+
+

‘लकडाउन’मा पनि व्यस्त कालीमाटी तरकारी बजार

कोरोनाको त्रासभन्दा रोजीरोटीको चिन्ता

रोयल आचार्य रोयल आचार्य
२०७६ चैत १६ गते १५:००

१६ चैत, काठमाडौं । लकडाउनका कारण सिंगो देश ठप्प छ । सडकहरु सुनसान छन् । अत्यावश्यक काममा बाहेक सडकमा निस्कियो भने प्रहरीले सडकमै दुई घण्टा उभ्याउन थालेको छ । त्यसैले मानिसहरु पनि घरभित्रै बसेका छन् ।

तर, कालीमाटी तरकारी बजारको अवस्था भिन्न छ । मध्यरातमै जाग्छ, र उज्यालो हुँदासम्म चहलपहल रहन्छ ।

आइतबार बिहान झिसमिसेमै त्यहाँ पुग्दा तरकारी–फलफूल खरिद गर्नेहरुको भीड थियो । एकअर्काबीच एक मिटरको दुरी कायम गर्नसक्ने अवस्था थिएन ।

थोक बजार भएकाले उहाँ किन्न आउनेहरु सबै व्यापारी नै हुन् । संकटका बेला उपभोक्ताको भान्सासम्म तरकारी तथा फलफूलको आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी छ । साथै, रोजीरोटीको चिन्ता पनि । त्यसैले जोखिम मोलेर काम गरिरहेका छन् ।

‘तरकारी किन्न आएको, अलिकति ढिला आएको भए नपाइने रहेछ’ एक महिलाले भनिन्् ।

यो बजार राति २ बजेदेखि नै खुल्छ । बिहान ३/४ बजेबाट तरकारी किन्न खुद्रा व्यापारीहरु पुग्छन् । प्रहरीले ६ बजेपछि तरकारी बजारमा प्रवेश गर्न दिँदैन भने ७ बज्दानबज्दै बन्द हुन्छ ।

‘यो त अति नै भइसक्यो, सरकारले मतलब नै गरेको छैन,’ तरकारी व्यापारी कमल अर्याल भन्छन्, ‘तरकारी किन्न मान्छे आउन पाएका हुँदैनन्, बन्द भइहाल्छ ।’

चाँडै बजार बन्द हुँदा आफ्नो तरकारी नबिकेको व्यापारीहरुको गुनासो रहेछ । उनीहरुकाअनुसार बजार विकास समितिले बिहान ७ बजेसम्म तरकारी बिक्री वितरण गर्न पाउने निर्णय गरेको छ । तर, प्रहरीले ६ पनि बज्न नपाउदै प्रवेश रोक्छ ।

‘अत्यावश्यक चिज त खरिद बिक्री गर्न त पाउनुपर्‍यो नि,’ कमल भन्छन्, ‘सरकारले एउटा निश्चित नियम बनाओस्, हामी पालना गर्छौं । दुईखाले कुरा हुनुभएन ।’

संकटमा अभाव सिर्जना भएको देखाएर भारतबाट तरकारी भित्र्याउने हो कि भन्ने चिन्ता पनि व्यापारीहरुमा छ । व्यापारी नवराज सुवेदीले कुहिएका तरकारी छान्दै भने, ‘भारतबाट तरकारी भित्र्याउने कुरा सुनिरहेको छु, त्यो ठिक हुँदैन । त्यसो भयो भने हाम्रो तरकारी सबै सडकमा फाल्नुपर्ने अवस्था आउनसक्छ ।’

‘हेर्नुस् काउली कुहिसक्यो । अलिकति कुहिन लागेको त बिक्री हुँदैन, यस्तो कसले लैजान्छ ?’ उनले भने, बजार खोल्ने समयबारे सरकारले सोच्नुपर्‍यो ।’

कालीमाटीका व्यवसायीहरुका अनुसार त्यहाँ तरकारीको मूल्य बढेको छैन, खुद्रा व्यापारीले बढाएका छन् । सुवेदी भन्छन्, ‘यहाँ त भाउ बढेकै छैन । च्याऊ यहाँ ५० रुपैयाँमा बेच्छौं, बाहिर व्यापारीले एक सयभन्दा कममा दिँदैनन् । काउली लगायतका तरकारीको पनि भाऊ स्थिर नै छ । यहाँ बढेको छैन ।’

अर्का तरकारी व्यापारी लक्ष्मी साह भने थोरै समय बजार खोल्नुभन्दा बन्द नै गराए हुन्थ्यो भन्छिन् । थोरै समयका लागि बजार खोल्दा बिक्री नभएर तरकारी बिग्रने गरेको भन्दै उनले भनिन्, ‘अलिकति बिग्रियो भने खुद्रा व्यापारीले लाग्दैनन् । थोरै भाउ बढायो भने बिचौलिया भन्छन् । बरु पूरै बन्द गरिदिए हाइसन्चो ।’

तरकारी किन्न आउने खुद्रा व्यापारीहरुको भने ढुवानी समस्याबाहेक अन्य गुनासो छैन । ‘म त बाइकमा आएँ, अरुलाई गाडी नपाएर तरकारी लैजान समस्या भएको होला,’ कलंकीका व्यापारी सन्तोष कार्कीले अनलाइनखबरसँग भने ।

बजारभित्र हुने भीडभाडले संक्रमण सर्ला कि भन्ने चिन्ता भने व्यापारीहरुमा कमै देखियो । उनीहरुले संक्रमणभन्दा पनि अन्य विषयकै गुनासा सुनाए । ‘कोरोना संक्रमण सर्ने डर लाग्दैन त ?’ भन्ने प्रश्नमा सबैको रेडिमेड उत्तर छ, ‘डराएर के गर्नु ? व्यापार नगरे दुई छाक खान पाइँदैन ।’

तस्बिर र भिडियो : शंकर गिरी/चन्द्रबहादुर आले

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?