसअघि विश्व युद्धका कारण तीन पटक ओलम्पिक रद्ध नै भएको थियो ।

ओलम्पिक स्थगित भएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले शुक्रबार आफ्ना सदस्य राष्ट्रहरुसंग भिडियो कन्फ्रेन्स गरेको थियो । जसमार्फत सदस्यहरुलाई पहिलो पटक ओलम्पिक स्थगित भएको तर नाम परिवरतन हुने जानकारी गराइएको हो । ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति बनेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

उक्त कन्फ्रेन्समा सांसदसमेत रहेका नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पनि उपस्थति जनाएका थिए । जहाँ विभिन्न देशका ओलम्पिक कमिटीका अध्यक्ष, महादेशका अध्यक्षहरु आयोजक कमिटी सहभागी थिए ।

आईओसीको कार्यकारी बोर्डले टोकियो ओलम्पिक स्थगित गर्ने निर्णयलाई अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी, राष्ट्रिय ओलम्पिक कमिटीहरु र जि-२० नेतृत्वले स्वागत र समर्थन गरेको समेत उक्त कन्फ्रेन्समा जानकारी गराइएको थियो ।

उक्त  कन्फ्रेन्समा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईसीका अध्यक्ष थोमम बाकले कोरोनाले विश्वव्यापी रुपमा असर गरेकोले टोकियो ओलम्पिक सार्नु परेको विषय अवगत गराएका थिए ।

त्यसमा सहभागीहरुले विभिन्न पक्षमा छलफल गरेका थिए । टोकियो ओलम्पिक खेलाडी छात्रवृत्ति कार्यक्रमलाई पनि सन् २०२१ सम्म निरन्तरता दिने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ । यस्तै टोकियो ओलम्पिकका लागि बाँकी रहेका छनोट चरणका खेलहरु र एक्रिडेसनको लागि आवेदन दिने मिति भने फेरि तय गरिने भएको छ । यसअघि नै सम्पन्न भइसकेको छनोट चरणका खेलहरु भने कायमै रहनेछन् ।

आईओसीले सदस्य राष्ट्रहरुसंग अर्को महिना पनि भिडियो कन्फ्रेन्स गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

टोकियो ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले विभिन्न ७ खेलका १२ खेलाडीलाई छनोट तथा वाइल्ड कार्डका लागि सिफारिस गरेको थियो । तीमध्ये केही खेलाडी टोकियो ओलम्पिक स्कलरसिप अन्तर्गत प्रशिक्षणसमेत गरिरहेका थिए ।

यस्तै बक्सिङबाट नेपालका सनिल शाही र मिनु गुरुङले छनोटसमेत खेलिसकेका थिए । तर छनोट चरण पार गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment