Comments Add Comment

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याउने तयारी

१६ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउन कम्तीमा एक साता लम्ब्याउने तयारी गरेको छ ।

नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार बिहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो ।

यो लकडाउन चैत १८ गते बिहान ६ बजेसम्म कायम रहनेछ । तर, त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउनको अवधि थप्न लागिएको एक मन्त्रीले बताए ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।

तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ । यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो ।

यस्तै, सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजारा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ ।

केही स्थानीय तहले वडा कार्यालयमार्फत् विपन्न र दैनिक ज्यालादारी गर्नेहरुलाई खाना खाने व्यवस्था मिलाइरहेको र अन्यत्र पनि यसलाई प्रभावकारी बनाउन आवश्यक बजेट प्रवन्ध गर्ने तयारी भइरहेको छ ।

यस्तै, कोरोनाको महामारी फैलन नदिन स्थानीय तहलाई प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भएको छ । भारतमा लकडाउनको अवज्ञा भइरहँदा त्यसको असर नेपालको सीमा क्षेत्रमा नपरोस् भनेर सुरक्षा संयन्त्रलाई सतर्क गराइएको छ ।

यसैगरी, चीनबाट ल्याइएका मेडिकल सामग्री कोरोनाको उपचारका लागि तोकिएका र अन्य अस्पतालहरुलाई वितरण गर्नेगरी मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिनसक्ने एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment